लोड हुँदैछ...

मेनु

हुलाकी सडकको काममा ढिलाई गर्ने ठेकेदारसँग स्पष्टीकरण मागियो

हुलाकी सडकको काममा ढिलाई गर्ने ठेकेदारसँग स्पष्टीकरण मागियो

विराटनगर । हुलाकी सडकको विभिन्न खण्डको काम सम्झौता अनुसार नगरेको भन्दै सडक विभाग अन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, इटहरीले तीन ठेकेदार ककम्पनीलाई स्पष्टीकरण सोधेको छ ।

मोरङ कटहरी–रामचोक–हाटखोलासम्म ६ किलोमिटर खण्डसहित सुनसरीको इनरुवा–कप्नानगञ्ज खण्डको २२ किलोमिटर र सप्तरीको बारदह बलान खण्डको २० किलोमिटर सडकको काम ढिलाइ भएको भन्दै स्पष्टीकरण सोधिएको हो ।

कार्यालयले बुधबार सार्वजनिकक सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन बमोजिम ठेक्का सम्झौता किन रद्ध नगर्ने भन्दै स्पष्टिकरण सोधेको छ । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयसँग भएको सम्झौता सम्झौता अनुसारको कार्यसम्पादनको प्रगति न्यून देखिएको भन्दै १५ दिने स्पष्टीकरण सोधिएको हो ।

हुलाकी राजमार्गको कटहरी खण्ड जिम्मा लिएको श्रेष्ठ कन्ट्रक्सन प्रा.लि., हेटौंडा, सुनसरी खण्डको ठेक्का लिएको गौरी पार्वती–देव र श्यार भुमी, जेभी विराटनगर तथा सप्तरी खण्डको जिम्मा लिएको शर्मा–बञ्जरा–लोहनी र ब्रदर्श जेभी ललितपुरलाई स्पष्टिकरण सोधिएको योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले जानकारी दिए ।

मोरङको कटहरी खण्डको काम अलपत्र पारेको भन्दै प्रदेशसभा देखि संघीय संसदमा आवाज उठ्दै आएको छ । सडकको काम तत्काल सुचारु नभए सङ्घीय संसदमै अनसन बस्ने चेतावनी सांसद अमनलाल मोदीले मङ्गलबार संसद बैठकमै दिएका थिए । यस्तै प्रदेशसभा सदस्य भीम पराजुलीले केहि दिन अगाडि प्रदेशसभाबाट यस्तै चेतावनी दिएका थिए । मोदीले संघीय संसदमा दिएको चेतावनीपछि उनकै पहलमा मंगलबार काठमाडौँमा बसेको बैठकले तत्काल सडकको काम सुचारु गर्ने सहमति गरेको छ ।

सडक विभागका महानिर्देशकको कार्यकक्षमा बसेको बैठकमा ठेकेदार पक्षले सडकको काम तत्काल सुचारु गर्न सहमति जनाएको हो । सांसद मोदी र अर्का सांसद योगेन्द्र मण्डलसमेतको उपस्थिति रहेको बैठकमा ठेकेदार कम्पनीले ४ दिनभित्र काम सुरु गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।

सहमति अनुसार काम नभए १५ दिनभित्र ठेक्का तोडिने शर्तनामालाई ठेकेदार पक्षले स्वीकार गरेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले जानकारी दिए । सहमति अनुसार तत्काल २ वटा रोलर, २ वटा ग्रेडर, ७ देखी १० वटा टिपरसहित ठेकेदार पक्षले कामदार खटाउनेछ । १५ दिनभित्रमा बीचको बाटो सहज रुपमा २ तर्फी गाडी संचालन हुने गरि निर्माण कार्य गर्ने सहमति छ ।

सहमति अनुसार १५ दिनभित्रमा उल्लेखित कार्य सम्पन्न नभएमा ठेक्का सम्झौता अन्त्य गर्ने र सम्झौता नविकरण नहुने मोदीले बताए । मंगलबार भएको सम्झौता कार्यान्वयनकै लागि कार्यालयले ठेकेदार पक्षलाई स्पष्टीकरणसमेत सोधेको हो ।

सहमतिमा सांसद मोदी र मण्डलसहित सडक विभागका महानिर्देशक डा.विजय जैसी, हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक कुवेर नेपाली, हुलाकी राजमार्ग योजनाकारले इटहरीका योजना प्रमुख युवराज पोखरेल, ठेकेदार पक्ष श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीका प्रतिनिधि सुभाष श्रेष्ठ, दिनेश कार्की र रामशरण खड्काले हस्ताक्षर गरेका छन् । सहमति र कार्यालयको बुधबारको सूचना अनुसार सडकको काम सुचारु हुने आशा पलाएको सांसद मोदीले बताएका छन् । ठेकेदार पक्षले काम सुचारु नगरे अब ठेका रद्द हुने उनको भनाइ छ ।

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा ४४ किलोमिटर पर्छ । त्यसमध्ये कटहरीको रामचोकदेखि हाटखोलासम्म ६ किलोमिटर काम ६ वर्षदेखि सुस्त गतिमा छ । निर्माण सुरु भएको ६ वर्षसम्म यो सडकको जम्मा आर्थिक तथा भौतिक प्रगति २३ प्रतिशत छ । सकक हिल्लाम्मे भएर हिँडडुलमै समस्या भएको भन्दै विरोधस्वरुप केहि दिन अगाडि स्थानीयले सडकमै धान रोपेका थिए ।

२०७६ सालमा श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्रालि हेटौडाले ७७ करोडमा निर्माणको ठेक्का लिएको सडकको गरिएको म्याद गत जेठ ३० गते सकिएको छ । निर्माण कम्पनीले पुन २ वर्षको समय माग गर्दै निवेदन दिएको छ । सडक आयोजनाले भने १ वर्ष समय थपका लागि लेखेर पठाएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले बताए । तर, सम्झौता नविकरण भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।