खेतमा काम गरिरहेका किसानको विद्युत्‌को तार खस्दा करेन्ट लागेर मृत्यु

विराटनगर । धनकुटामा खेतमा काम गरिरहेका एक किसानको करेन्ट लागेर मृत्यु भएको छ

बिहीबार दिउँसो ३ बजे खेतमा काम गरिरहेका धनकुटा नगरपालिका वडा नम्बर ८ शिवबेशीका ६८ वर्षीय मंगलसिंह राईमाथि विद्युत्‌को तार खस्दा करेन्ट लागेको हो ।

धान गोड्ने क्रममा आकस्मिकरूपमा विद्युत्‌को तार खसेर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक विष्णुबहादुर खड्काको कमान्डमा प्रहरी टोली परिचालित गरिएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय धनकुटाबाट करिब १५ किलोमिटर पूर्वमा पर्दछ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिहिबार, ०२ जेठ, २०८२, साँझको ०६:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर