विराटनगर । तीज पर्वको अवसरमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) विराटनगर ४ समितिले बुधबार विशेष कार्यक्रम आयोजना गरेको छ ।विराटनगर ४ खार्जीस्थित नेकपा माओवादी केन्द्रको वडा पार्टी कार्यालयमा वडाका महिलाहरुको उल्लेख्य उपस्थितिमा सांस्कृतिक कार्यक्रम आयोजना गरी तीज मनाएको हो ।
महिलाहरुले तीजलाई स्वतन्त्रताको पर्वको रुपमा लिने गरेका छन् । तीज पर्वलाई महिलामाथि हुने शोषण र दमनविरुद्ध महिला अधिकार र स्वतन्त्रता उपभोगको संस्कृतिको रुपमा विकसित गर्न, महिलाहरुलाई सचेत र बराबरीको हक स्थापित गर्ने अवसरको रुपमा लिनुपर्ने सन्देश उक्त कार्यक्रमबाट प्रवाह गरिएको थियो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री जीवन आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । तीज मनाउन उपस्थित महिलाहरुलाई सम्बोधन गर्दै पूर्वमन्त्री आचार्यले तीज पर्वले सबैलाई एकताको सूत्रमा बाँध्ने र समाज रुपान्तरणमा महिलाहरुको भूमिकालाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी विराटनगर महानगर समितिकी संयोजक बबिता गुरागार्इँले महिला सशक्तीकरण र समानताको पक्षमा तीजलाई अगाडि बढाउनु पर्ने बताइन् । उनले विगतमा तीज पर्व महिलाहरुले दुःख साट्ने दिनको रुपमा मनाइने गरिएको भएपनि अब तीजलाई आफ्नो अधिकार खोज्ने र महिला पुरुष समान हुन् भन्दै समाजमा समान योगदान गर्न सक्ने क्षमता छ भनेर प्रदर्शन गर्ने अवसरको रुपमा लिनुपर्ने बताइन् ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र विराटनगर महानगरपालिकाका अध्यक्ष दिनेश राजवंशीले महिला अधिकारको पक्षमा पार्टीले विगतदेखि नै काम गरिरहेको र माओवादी आन्दोलनकै कारण संविधानमा महिलाहरुको बढीभन्दा बढी अधिकार सुनिश्चित भएको बताए ।
नेकपा माओवादी केन्द्र विराटनगर ४ कमिटीले पछिल्लो समयमा सांगठनिक क्रियाकलापहरुलाई सक्रिय बनाउँदै लगेको छ । महानगरमै यस वर्ष पहिलो पटक अनेमसंघ क्रान्तिकारीले तीजको अवसरमा महिलाहरुलाई सहभागी गराएर भब्य कार्यक्रम आयोजना गरेको र त्यसका लागि वडा कमिटीले विशेष सक्रियता जनाएको अध्यक्ष नवराज विष्टले जानकारी दिए । त्यसबाहेक वडाको विकास निर्माणको अगुवाइ गर्ने, अनियमितता र बेथितिविरुद्ध आवाज उठाउने तथा पार्टीको विस्तारका लागि निरन्तर संगठन परिचालन गर्ने काम गर्दा वडामा पार्टीको विकास दु्रतत्तर गतिमा बढिरहेको उनले बताए ।
कार्यक्रममा २०० भन्दा बढी महिलाहरु उपस्थित थिए भने नाचगान तथा विभन्न खेलकुद कार्यक्रम गरी तीजको अवसरमा मनोरञ्जन गरेका थिए ।कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेशसभा संसदीय दलकी प्रमुख सचेतक गिता तिम्सिना, केन्द्रीय सदस्य विनिता घिमिरे सामनालगायतका नेताहरुको पनि उपस्थिति थियो । अनेमसंघ क्रान्तिकारी वडा कमिटीका अध्यक्ष किरण चौधरीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रम सचिव मञ्जु घिमिरे बरालले सञ्चालन गरेकी थिइन् भने महिला नेतृ इन्द्रा राईले स्वागत गरेकी थिइन् ।

