विराटनगर । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले व्यावसायिक पत्रकारितामाथि गम्भीर आरोप लगाएपछि यहाँका पत्रकारहरू आन्दोलित भएका छन् । नेपाल पत्रकार महासंघ, सुनसरी शाखाको अगुवाइमा शनिबार इटहरीको संगित चोकमा ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको पक्षमा ऐक्यबद्धता सभा’ आयोजना गरी पत्रकारहरूले मेयरका अभिव्यक्ति र पत्रकारितामाथिको शृंखलाबद्ध आक्रमणको विरोध गरेका हुन् ।

मेयर पौडेलले गत असार २० गते सामाजिक सञ्जाल फेसबुकमा ‘भोलि कुन विषयमा समाचार आउँछ अघिल्लो दिन हामीलाई थाहा हुन्छ, पहिला हाम्रो सचिवालयमा पठाउँछन्, केही झर्दैन दानापानी अनि लाजले प्रकाशन, प्रसारण गर्छन्, विचित्रको पत्रकारिता छ इटहरीमा,’ भनी लेखेका थिए । यसछि भने पत्रकारहरू आक्रोशित बनेका हुन् ।

नेपाल पत्रकार महासंघ, सुनसरीका सचिव विनय बाराकोटीले इटहरीबाट सुरु भएको व्यावसायिक पत्रकारितामाथिको आक्रमण देशव्यापी बन्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘यो लोकतान्त्रिक प्रणालीमाथिको धमिरा प्रवृत्ति हो । यसका विरुद्ध हामी समाचार कक्षबाट सडकमा आउन बाध्य भएका हौँ ।’

सचिव बाराकोटीले इटहरीमा पत्रकारितामाथि निरन्तर प्रहार भइरहेको बताए । उनले भने, ‘पहिले नाकको डाँडीको मूल्य तोक्नेदेखि भौतिक आक्रमण गर्नेसम्मका निच घटना इटहरीमा भए । त्यसैको आडमा १२ भाइ पत्रकार भनेर अमुर्त आरोप खेप्नुपर्‍यो ।ू पछिल्लो समय धरान र इटहरी पत्रकारितामाथि भ्रम छर्ने थलो बनेको उनको आरोप थियो । उनले यो लडाइँलाई सदन र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने तर हार नमान्ने उद्घोष गरे ।

इटहरीमा पत्रकार र स्थानीय सरकार प्रमुखबीचको टकराव यो पहिलो पटक होइन । यसअघिका मेयर द्वारीकलाल चौधरीले पनि पत्रकारको ‘नाकको डाँडी भाँच्नेू धम्की दिएर विवादमा आएका थिए ।’२े चौधरीले पत्रकारमाथि भौतिक आक्रमणको प्रयाससमेत गरेका थिए, जसले गर्दा लामो समयसम्म तनावको स्थिति बनेको थियो । अहिलेका मेयर पौडेलले समग्र पत्रकारिताको निष्ठामाथि नै प्रश्न उठाएको पत्रकारहरूको भनाइ छ ।

आयोजित ऐक्यबद्धता सभामा इटहरी र आसपासका पत्रकार तथा नागरिक समाजका अगुवाहरूको सहभागिता थियो । उनीहरूले प्रेस स्वतन्त्रताको रक्षा र व्यावसायिक पत्रकारिताको सम्मानका लागि एक हुन आह्वान गरेका थिए । कार्यक्रममा सहभागीहरूले पत्रकारितालाई कमजोर पार्ने कुनै पनि किसिमका दबाब र आरोप अस्वीकार्य हुने बताएका छन् ।