विराटनगर । मोरङ जिल्ला अदालत परिसरबाट चेक अनादार मुद्दामा कैद सजाय पाएका एक जना प्रतिवादी प्रहरीको निगरानीबाट फरार भएका छन्।

फरार हुने व्यक्ति विराटनगर–१३ निवासी ४० वर्षीय विजय शंकर झा हुन्। उनलाई अदालतले दुई वर्ष कैद सजाय तोकेको थियो। सो सजाय कार्यान्वयन गर्न प्रहरीले झालाई सुनसरीको दुहवीबाट पक्राउ गरी आइतबार विराटनगर ल्याएको थियो।
झालाई मोरङ जिल्ला अदालतमा बुझाउने क्रममा उनले शौचालय जान्छु भनेका थिए। त्यही बहानामा प्रहरीको नजर छल्दै उनी अदालत परिसरबाट फरार भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन्।

चेक अनादारसम्बन्धी मुद्दामा अदालतबाट सजाय पाएका झा यसअघि पनि फरार रहेको र अदालतको आदेशपछि उनलाई खोजी गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ। तर अदालतमा बुझाउने क्रममा उनी पुनः फरार भएपछि घटनाप्रति प्रहरी प्रशासन चिन्तित बनेको छ।

डिएसपी चुडालका अनुसार झाको खोजी कार्य तीव्र पारिएको छ र उनको सम्भावित बसोबास स्थानमा निगरानी बढाइएको छ। उनले अदालत परिसरजस्तो संवेदनशील क्षेत्रमा यस्तो घटना दोहोरिन नदिन सतर्कता अपनाइने बताइन्। प्रहरीले झालाई चाँडो भन्दा चाँडो पुनः नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाएको छ।