विराटनगर । पुर्व प्रधानमन्त्री एवम माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरुको आन्दोलन नभएको बताएका छन् । उनले राजावादीहरुको आन्दोलनलाई अपराध हुने बताएका छन्।
आइतबार विराटनगरमा हाम्रोमत दैनिकको २२औँ वार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘केलाई आन्दोलन भन्ने, केलाई क्रान्ति भन्ने? हामी अब यसको पनि साझा परिभाषामा पुग्नुपर्छ। लोकतन्त्र र गणतन्त्रका लागि हुने संघर्ष र आन्दोलन मात्रै आन्दोलन हुन्। तर, तानाशाही ल्याउन, निरङ्कुशता लादन गरिने काम आन्दोलन होइन। हुनै सक्दैन। त्यो अपराध हो।’
अहिले पनि जनमत लोकतान्त्रिक गणतन्त्रको पक्षमा भएको बारम्बार पुष्टि भएको उल्लेख गर्दै उनले बताए । ‘हामी पार्टीहरुलाई केही न केही रोग लागेकै छ। पार्टीहरु हिजोको जस्तो फ्रेस छैनन्। अलिअली रोगी भएकै छन। यसको उपचार भनेकै हामीले आत्मसमिक्षा गर्नुपर्छ। गल्ती महसुस भएपछि बल्ल उपचार सुरु हुन्छ’ उनले भने ।
मुलुक निरङकुशतातिर जान नसक्ने प्रचण्डले बताएका छन् । ‘प्रतिगामीहरुले हाम्रा केही कमजोरी देखाएर खेल्न खोज्दैछन्। त्यो सफल हुन्न ।’प्रचण्डले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने चुनौती दिएकोप्रति उनले असन्तुष्टि प्रकट गरे। राप्रपा सदनमा पनि छ तर निषेधित क्षेत्र तोड्छु भनेर भन्न मिल्दैन। त्यो नमिल्ने कुरा हो।’
देशमा लोकतन्त्र भएन नेतातन्त्र भयो भन्ने गरिएकोप्रति पनि प्रचण्डले असन्तुष्टि जनाए । ‘नेतातन्त्र भन्ने चिज हुँदैन । कोही नेता बिग्रनसक्छ । नेता बेठिक पनि हुनसक्छ । नेताको आलोचना गर्न पनि पाइन्छ । तर, नेताबिहीन लोकतन्त्र हुँदैन । नेतातन्त्र भन्ने पदावधि ठिक छैन । यो पदावधिले लोकतन्त्रको नै उपहास गरेको छ ।’
नेता नभएको पार्टी नहुने भन्दै अध्यक्ष प्रचण्डले नेताको आलोचना गर्न पाइने भएपनि नेतातन्त्रको हल्लाले लोकतन्त्रकै बद्नाम गराउने देखिएको बताए । ‘यसो भनेर निरंकुशतन्त्रलाई या दलबिहीनतालाई, निर्दलीयतालाई मलजल गर्न खोजिएको त होइन ?’ उनको प्रश्न छ, ‘बुझेर या नबुझेर, जानेर या नजानेर यदि त्यसो भयो भने के होला ?’
गणतन्त्रको पक्षमा भएकाहरुले पहिले आफ्नै समीक्षा गर्नुपर्ने बताउँदै प्रचण्डले जनताको बिचयमा त्यसलाई स्वीकार गरे मात्र विश्वासको वातावरण बन्ने बताए । ‘कहाँ त्रुटि भयो । जनताको आवश्यकता र भावनालाई सम्बोधन गर्ने कुरामा । विकासको आवश्यकतालाई सम्बोधन गर्ने कुरामा हाम्रो गल्ती कहाँ भयो भन्ने कुरा हेरेर मात्रै हामी एक हुने कुराको अर्थपूर्ण र औचित्यपूर्ण, परिणामुखी बनाउन सकिन्छ,’ उनले भने ।
पार्टीहरुलाई केही न केही रोग लागेको बताउँदै प्रचण्डले आन्दोलनको बेलाजस्तो पार्टीहरु फ्रेस नरहेको स्वीकार गरे । ‘अलिअलि रोगी भएका छन् । उनीहरुको उपचार आवश्यक छ’ उनले भने, ‘उपचारको विधि भनेको आत्मसमीक्षा हो । म रोगी छु भन्ने थाहा पाएपछि उपचार संभव छ ।’ आफ्नो पार्टी माओवादीको केन्द्रले भने केन्द्रीय समितिबाटै आत्मसमीक्षा गरेर जनतको बिचमा गइरहेको उनले बताए ।
प्रचण्डले अब नेपालमा नयाँ आर्थिक क्रान्ति र नयाँ सांस्कृतिक क्रान्तिको आवश्यकता भएको बताए । ‘मेरो निश्कर्ष के हो भने हामीलाई एउटा नयाँ आर्थिक क्रान्तिको मोडल चाहिएको छ । त्यो जनताबाट सिक्ने हो । जनताको बीचमा गएर सिक्ने हो’ उनले भने, ‘त्यसैकारण हामी मजदुर, किसानको घरमा, सहिद वेपत्ता परिवारको घरमा, व्यवसायी, समाजसेवी, उद्योगीसँग अन्तरक्रिया गरिरहेका छौं ।’
प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वको प्रणालीको व्यवस्था गरेको भएपनि त्यो प्रणालीसँग मिल्ने शासकीक स्वरुप छनौट नगर्दा समस्या भइरहेको पनि बताए । ‘शासकीय स्वरुप नेपालको अस्थिरताको कारण बनेको छ’ प्रचण्डले भने, ‘हामीले जुन व्यवस्थालाई अंगिकार गरिएको छ, त्योसँग मिल्दो शासकीय स्वरुप र निर्वाचन प्रणाली अपरिहार्य छ भन्ने हामीलाई लागेको छ ।’
अहिले अपनाएको नीजिकरण र उदारीकरणको मोडलबारे समीक्षा गर्नुपर्ने उनले बताए । यस्तै देशको मौलिक ऐतिहासिक सन्दर्भमा विकास भएको उत्पादन प्रक्रिया या हाम्रो संस्कृति, विधिलाई विकास गर्ने, परिमार्जन गरेर हाम्रो आफ्नै ऐतिहासिक सन्दर्भ र विरासतमा विकासको आफ्नो मौलिक मोडल अपनाउनु पर्ने पनि उनले बताए ।