लोड हुँदैछ...

मेनु

खाद्य प्रविधिको ल्याब रिपोर्ट : क्वालिटीको तेल र चाउचाउ न्यून गुणस्तर

खाद्य प्रविधिको ल्याब रिपोर्ट : क्वालिटीको तेल र चाउचाउ न्यून गुणस्तर

विराटनगर । मोरङको कटहरी गउँपालिका ४ मा रहेको क्वालिटी आइल प्रालिको उत्पादन ‘सूर्यमुखी’ तेल र क्वालिटी थाई फूड्सको चाउचाउ न्यून गुणस्तरको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गरेको ल्याब परीक्षणमा सूर्यमुखी तेल र चाउचाउ न्यून गुणस्तरको भेटिएपछि उद्योग विरुद्ध मुद्दा दर्ता भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले असार ५ गते सूर्यमुखी तेलको नमूना संकलन गरेर ल्याब परीक्षण गर्दा न्यून गुणस्तरको भेटिएपछि जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दयार गरिएको कार्यालय प्रमुख पप्पुलाल राईले जानकारी दिए । ‘उद्योगले उत्पादन गरेर बजार पठाएको सूर्यमुखी तेल र चाउचाउको ल्याब परीक्षण गर्दा न्यून गुणस्तरको भेटिएपछि हामीले जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दर्ता गरेको छ । यो मुद्दा अहिले प्रशासनमा बिचाराधीन रहेको छ,’ उनले भने ।

आर्थिक वर्ष २०८१÷०८२ मा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले एक वर्षमा न्यून गुणस्तरको उत्पादन गर्ने १० वटा उद्योगविरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ । न्यून गुणस्तरको वस्तु उत्पादन गरेर बजार पठाउने गरेको मोरङको बुढीगंगा २ मा रहेको दुगड स्पाइसेज एण्ड फुड प्रोडक्टस प्रालिको चिया, विराटनगर १४ मा रहेको सूर्योदय मिल्क एण्ड वेभरेज इण्डष्ट्रिज प्रालिको एसएमपी, विराटनगर १ मा रहेको गङ्गा पेय जल उद्योगको पिउने पानी न्यून गुणस्तरको भेटिएपछि मुद्दा दायर गरेको हो । त्यसैगरी विराटनगर २ मा रहेको खेतान चिया उद्योग, बुढीगंगा ४ मा रहेको गोमती फुड्स प्रालि, विराटनगर ११ मा रहेको निधि फुड उद्योग र लेटाङ ९ मा रहेको मकालु एक्वा इण्ड.विरुद्ध मुद्दा दर्ता गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले एक वर्षमा २४३ उद्योगको सिफारिस गरेको छ भने अनुमति पत्र १६६ वटा उद्योगको गरेको छ । पाँच सय उद्योगको अनुमित पत्र नविकरण गरेको छ ।

खाद्यसँग सम्बन्धित वस्तु गुणस्तरहीन भएको पुष्टि भएपछि अदालत र लेबलसँग सम्बन्धित वस्तुको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जिल्ला प्रशासन कार्यालयमा माग दाबी लिएर अभियोग पत्र दायर गर्ने गरिएको छ ।

सुनसरी–मोरङ औद्योगिक करिडोरअन्तर्गत सुनसरीको सोनापुरमा रहेको एशियन थाई फुड्स प्रा.लि.का उत्पादनमा पनि तीन वर्ष अगाडि न्यून गुणस्तर कैफियत भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जिल्ला प्रशासनमा दर्ता गरेको थियो । त्यसबेला एशियन थाई फुड्सको चाउचाउमा खाद्य गुणस्तर मापदण्ड विपरीत जलांश (पानीको मात्रा) र एसिड भ्याल्यु बढी पाइएपछि मुद्दा दर्ता गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।