विराटनगर । मतदानको समय नराखी निर्वाचन तालिका सार्वजनिक गरेको प्रेस चौतारी नेपालले नयाँ नेतृत्वको लागि उम्मेद्वारी दिने फारम तोकिएका व्यक्तिहरूलाई मात्रै उपलब्ध गराएको छ ।
निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले आज दिउँसो मतदानको समय नदिइ जारी गरेको निर्वाचन सम्बन्धी सुचना जारी गरेको थियो । त्यही समय अनुसार दिउँसो २ः४५ बजे उम्मेद्वारी दर्ताको समय दिइएको थियो । सो समयमा उम्मेद्वारी दर्ता गर्न पुगेका राजेश राईलगायतको टिमलाई उम्मेद्वारको फारम नै निर्वाचन आयोगले नदिएको हो ।
निर्वाचन आयोगलाई एमालेका जनवर्गीय संगठनहरुको संयोजक भानुभक्त ढकाल र प्रेस चौतारीका इन्चार्ज समेत रहेका नेता राजेन्द्र गौतमले हस्ताक्षर गरेर दिएको लिष्टका उम्मेद्वारलाई मात्रै मनोनयन फारम दिएको हो । ‘हामीलाई उम्मेद्वारको फारम नै दिएनन् । मनोनयन गर्नै पाइएन । यो भन्दा निरंकुशता अरु के हुन्छ होला र ?,’ राईले भने । निर्वाचन आयोगले उम्मेद्वारको अन्तिम नामावली प्रकाशन दिउँसो ४ बजे, उम्मेद्वारी फिर्ता लिने समय ४ः१५ बजे र उम्मेद्वारको अन्तिम नामावली प्रकाशनको समय ४ः२० बजेका लागि तोकेको छ । त्यसपछि मतदानको कार्यक्रम नराखी निर्वाचन आयोगले निर्वाचन परिणाम घोषणाको समय साढे ४ बजेका लागि तोकेको छ ।
अध्यक्षमा दाबी गरिरहेको राजेश राई पक्षले भने निर्वाचनको माग गरेको थियो । निवर्तमान उपाध्यक्ष गणेश पाण्डे र महासचिवमा चेतन अधिकारीसहितको टिमलाई निर्विरोध बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले ठाडो निर्देशन दिएको बताइन्छ । नेताहरुले भनेको आधारमा नेतृत्व चयन गर्नु भनेको टिके प्रथालाई प्रश्रय दिनु भएको भन्दै विभिन्न जिल्ला र प्रदेशबाट आएका केही प्रतिनिधिहरुले भने नेतृत्वप्रति असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन् ।