विराटनगर । विराटनगर महानगरपालिका– १६ दरैया र भारतीय सीमावर्ती क्षेत्र टिकुलियाबीच निर्माण गरिएको अवैध बाटोबाट दैनिक दर्जनौं ट्याक्टरमार्फत बालुवा र गिट्टी तस्करी भइरहेको पाइएको छ । सरकारले नेपालबाट नदीजन्य पदार्थ भारत निकासीमा प्रतिबन्ध लगाएको भएपनि सुरक्षा निकायकै मिलेमतोमा तस्करी धन्दा चलेको हो ।
दरैया र टिकुलियाबीच निर्माण गरिएको बाटोबाट ट्याक्टरसहितका ढुवानीका साधन सजिलै वारपार गर्न सक्छन् । यो मार्गबाट दैनिक दर्जनौं ट्याक्टर ओहोरदोहोर गरिरहन्छन् । तस्करहरूले स्थानीयवासीलाई डरत्रास देखाएर आफ्नो धन्दा चलाएका छन् ।
सीमा क्षेत्रमा प्रत्येक सय मिटरको दुरीमा सशस्त्र प्रहरी खटाइएको हुन्छ । सीमा सुरक्षा र तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी भएको सशस्त्र प्रहरीकै आँखा अगाडिबाट बालुवा र गिट्टी भारततर्फ तस्करी भइरहेको छ । तस्करी भएको क्षेत्र बोर्डर आउट पोस्ट (बिओपी) दरैयाको पर्दछ ।
दशगजा नजिकै दरैया क्षेत्रमा तस्करीकै लागि ठूलो परिमाणमा बालुवा र गिट्टी भण्डारण गरेर राखिएको छ । राति र विहानीपख दशगजा नजिक राखिएको बालुवा र गिट्टी भारततिर तस्करी हुने गरेको स्थानीय बताउँछन् । एउटा ट्याक्टरलाई बालुवा र गिट्टी लोड गरेर दरैयाबाट भारतको टिकुलिया पु¥याउन एक घण्टा पनि लाग्दैन ।
सशस्त्र प्रहरीसँग सेटिङ मिलाएरै रातदिन बालुवा र गिट्टी तस्करी हुने गरेको स्थानीयले बताएका छन् । सशस्त्रसँग सेटिङ नभएको भए आँखै अगाडिबाट बालुवा र गिट्टी भरिएको ट्याक्टर भारततिर जाँदा बिओपी दरैयाबाट खटिएका सशस्त्रले रोक्नसक्ने उनीहरुको भनाइ छ ।
नेपालको बालुवा र गिट्टीको भारतमा माग अत्यधिक रहेको र भारतमा महँगो मूल्यमा बिक्री हुने भएकोले तस्करी भइरहेको छ । नेपालमा भारतमा बालुवा गिट्टी पुर्याउँदा प्रतिट्याक्टर ४ हजार रुपैयाँसम्म खर्च हुने गरेकोमा भारतमा ५ हजार भारु (नेपाली ८ हजार रुपैयाँ) सम्म पाइने भएकोले तस्करी भएको हो । ‘राम्रो मूल्य पाइने भएकोले मिलेमतामो भारततर्फ तस्करी भइहरको छ’ एक स्थानीयले हाम्रोमतसँग भने ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजेश घिमिरेले बालुवा र गिट्टी तस्करी हुने गरेको जानकारी आएको स्वीकार गर्दै अहिले कडाइ गरेको दावी गरेका छन् । ‘तस्करी हुने गरेको मैले पनि थाहा पाएँ । त्यसपछि काम रोक्न लगाएको छु’ उनले भने, ‘अझै पनि तस्करी भइरहेको पाइयो भने सीमा क्षेत्रमा खटिने सशस्त्रमाथि कारबाही हुन्छ ।’
प्रहरीले केही वर्षअघि डोजर लगाएर तस्करीको लागि बनाइएको सो बाटो भत्काएको थियो । अहिले पुनः बाटो बनाएर धन्दा चलाइएको छ । तस्करी न्युनिकरणको लागि विराटनगर– १६ का वडाध्यक्ष उद्धवकुमार भुजेलको संयोजकत्वमा सीमा निगरानी समिति बनाइएको छ । समितिमा सुरक्षा निकाय, जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधि छन् । समितिले नियमित रूपमा अनुगमन गर्दै सीमा क्षेत्रको वस्तुस्थितिबारे जानकारी राख्नुपर्ने भएपनि नदीजन्य पदार्थको अत्यधिक तस्करी नियन्त्रणमा समितिले कुनै भूमिका खेलेको छैन ।
भुजेलले स्थानीय स्तरमा तस्करी रोक्न सम्भव नभएपछि माथिल्लो तहसम्म जानकारी गराएको बताएका छन् । ‘सम्बन्धित ठाउँमा जानकारी गराइसकेका छौं’ उनले भने, ‘रोक्नलाई पहल हुँदै होला ।’मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बालुवा र गिट्टी तस्करी रोक्न तत्काल प्रहरी परिचालन गरिने बताए । यो अवैध तस्करीको सबैभन्दा ठूलो प्रभाव स्थानीय समुदायमा परेको छ । नेपालको राष्ट्रिय सम्पदा अवैध रूपमा विदेशिइरहँदा स्थानीयवासी बोल्न नसक्ने अवस्थामा पुगेका छन् । कानुनविपरीत हुने यस्ता अवैध गतिविधि नियन्त्रण गर्न सरोकारवाला निकायहरू गम्भीर हुनुपर्ने स्थानीयको भनाइ छ ।
दरैयाबाट नरेश यादवको समूहले बालुवा र गिट्टीको व्यापक धन्दा चलाइरहेको छ । यादव नेपाल र भारत दुवैतिर तस्करी धन्दा चलाउने व्यक्ति हुन् । उनलाई गत वर्ष मंसिर ९ गते औषधि तस्करी गरेर नेपाल ल्याउने क्रममा प्रहरीले पक्राउ गरेको थियो । अदालतबाट धरौटीमा रिहा भएपछि उनले कपडाको तस्करी धन्दा चलाए । एक वर्ष अगाडि तस्करी गरेर ल्याएको ९ पोका कपडा प्रहरीले नियन्त्रणमा लिएपछि यादवले ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेका थिए ।
प्रहरीले तस्करीमा संलग्न यादवलाई नियन्त्रणमा लिएर को २ ह ६२२६ नम्बरको अटोमा तस्करी गरि ल्याउँदै गरेको ९ पोको कपडा प्रहरीले बरामद गरेको थियो । यादवले जुनसुकै वस्तुको पनि तस्करी गर्ने गरेको सुरक्षा स्रोतले जनाएको छ । पछिल्लो समयमा उनले ढुंगा गिटीको तस्करी धन्दाको अगुवाइ गरेको प्रहरी स्रोतले जनाएको छ ।
यादवकै समूहले ट्याक्टर कुदाउन सहज होस् भनेर दरैया–टिकुलिया वारपार गर्ने बाटो बनाएको हो । यादव भने आफूले बाटो बनाएको अस्वीकार गर्दै वारपार गर्ने बाटो निर्माण हुनु राम्रै भएको दावी गर्छन् । ‘अलिअलि काम गरौं कि भनेको तर, भारतीय सीमा सुरक्षा बलले अवरोध गर्छ’ उनले भने, ‘नेपालमा पनि धेरैलाई मिलाउनुपर्ने हुन्छ ।’