विराटनगर । विराटनगर महानगरपालिका ८ का वडाध्यक्ष राम पोख्रेलले आफ्नो एक हजार दिनको कार्यकालमा उल्लेखनीय विकास र सेवाको प्रगति गरेका छन्। स्थानीय जनताको सेवामा समर्पित पोख्रेलले आफूले पाउने सेवा सुविधामार्फत एक अपाङ्ग युवतीलाई वडा कार्यालयमै रोजगारी दिएका छन्।
वडामा आउने नागरिकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले कर्मचारी नियुक्ति गरेको छु,’पोख्रेलले भने। उनका अनुसार, सेवाग्राहीहरूले निवेदन लेख्न वा फारम भर्न बाहिर जानुपर्दैन, यस्ता सेवाहरू वडामै निःशुल्क उपलब्ध छन्।
पूर्व नेकपा एमाले विराटनगर ८ वडा कमिटीका अध्यक्ष पोख्रेल, पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरेका स्वकीय सचिव पनि थिए। कोभिड–१९ को समयमा उनले गरेका कामहरूले स्थानीयबासीमाझ उनको विश्वास बढेको थियो।कोभिडकालमा जनप्रतिनिधिभन्दा पनि स्थानीयवासीले मलाई खोजे,’उनले बताए।
पोख्रेलको वडामा भौतिक पूर्वाधारको विकासमा पनि उल्लेखनीय प्रगति भएको छ। तीनवटै सरकारको सहकार्यमा वडामा २ वर्षमा साढे ५ किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरिएको छ । यस वर्ष थप ३ किलोमिटरभन्दा बढी कालोपत्रे गर्ने योजना रहेको उनले बताए। डुबान समस्या समाधानका लागि नालाको निर्माणलाई पनि प्राथमिकता दिइएको उनले बताए ।
सामाजिक क्षेत्रमा पनि पोख्रेलको वडाले विभिन्न उल्लेखनीय कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। प्रत्येक महिनाको पहिलो सोमबार विराट आँखा अस्पतालसँगको सहकार्यमा निःशुल्क आँखा परीक्षण, सुत्केरी भेट कार्यक्रम र जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्।
वडामा रहेका चारवटा सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूका लागि योग शिविर, खेल सामग्री र मन्टेश्वरी शिक्षाका लागि आवश्यक सहयोग पनि वडाले प्रदान गरिरहेको छ।‘स्थानीय सरकार भनेको दुःख पर्दाको घर आँगनको सरकार हो, त्यसैले जनतालाई हरेक क्षणमा साथ दिनुपर्छ,पोख्रेलले भने। महानगर कमिटीको प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका पोख्रेलले महानगरको उपाध्यक्षमा निर्वाचित भए पार्टी संगठनलाई अझ गतिशील बनाउने आफ्नो योजना रहेको बताएका छन्।