लोड हुँदैछ...

मेनु

कोशी प्रदेशका पहाडी जिल्लामा जडीबुटी, जलस्रोत, कृषि र पर्यटनको अथाह सम्भावना : राजेन्द्र राउत

कोशी प्रदेशका पहाडी जिल्लामा जडीबुटी, जलस्रोत, कृषि र पर्यटनको अथाह सम्भावना : राजेन्द्र राउत

विराटनगर । खोटाङ उद्योग वाणिज्य संघको २६ औं वार्षिक साधारण सभा दिक्तेलमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन गर्दे अध्यक्ष राउतले स्थानीय उत्पादनको प्रवर्द्धन र व्यवसायिक विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कोशी प्रदेशको पहाडी जिल्ला खोटाङमा जडीबुटी, जलस्रोत, कृषि र पर्यटनको अथाह सम्भावना रहेको कुरा महासंघका अध्यक्षले राउतले उल्लेख गरे। विशेषगरी हलेसी महादेव, कालिका मझुवागढी, भुलभुले, बरापोखरी, जन्ते ढुङ्गा जस्ता स्थानहरूले लाखौँ पर्यटक भित्र्याउने क्षमता रहेको बताए। ‘सुन्तला, किवी, कागती, अलैंची, अदुवा, बेसार, बाँस, तोरी उत्पादनमा खोटाङ अग्रणी छ,’ उनले भने, ‘यहाँका अल्लो कपडा, राडी, नेपाली कागज उत्पादनले ग्रामीण अर्थतन्त्रमा योगदान पुर्‍याइरहेका छन् ।’

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आध्यन्त फन्ड म्यानेजमेन्ट र उपाय बिजनेस सोलुसनसँगको सहकार्यमा व्यावसायिक विकास सेवाको सुरुवात गरेको उनले बताए । यस सेवा अन्तर्गत उद्यमीहरूलाई लगानीसँगै व्यावसायिक परामर्श उपलब्ध गराइने र साना व्यवसायीलाई प्रोत्साहन स्वरूप दुई लाख रुपैयाँसम्म लगानी गरिने छ । ‘कोशी प्रदेशका सबै जिल्लामा व्यावसायिक विकास सेवालाई विस्तार गर्न आगामी बैशाखदेखि तालिम कार्यक्रम सुरु गरिनेछ,’ राउतले भने ।

कोशी प्रदेश सरकार र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच हालै सम्झौता भएको र यस सम्झौता अनुसार साना व्यवसायीहरूलाई बिना धितो सुलभ व्याजदरमा ऋण सुविधा उपलब्ध गराउने योजना रहेको जानकारी उनले उदघाटनमा गराएका थिए ।

महासंघले जिल्ला उद्योग वाणिज्य संघहरूलाई डाटाबेस बनाउने उद्देश्यले सफ्टवेयर जडान गरिदिएको र प्रदेशस्तरीय कृषि एक्स्पोको आयोजना गरेर किसानहरूलाई आधुनिक प्रविधिबारे समेतले उनले जाकारी गराएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले पहिलो पटक कोशी प्रदेशको आर्थिक प्रोफाइल तयार गरी प्रकाशन गरेको र सुविधा सम्पन्न भवन निर्माण कार्य अगाडि बढाइरहेको जानकारी दिइएको थियो । कोशी प्रदेशको कुल गार्हस्थ उत्पादनमा कृषि ३३.२ प्रतिशत, उद्योग क्षेत्र १५.९५ प्रतिशत र सेवा क्षेत्र ५०.९२ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा खोटाङ जिल्ला समन्वय प्रमुख सन बहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तिर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरे लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds