माओवादीको महानगर अधिवेशन : पदाधिकारी चयन नगरी स्थगित

विराटनगर । नेकपा माओवादी केन्द्रको दोस्रो विराटनगर महानगर अधिवेशनबाट ८१ सदस्यीय कार्यसमिति निर्वाचित भएपनि पदाधिकारी चयन नगरि अधिवेशन स्थगित भएको छ ।

आइतबार उद्घाटन भएको अधिवेशनको सोमबार भएको बन्दसत्रबाट ८१ जनाको कार्यसमिति भने निर्विरोध निर्वाचित भएको छ ।अधिवेशनमा ३५६ जना प्रतिनिधिहरू सहभागी रहेकोमा कार्यसमिति सदस्यको लागि ८७ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये ६ जनाले उम्मेदवारी फिर्ता लिएपछि ८१ जना निर्विरोध निर्वाचित भएका हुन् ।

माओवादीको बिधान अनुसार महानगर कमिटि ९९ जनाको हुनेछ । जसमध्ये अधिवेशनबाट ८१ जना निर्वाचित हुनेछन् भने १८ जना कार्यसमितिले मनोनित गर्नेछ । अधिवेशनबाट निर्वाचित भएका ८१ जनाले पदाधिकारी चयन गर्ने व्यवस्था बिधानमा छ ।
महानगर अधिवेशनबाट पहिलो चरणमा ८१ जना निर्विरोध निर्वाचित भएको पार्टीका महानगर इञ्चार्ज भोगेन्द्र यादवले जानकारी दिए । निर्वाचित भएको कमिटिबाट सहमतिमा पदाधिकारी चयन गर्ने प्रयास नेतृत्वले गरेको भएपनि कोषाध्यक्षमा मनिष सोनीको एकल दाबेदारी रहेको भएपनि अन्य पदमा दाबेदार धेरै भएकोले सहमति जुट्न सकेन ।

अधिवेशनमा पदाधिकारी निर्वाचनको औपचारिक प्रक्रिया सुरु गर्न अगाडि केन्द्रीय सदस्य शिबकुमार मण्ड नेतृत्वमा रहेको अध्यक्ष मण्डलले दावेदारी पेश गर्न समय दिएको थियो । जसबाट कोषाध्यक्षमा दाबेदारी गर्ने अन्य २ जनाले दावी फिर्ता लिएपछि सोनी निर्विरोध हुने भएका हुन् । त्यसको औपचारिक घोषणा भने भइसकेको छैन ।

महानगर कमिटीको अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षहरु दिनेशकुमार राजवंशी र ज्ञानु भट्टराई तथा सचिव नमिता न्यौपानेले दावेदारी पेश गरका छन् । यसैगरी तीन उपाध्यक्ष पदका लागि ९ जनाको दाबी छ । सावित्रा गौतम, धर्मलाल माझी, सरस्वती ओझा, चन्द्र वन, दिनेशकुमार कामत, रामबती साह, सनोज यादव, शारदा मैलानी र बद्री दाहालको उपाध्यक्षमा दाबी छ ।
सचिवमा केपी चौलागाई, आजम प्रवेज र पुष्पराज भट्टराईले दाबी गरेका छन् । यस्तै सहसचिवमा मोहन ढकाल, भरत गिरी, सोनु केवट, राज यादव, विनोद यादव, द्वारिका रेग्मी, चम्पा कार्की र राजेन्द्र थापाको दाबी छ ।

पदाधिकारीहरू चयनमा आकांक्षीहरूको संख्या बढी भएकाले सहमति जुटाउन प्रयास गर्ने भन्दै अधिवेशन स्थगित भएको छ । अब कार्यसमितिमा रहेकाहरुको अर्को बैठक बोलाएर पदाधिकारी चयन गर्ने इञ्चार्ज यादवले जानकारी दिए । उनका अनुसार सहमति नभए निर्वाचनबाट पदाधिकारी चयन गरिनेछ ।

महानगर कार्यसमितिले अध्यक्षसहित ७ जना पदाधिकारी चयन गर्नेछ । जसमा अध्यक्ष एक, उपाध्यक्ष तीन, सचिव एक, सहसचिव एक र कोषाध्यक्ष एक जना रहनेछन् ।अधिवेशनको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

मङ्गलबार, ०९ बैशाख, २०८२, दिउँसोको १२:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर