विराटनगर । कोक, फेन्टा, स्प्राइटजस्ता बहुराष्ट्रिय कम्पनीका पेयपदार्थ बजारमा छ्यापछ्याप्ती छन् । तराईको प्रचण्ड गर्मीमा यी पेयपदार्थको बिक्री बढ्ने गर्छ । तर, बजारमा एउटा रैथाने स्वादले चुपचाप ती पेय पदार्थमाथि चुनौती पेश गर्न थालेको छ ।
झापाको गौरादहबाट सुरु भएको ‘बेला’ ब्रान्डको प्याकेजिङ मोहीले पूर्वी नेपालको बजारमा उपभोक्ताको ध्यान तान्न थालेको छ । अस्वस्थकर मानिने पेयपदार्थलाई विस्थापित गर्दै, स्वदेशी, स्वस्थ र प्राकृतिक स्वाद पस्क्ने उद्देश्यसहित ‘बेला मोही’ले शीतलता दिइरहेको छ ।
इस्टर्न बेभरेज प्रालिमार्फत रामचन्द्र र चिरञ्जीवी प्रसाईं दाजुभाईले ‘मोही’लाई ब्रान्डिङ गरिरहेका छन् । आफ्नै गाउँठाउँका किसानले उत्पादन गरेको दूध खेर नजाओस् र स्थानीय स्तरमै रोजगारी सिर्जना होस् भन्ने उद्देश्यले उनीहरूले गौरादह–७ मा यो डेरी उद्योग स्थापना गरेका हुन् । यसअघि ‘बेला’ ब्रान्डमै मिनरल वाटर उत्पादन गरी बजारमा स्थापित भइसकेका उनीहरुले डेरी उत्पादनमार्फत उपभोक्ताको मन जित्ने लक्ष्य राखेका छन् ।
‘अहिले बजारमा कोक, फेन्टा जस्ता पेयपदार्थ छ्यापछ्याप्ती छन् । यस्तो बेला हामीले एउटा स्वस्थ विकल्प दिन खोजेका हौं,’ कम्पनीका बजार व्यवस्थापक भवानीशंकर सिवाकोटीले भने, ‘मानिसहरू केमिकल मिश्रित पेयपदार्थको विकल्प खोजिरहेकोले हाम्रो शुद्ध र प्राकृतिक मोही त्यसको विकल्प बनेको छ ।’ मोहीमा कुनै मिसावट नरहेको र बजारमा सहजै स्थापित हुने विश्वास रहेको उनले बताए ।
कम्पनीका अनुसार मोहीले छोटो समयमै बजारबाट सकारात्मक प्रतिक्रिया पाएको छ । हाल कम्पनीले दैनिक ४ हजार बोत्तल (अर्थात् २ हजार लिटर) मोही उत्पादन गरेर बजारमा पठाइरहेको छ । उपभोक्ताको स्वादलाई ध्यानमा राख्दै सादा (नर्मल) र गुलियो गरी दुई प्रकारका मोही बजारमा उपलब्ध छन् । गुलियो मोही विशेषगरी कोक–फेन्टा सेवनमा अभ्यस्त युवा पुस्तालाई लक्षित गरेर उत्पादन गरिएको कम्पनीको भनाइ छ ।
पूर्वी नेपालका प्रमुख बजार धरान, इटहरी, विराटनगरदेखि दमक, बिर्तामोडसम्म ‘बेला मोही’को पहुँच विस्तार भइसकेको छ । कम्पनीका अनुसार धरान यसको सबैभन्दा ठूलो बजार हो, जहाँ दैनिक ८०० देखि ९०० बोतलसम्म खपत हुन्छ । पूर्वका सबै भाटभटेनी सुपरमार्केटहरूमा समेत यसको उपस्थिति छ । ब्रान्डको विश्वसनीयता बढेका कारणले मागअनुसार आपूर्ति गर्न नसकिएको सिवाकोटीले बताए ।
कम्पनीले बोतलको मूल्य ३० रुपैयाँ तोकेको छ भने खुद्रा विक्रेताले उपभोक्तालाई ३५ रुपैयाँमा बिक्री गर्छन् । यो मूल्य अन्य पेयपदार्थको तुलनामा प्रतिस्पर्धी छ ।
सिवाकोटी आफैं बजार घुमेर उपभोक्ता र विक्रेताको प्रतिक्रिया लिइरहेका छन् । उनी भन्छन्, ‘हामीले स्थानीय बजारमा घुम्दा परम्परागत तरिकाले गिलासमा मोही बेच्ने गरेको पायौं । उहाँहरूले हाम्रो प्याकेजिङ उत्पादन आएपछि बनाउने झन्झट र गिलास सफा गर्ने दुःखबाट मुक्ति मिल्ने भन्दै खुशी व्यक्त गर्नुभएको छ ।’
इस्टर्न बेभरेज मोहीमा मात्र सीमित छैन । यो पूर्ण डेरी उद्योग हो, जसले ‘बेला’ ब्रान्डमा स्ट्यान्डर्ड र लो–फ्याट दूध, विभिन्न साइजका कप र जारमा दही, घिउ, पनिर, बटर, खुवा र आइसक्रिमसमेत उत्पादन गर्छ । विशेषगरी तराईका समुदायमा विवाह, भोजभतेर तथा मरुमरुमा दहीको अत्यधिक माग हुने भएकाले ५ किलोदेखि २५ किलोसम्मका जार–दही निकै लोकप्रिय छन् । ‘तराईको संस्कृतिमा दहीको ठूलो महत्त्व छ । एउटै कार्यक्रममा डेढ–दुई सय किलोसम्म दही खपत हुन्छ,’ सिवाकोटीले भने ।
कम्पनीले छिट्टै विभिन्न स्वादमा ‘लस्सी’ पनि बजारमा ल्याउने तयारी गरेको छ । मोही र लस्सीको बजारलाई थप आक्रामक बनाउन छुट्टै कम्पनीकै गाडीमार्फत वितरण गर्ने योजना छ । उद्योगमा अहिले ८० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
दुई वर्षअघि स्थापना भएको यो कम्पनीले छोटो समयमै बजारमा तरंग ल्याएको छ । स्वास्थ्यलाई असर गर्ने पेयपदार्थका सट्टा स्वस्थकर रहन सहयोग गर्ने मोहीको ब्रान्डिङ आफैंमा प्रेरणादायी छ । ‘बेला मोही’को हरेक बोत्तलले उपभोक्तालाई स्वाद मात्र होइन, एउटा स्वस्थ विकल्प र राष्ट्रिय उत्पादनप्रतिको गर्व पनि प्रदान गरिरहेको छ ।