विराटनगर । नेकपा एमालेका नेता रहेका सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा निवेदन दर्ता भएको छ ।
मोरङको धनपालथान ४ स्थित उमागौरी सहकारी संस्था ठगी प्रकरणमा अञ्जला कोइरालासहित ६ जनालाई जिल्ला अदालत मोरङले धरौटीमा पुर्पक्ष गर्न दिएको आदेश बदर गरि थुनामै राख्न मागसहित जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा ७३ नम्बरको निवेदन दिएको हो ।
सहकारी संस्थाको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना गरि सहकारीको रकम अपचलन गरेपछि सहकारी ऐन अन्र्तगतको कसुरमा मोरङ अदालतले पुस २४ गते कोइरालालाई १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । जिल्ला अदालत मोरङको सोही आदेश बमोजिम २४ पुसमा कोइरालाले १० लाख रुपैयाँ धरौटी बुझाएर तत्काल रिहा भएकी थिइन् ।
जिल्ला अदालतमा धरौटी बुझाएको दुई महिनापछि फागुन २५ गते जिल्ला अदालतको आदेश बदर गरी थुनामा राखेर अनुसनधान गरिपाऊँ भन्दै सरकारी वकिलको कार्यालयले पुनरावेदन निवेदन दिएको हो । कोइरालासहित रंगेली २ का ४३ वर्षीय सन्तलाल खवास, सोही ठाउँका ४० वर्षीया ज्योती बास्कोटा, धनपालथान ६ का ४२ वर्षीय लक्ष्मीदेवी कार्की राजवंशी, सोही ठाउँका ४६ वर्षीय सुमन लोहनी र सहकारीका पूर्व सञ्चालक ४३ वर्षीय मनोजकुमार सोनीको हकमा पनि जिल्लाको आदेश बदर गरि थुनामा राखेर पुर्पक्ष गर्न उच्च अदालतमा ७३ नम्बरको निवेदन दर्ता भएको छ ।
बाँस्कोटा, राजवंशी, लोहनी र सोनीलाई उच्च अदालतले जनही ५–५ लाख रुपैयाँ धरौटीमा छोडेको थियो । ‘जिल्ला अदालतबाट भएको बेरितको आदेश बदर गरी निज प्रतिवादीहरूलाई मुद्दा पुर्पक्षका लागी थनुामा राखे आदेश गरी पाउन सम्मानित अदालतमा समक्ष सादर अनुरोध गरिन्छ,’ वादी नेपाल सरकारको तर्फबाट पैरवी गर्ने उच्च अदालत विराटनगरका उपन्यायाधिवक्ता लेखनाथ ढकालले दिएको निवेदनमा उल्लेख छ ।
कोइराला ६ जना प्रतिवादीहरुको हकमा वैशाख २५ गते उच्च अदालत विराटनगरले पेशी तोकेको छ । त्यसदिन गोला प्रथाबाट इजालश तोकेर सुनुवाइ हुनेछ ।
गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना प्रकरणमा अन्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा मुद्दा दायर भएको थियो । अदालतले ३ पुसमा उनीसहित २५ जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको भएपनि अञ्जालाले थुनामा बस्नु परेन तीन सातासम्म फरार भएकी हुने पछि अदालतमा उपस्थित भएकै दिन धरौटीमा थुनामुक्त भएकी थिइन् ।
अदालतमा मुद्दा दर्ता गर्दा अञ्जलालाई फरार अभियुक्त बनाइएको थियो । तर, उनी मुद्दा दर्ता भएको दिन पनि उनी आफू कार्यरत विराटनगरको महेन्द्र रात्रि माविमा हाजिर भएकी थिइन् । त्यसपछि भने उनी विदा लिएर फरार भएकी थिइन् । सरकारको नेतृत्व गरेको दलको परिवारको सदस्य भएको कारण प्रहरीले उनलाई पक्राउ गर्ने चासो दिएन ।
पुस २४ गते विहान १० बजे जिल्ला अदालतमा सुटुक्क उपस्थित भएकी उनको करिब ढेड घण्टा १ नम्बर इजाशलमा इन्कारी बयानपछि सोही दिन थुनछेक बहस भएको थियो । थुनछेक बहसलगत्तै उनलाई थुनामुक्त गर्ने आदेश हुँदा झोलामा बोकेर ल्याएको १० लाख नगदै धरौटी उनले बुझाएकी थिइन् ।
अदालतमा अञ्जलाले सहकारीको कुनै पनि दायित्व आफूसँग नरहनेगरि सञ्चालक समितिबाट राजीनामा दिएको दावी गर्दै आफू निर्दोश रहेको जिकिर गरेकी थिइन् । उनले सञ्चालक समितिको कुनैपनि माइन्युटमा हस्ताक्षर नगरेको दावी गरेकी छन् । तर, सहकारीले एक लघुवित्त संस्थाबाट ऋण लिनको लागि गरेको निर्णयमा उनकै हस्ताक्षर रहेको छ । जिल्ला अदालतले भने सहकारीबाट कुनै दायित्व नहरनेगरि अञ्जालाले राजीनामा दिएकोले थुनामा राख्न नपर्ने भन्दै धरौटीमा छाड्न आदेश दिएको थियो ।
अन्जलाको तर्फबाट बहस गर्ने ९ जना बरिष्ठ अधिवक्ता र ११ जना अधिवक्ताहरुले बहस गरेका थिए । सो प्रकरणमा सहकारी अध्यक्ष शम्भू प्रसाद रौनियार र धनपालथान ४ का पूर्ववडाअध्यक्ष रोशन राजवंशी भने पुर्पक्षको लागि कारागार चलान भएका छन् । सो मुद्दामा अझै एक दर्जन बढी फरार रहेका छन् ।
दायर भएको अभियोग पत्रअनुसार प्रतिवादीहरूले बचतकर्ताहरूले लिने गरेको ऋणमा हेरफेर गरी पूरा ऋण प्रवाह नगरेको उल्लेख छ । उनीहरूलाई बढीमा ८ वर्ष कैद सजाय र हिनामिना भएको बिगो रकम असुल गर्नुपर्ने माग गरिएको छ ।
उमागौरी कृषि सहकारीमा ८ हजार ८४२ जना शेयर थिए । शेयर बापत ३ करोड ८ लाख ९० हजार रहेको खुलाइएको छ । सहकारीमा ७०७ जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ ऋण परिचालन भएको उल्लेख छ । सहकारी अहिले बन्द छ ।
सरकारी वकिलले उच्चमा थुनामा राखेर पुर्पक्ष गर्न निवेदन दिएकोमा अञ्जालले पनि साधारण तारेखमा राखेर पुर्पक्ष गर्न निवदेन दिएकी छन् । कारागारमा रहेका संस्थाका अध्यक्ष शम्भू प्रसाद रौनियारसहित पाँच जनाले जिल्ला अदालत मोरङको आदेश बदर गरी साधरण तारेखमा रिहा गर्न मागसहित पुनारवेदन गरेका हुन् ।
उच्च अदालत विराटनगरमा पुनारावेदन गर्ने रोशन राजवंशी, ज्योती बास्कोटा र सन्तलाल खवास रहेका छन् । जिल्ला अदालत मोरङका तत्कालिन न्यायाधीश अरुण कुमार झाको इजालशले सहकारीको अध्यक्ष शम्भू प्रसाद रौनियारलाई माघ २० गते पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको थियो । पुनारावेदन गर्ने अन्यको हकमा भने धरौटी रकम मागिएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।