लोड हुँदैछ...

मेनु

इप्रका रानीमा प्रहरीको ज्यादती, काम गर्ने श्रमिकमाथि निर्घात कुटपिट

इप्रका रानीमा प्रहरीको ज्यादती, काम गर्ने श्रमिकमाथि निर्घात कुटपिट

विराटनगर । मोरङको इलाका प्रहरी कार्यालय (इप्रका) रानी परिसरभित्रै तीन जना श्रमिकमाथि प्रहरीद्वारा पाइप र बुटले निर्घात कुटपिट गरिएको गम्भीर आरोप लागेको छ ।

कुटपिटको शिकार बनेका पीडितहरू हाल विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत छन् । बुढीगंगा गाउँपालिका–४ पोडियाका ३९ वर्षीय नासिर मिया, ३० वर्षीय कासी शर्मा र ३४ वर्षीय रमान मिया इलाका प्रहरी कार्यालय रानीमै सादा पोशाकका एक प्रहरीद्वारा कुटपिटमा परेको पीडित पक्षको दाबी छ । उनीहरू विद्युत कम्पनी ‘जनसेद मिया मल्टीप्रपोज प्रालि’ मा कार्यरत छन्, जसले मोरङ र सुनसरी क्षेत्रमा ट्रान्सफर्मर जडान तथा मर्मतको काम गर्दै आएको छ ।

कम्पनीका सञ्चालक जनसेद मियाका अनुसार पछिल्ला दिनमा ट्रान्सफर्मर चोरीको बढ्दो घटनासँगै सोधपुछका लागि प्रहरीले आफूसहित १० जनालाई इलाका प्रहरी कार्यालय रानीमा बोलाएको थियो । ‘हामीलाई ९८०५३९४९७ नम्बरबाट “दावा“ नाम गरेका व्यक्तिले फोन गरेका थिए,’ सञ्चालक मियाले भने, ‘जिल्ला प्रहरी कार्यालयमा बोलाएको भनिए पनि पछि इलाका कार्यालय रानीमा आउन भनियो ।’

उनको भनाइ अनुसार, प्रहरी कार्यालय पुगेपछि तीनै श्रमिकलाई छुट्टाछुट्टै कोठामा लगेर ‘ट्रान्सफर्मर चोरी कसले ग¥यो ?’ भन्दै कुटपिट सुरु गरिएको थियो । ‘पहिला कासी शर्मालाई लगेर पाइपले कुटपिट गरे, त्यसपछि नासिरलाई बुट र थप्पडले प्रहार गर्दा कानको जाली फोडियो, टाउको र काँधमा गम्भीर चोट लागेको छ । रमान मियालाई पनि त्यहाँ कुटपिट गरिएको छ,’ जनसेद मियाले बताए ।

कुटपिटपछिको अवस्था झनै भयावह भएको उनी बताउँछन् । ‘प्रहरीले धम्क्याउँदै भने, यो कुरा बाहिर भनिस भने लागूऔषध राखेर मुद्दा हालिदिन्छौं । त्यसपछि हामी चुप लागेर घर गयौं । तर नासिरको अवस्था जटिल भएपछि तत्काल दुहबीमा प्रारम्भिक उपचार गरेर विराटनगरको कोशी अस्पताल ल्यायौं । अहिले उनी बोल्न थालेका छन्, तर टाउकोमा चोट लागेकाले सिटी स्क्यान गरिएको छ, रिपोर्ट आउन बाँकी छ ।’

घटनामा सबैभन्दा गम्भीर घाइते नासिर मियाको कानको जाली फुटिएको र टाउकोमा भित्री चोट लागेको उपचारमा संलग्न चिकित्सकले प्रारम्भिक जानकारी दिएका छन् । कासी शर्मा र रमान मिया पनि सामान्य घाइते छन् ।

उता इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कविन राईले भने उक्त घटनाबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन् । ‘दावा भन्ने नामको प्रहरी हामीकहाँ छैन । उहाँहरू हाम्रो कार्यालयमा आएको पनि छैनन्,’ उनले भने, ‘कुटपिट भएको घटनाबारे जिल्ला प्रहरीबाट जानकारी पाएको छु, अब म आफैं अनुसन्धान गर्छु ।’

श्रमिकलाई कुटपिट गरेको आरोप प्रहरीको प्रहरी हवल्दार दावा शेर्पा रहेको बुझिएको छ । उनी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर ‘रिट’ मा कार्यरत रहेका छन् ।

तर, घटनास्थल र आरोपबीचको साम्यता हेर्दा प्रहरी प्रशासनको संलग्नता रहस्यमय ढंगले देखा परेको छ । प्रहरी कार्यालय परिसरभित्रै सादा पोशाकमा आएका एक व्यक्तिले नागरिकलाई पिटेको र त्यसपछि धम्की दिएर घर पठाएको तथ्य निकै गम्भीर र चिन्ताजनक देखिएको छ ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Salim
July 18, 2025 5:03 PM

Jun police le gareko ho tew police Lai barkhast garnu parxa ra Jel ma 6 mahina ko sajayej dinu paryo yadi sarkar le karbahi garena vane budhignagga 3,4,5 ra 6 ko jati Janta Cha sabai ekta dekhayera sadak ma utrinu parxa

प्रतिक्रियाहरू बन्द छन्।