विराटनगर । कोशी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले प्रदेशका पर्यटन मन्त्री सदानन्द मण्डलमाथि गम्भीर आरोप लगाउँदै उनको राजीनामा माग गरेको छ।
आज बसेको प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद राजन किरातीले मन्त्री मण्डलको सचिवालयमार्फत ‘QR आतंक’ मच्चाएर रकम असुली भइरहेको र रकम नदिने कर्मचारीलाई सरुवाको धम्की दिइएको आरोप लगाएका हुन्।
सांसद किरातीले मन्त्रीको सचिवालयमा रहेका अमृत मेहता नामका व्यक्ति ‘अनाधिकृत सचिव’ भएको र उनकै नाममा रहेको QR कोडबाट रकम संकलन भइरहेको सार्वजनिक भएको बताए । “कोशीका पर्यटन मन्त्रीज्यूको QR आतंक, रकम नबुझाउनेलाई सरुवा गर्न खोजेको भन्ने शीर्षकमा समाचारहरू आइरहेका छन्,” किरातीले भने, “यसले बजेट निर्माणमा बिचौलियाको संलग्नता रहेको हाम्रो पुरानो आशंकालाई पुष्टि गरेको छ।”
उनले यो विषय अत्यन्त गम्भीर भएको भन्दै सरकारले तत्काल छानबिन गरी सत्यतथ्य सदनलाई जानकारी गराउन सभामुखमार्फत माग गरे। यस्तो गम्भीर आरोप उठ्दा समेत मन्त्री मौन रहेको भन्दै उनले नैतिक प्रश्न उठाए। “यस्तो गम्भीर विषय उठिसकेपछि मन्त्रीज्यू आज सदनमा देखिनुभएको छैन। नैतिकताको आधारमा उहाँले राजीनामा दिनु राम्रो हुन्छ, हामी सुझाव दिन चाहन्छौँ,” उनले भने।
प्रमुख प्रतिपक्षी दलको तर्फबाट यो गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गराउँदै उनले आम जनता र सदनलाई स्पष्ट जानकारी दिन माग गरे । यस प्रकरणले कोशी प्रदेश सरकारमाथि जवाफदेहिताको प्रश्न उठेको उनको भनाई छ ।
को सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री मण्डलले कर्मचारीसँग रकम मागेको र रकम नदिने कर्मचारीको सरुवा गर्न खोजेको समाचार हाम्रोमतले सार्वजनिक गरेको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।