काठमाडौं । आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि सरकारले प्रतिनिधि सभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संसद्मा पेश गरिएको नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल थालिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि सांसद्हरूले उठाएको प्रश्नको जवाफ पनि आइतवार दिएका थिए ।
विपक्षी दलका सांसद्हरूले सरकारका नीति तथा कार्यक्रममाथि पेश गरेका संशोधन प्रस्ताव भने अस्वीकृत भएको छ ।
नीति तथा कार्यक्रम पारित भएकाले सरकारलाई जेठ १५ गते सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुलेको छ ।
सभामुख देवराज घिमिरेले ध्वनी मतका आधारमा सरकारको नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका छन् ।

