विराटनगर । विराटनगर महानगरपालिकाले बेरुजु फछ्र्यौटमा उल्लेख्य प्रगति गरेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं प्रतिवेदनअनुसार देशका अरु महानगरपालिकाको भन्दा विराटनगरको बेरुजु सबैभन्दा कम देखिएको हो ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनअनुसार विराटनगर महानगरको ०.३२ प्रतिशत मात्र बेरुजु देखिएको छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०-८१ मा विराटनगर महानगरको ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखापरीक्षण हुँदा जम्मा २ करोड ८ लाख ५७ हजार रुपैयाँ बेरुजु देखिएको हो । आर्थिक वर्ष २०८०-८१ मा २१ करोड बेरुजु फछ्र्यौट भएको महानगरको आर्थिक प्रशासन महाशाखाका प्रमुख संजीवकुमार भट्टराईले जानकारी दिए ।
उनकाअनुसार आर्थिक वर्ष २०७७÷७८ मा १ अर्ब ६३ करोड ५७ लाख ४३ हजार बेरुजु रहेकोमा आव २०७८-७९ मा २२ करोड ९४ लाख ८१ हजार थपिएको थियो । जसमा आव २०७८-७९ मा १ अर्ब १९ करोड ४२ लाख ५२ हजार बेरुजु फछ्र्यौट गरिएको थियो । २०७८-७९ सम्म कूल बेरुजु ७६ करोड ९ लाख ७२ हजार रहेमामा आव २०७९-८० मा ७ करोड ११ लाख ५३ हजार बेरुजु थपिएको थियो । सो आवमा २३ करोड ८३ लाख फछ्र्यौट गरिएको थियो ।
आथिएक वर्ष २०७९-०८० सम्म कूल बेरुजु ५० करोड ३८ लाख २५ हजार बाँकी रहेकामा आव २०८०-०८१ मा २ करोड ८ लाख थपिएको सहित २१ करोड फछ्र्यौट भई आव २०८०÷०८१ मा ३१ करोड ४६ लाख २५ हजार मात्र महानगरपालिकाको कूल बेरुजु बाँकी रहेको आर्थिक प्रशासन महाशाखाका प्रमुखले जानकारी दिए । तीन आर्थिक वर्षअघि महानगरको कूल बेरुजु १ अर्ब ६३ करोड ५७ लाख ४३ हजार थियो । महानगरको बेरुजु हरेक वर्ष घट्दै गएको उनको भनाइ थियो । आव २०७९÷०८० मा ७ करोड ११ लाख ५३ हजार बेरुजु रहेकोमा २०८०÷०८१ मा २ करोड ८ लाख मात्रै बेरुजु देखिएको छ । जुन ०.३२ प्रतिशत मात्रै हो ।
महानगरका मेयर नागेश कोइरालाले आफू नेतृत्वमा आएदेखि बेरुजुलाई शून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेको बताए । उनले आफू निर्वाचित भएर आउँदा झण्डै २ अर्ब बेरुजु रहेकामा अहिले बेरुजु घटाएर ३१ करोडमा झारेको बताए । मेयर कोइरालाले सुरुको वर्ष २२ करोड ९४ लाख ८१ हजार, दोस्रो वर्ष ७ करोड ११ लाख ५३ हजार र कार्यभार सम्हालेको तेस्रो वर्ष अर्थात् आव २०८०-०८१ मा २ करोड ८ लाख रुपैयाँ बेरुजु झार्न सफल भएको बताए ।
उनले आफू नेतृत्वमा आउँदा वार्षिक बेरुजु २२ करोड रहेको अहिले त्यसलाई घटाएर २ करोडमा झारेको पनि दावी गरेका छन् । आर्थिक सुशासनलाई सबैले पालना गरेका कारण बेरुजु घट्दै गएको मेयर कोइरालाको भनाइ छ । सबै जनप्रतिनिधि र कर्मचारीहरूको साथ र सहयोगले बेरुजु उल्लेख्य मात्रामा घटाउन सफल भएको मेयर कोइरालाले बताए ।
यसैबीच, विराटनगर महानगरपछि ललितपुर दोस्रो कम बेरुजु ललितपुरको १० अर्ब ६८ करोड ९७ लाख रुपैयाँ रहेको छ । लेखापरीक्षण हुँदा ५ करोड ५५ लाख रुपैयाँ बेरुजु देखिएको छ जुन कुल बजेटको ०.५२ प्रतिशत हो । भरतपुर महानगरपालिकामा ११ अर्ब १३ करोड ३ लाख रुपैयाँ लेखापरीक्षण गर्दा १० करोड २ लाख रुपैयाँ बेरुजु देखिएको छ, जुन ०.९० प्रतिशत हो । राजधानी काठमाडौं महानगरमा भने २७ अर्ब ५२ करोड ४४ लाख रुपैयाँ लेखापरीक्षण गर्दा ६८ करोड २ लाख रुपैयाँ बेरुजु देखिएको छ । यो कुल रकमको २.४७ प्रतिशत हो ।
वीरगञ्ज महानगरपालिकामा ६ अर्ब २८ करोड १६ लाख रुपैयाँ लेखापरीक्षण हुँदा २२ करोड ७५ लाख रुपैयाँ बेरुजु देखिएको छ, जुन ३.६२ प्रतिशत हो । महानगरहरूमध्ये सबैभन्दा बढी बेरुजु पोखरा महानगरपालिकामा देखिएको छ । पोखराको १३ अर्ब ४६ करोड ७२ लाख रुपैयाँ लेखापरीक्षण हुँदा ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ, जुन ३.७४ प्रतिशत हो ।

