विराटनगर । औद्योगिक करिडोरहरुमा नियमित विद्युत आपूर्ति गर्न उद्योग संगठन मोरङले नेपाल विद्युत प्राधिकरणसँग माग गरेको छ । सुनसरी–मोरङ, विराटनगर–रानी, विराटनगर–कटहरी औद्योगिक करिडोरमा महिले दैनिक ८ देखि १० घण्टासम्म विद्युत आपूर्ति अवरुद्ध भइरहेको भन्दै संगठनले प्राधिकरणको ध्यानाकर्षण गराएको हो ।
संगठनले पूर्व सूचना नगरी विद्युत कटौती गर्दा उद्योग व्यवसायलाई नियमित सञ्चालन गर्न समस्या भएको र दैनिक करोडौं रुपैयाँको आर्थिक नोक्सानी व्यहोर्नु परिरहेकोप्रति संवेदनशील हुन आग्रह पनि गरेको छ ।
हरेक वर्ष सुख्खायाममा विद्युत आपूर्ति कमी भई उद्योग व्यवसायमा अवरोध हुदै आएको भन्दै त्यसबाट हुने नोक्सानीको तथ्यांकसमेत संगठनले प्राधिकरणलाई दिएको जनाएको छ । उद्योग व्यवसायको समस्यालाई गम्भिरतापूर्वक नलिने प्रवृति प्राधिकरणमा देखिएको र त्यसको असर नीजि क्षेत्रले भोग्नु परिरहेको संगठनका अध्यक्ष राकेश सुरानाले बताए ।
प्राधिकरणको नयाँ नेतृत्वबाट विद्युतको नियमित आपूर्ति र गुणस्तर सुधार हुने अपेक्षा गरिएको भए पनि प्राधिकरणले त्यसतर्फ खासै चासो नदेखाई नाफा र नोक्सानीमा केन्द्रित भइरहेको आरोप पनि उद्योगीहरुले लगाएका छन् ।
अध्यक्ष सुरानाले सुख्खायाममा एकातर्फ विद्युत महशुल बढी लिने र अर्कातर्फ विद्युत निरन्तर आपूर्ति समेत नगरिदिनाले उद्योग व्यवसाय दाहोरो मारमा परेको बताउदै सुख्खायाममा निरन्तर विद्युत आपूर्तिको अभावले औद्योगिक क्षेत्रको मूल्य श्रृखला नकारात्मक प्रभाव परिरहेको बताए ।