विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ मा मृत फेला परेकी नाबालिकाको उनकै काकाले बलात्कारपछि हत्या गरेको खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बलात्कार गरेर भतिजीलाई मारेपछि घटना लुकाउन शव फालिदिएको खुलेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानबाट बलात्कारपछि बालिकाको हत्या गरिएको घटनामा काका संलग्न रहेको खुलेको हो । हत्या गरेर फालेको अवस्थामा अक्षय सरदारकी छोरी ७ वर्षीया आत्तिका सरदारको शव शनिबार बिहान फेला परेको थियो ।

घरबाट करिब सय मिटर पर रहेको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा उनको शव भेटिएको हो । अनुहार,घाँटीलगायत शरीरका विभिन्न भागमा चोटपटक रहेको अवस्थामा शव भेटियो थियो । अनुसन्धानका क्रममा प्रहरीले बालिकाका कान्छा काका अनिष सरदारलाई नियन्त्रणमा लिएको थियो ।

प्रारम्भिक सोधपुछका क्रममा उनले घटना स्वीकार नगरेकोमा अघिल्लो साँझ मदिरा सेवन गरेको स्वीकारेका छन् । प्रमाण संकलन गर्दै थप अनुसन्धान अघि बढाएको प्रहरी नाबालिकाको हत्यामा काका अनिष नै संलग्न रहेको निष्कर्षमा पुगेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी हिरासतमा रहेका अनिष अहिले मानसिक रूपमा विक्षिप्तजस्तै रहेको बताइएको छ । प्रहरीलाई कहिले घटना आफैंले गराएको हो भन्छन् भने कहिले होइन भन्ने गरेको प्रहरी स्रोतले जनाएको छ ।

घटनाको समयमा काकासँगै रहेकी नाबालिकाको हत्या भएको पाइएपछि हत्यामा उनको संलग्नता यकिन भएको स्रोतको भनाइ छ । आफूसँगै सुतेकी भतिजीलाई घर बाहिर निकालेर बलात्कार गरेपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले त्यसको औपचारिक जानकारी भने दिएको छैन ।

शवको प्रकृति हेर्दा मुख थुनेर वा घाँटी बटारेर हत्या गरेजस्तो देखिएको छ । भतिजीको शव फालेर आएपछि अनिष घरमै बसेका थिए भने उनले नै भतिजि हराएको हल्ला गरेका थिए । सन्तानलाई हजुरआमाको जिम्मा लगाएर आमाबुवा बाहिर गएका बेला घटना भएको हो ।

घटना भएको दिन अनिषले भतिजी र भतिज (आत्तिकाका भाई) लाई लिएर सुतेका थिए । अर्को घरमा सुतेकी हजुरआमा बिहान उठेर नातिनातिना सुतेको घरमा पुग्दा नातिनी नदेखेपछि गाउँमा बच्च चोरी भएको हल्ला चलेको थियो । त्यसपछि खोजी गर्ने क्रममा हत्या गरेर फालेको अवस्थामा शव भेटिएको थियो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले नाबालिकाको हत्यासँग सम्बन्धित प्रमाण जुटाउने काम भइरहेको बताएकी छन् । घटनामा काकाकै संलग्नता रहेको आशंका रहेको भन्दै उनले मेडिकल रिपोर्टपछि तथ्य खुल्ने बताए ।

नाबालिकाको शवको पोस्टमार्टम विराटनगरको कोशी अस्पतालमा भएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाका बारेमा प्रष्ट हुने प्रहरीले जनाएको छ ।

अनिषलाई कर्तव्य ज्यान र हाडनाता करणी सम्बन्धी मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । उनका विरुद्ध बालिकाको हजुरबुबाले जाहेरी दिएका छन् ।