विराटनगर। प्रेस चौतारी नेपालको नेतृत्वका लागि निर्वाचन माग गर्दै महाधिवेशन प्रतिनिधिले हस्ताक्षर संकलन गरेका छन् । आजबाट विराटनगरमा सुरु भएको १०औं राष्ट्रिय महाधिवेशन परिसरमा प्रतिनिधिले नयाँ नेतृत्वका लागि निर्वाचन माग्दै हस्ताक्षर गरेका थिए ।
नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीको अध्यक्ष सर्वसम्मत रुपमा गणेश पाण्डेलाई बनाउन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । पाण्डे वर्तमान उपाध्यक्ष हुन् । अर्का उपाध्यक्ष राजेश राई पनि अध्यक्षको दाबेदार हुन् । दुवैले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
चौतारीको ९ औं महाधिवेशनमा राई र पाण्डे दुवै अध्यक्षको दाबेदार थिए । त्यसबेला गणेश बस्नेत नै दाहोरिएपछि राई र पाण्डे उपाध्यक्ष नै बसे । १०औं महाधिवेशनअघि पाण्डेलाई एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिवको जिम्मेवारी दिइएको थियो ।
पाण्डेलाई सचिवको जिम्मेवारी दिएपछि राई स्वभाविक अध्यक्षको एकल दाबेदार थिए । तर, फागुन २८ गते सचिवमा मनोनीत भएका पाण्डेले चौतारीको अध्यक्ष उठ्ने भन्दै चैत ८ गते सचिवबाट राजीनामा दिए । एमाले अध्यक्ष ओलीले पाण्डेलाई अध्यक्ष र चेतन अधिकारीलाई महासचिव बनाउन निर्देशन दिएको नेताहरु बताउँछन् ।
अधिवेशन उद्घाटन गर्न आएका एमाले महासचिव शंकर पोखरेलले राईलाई पछि हट्न निर्देशन दिँदै पाण्डेलाई सहयोग गर्न भनेका छन् । राईले भने प्रतिस्पर्धामा जाने अनुमति दिनुपर्ने माग गरेका थिए । पोखरेलले अधिवेशनको उद्घाटन सत्रमा पनि सहमतिको आधारमा नेतृत्व छान्न निर्देशन दिएपछि प्रतिनिधिहरुले हस्ताक्षर अभियान थालेका हुन् ।
अधिवेशन सुरु नहुँदै पार्टीले नेतृत्व छान्ने हो भने देशभरबाट प्रतिनिधिहरु भेला गर्नुको औचित्य के भन्दै उनीहरुले प्रश्न गरिरहेका छन् । जनताको बहुदलिय जनवादले प्रतिस्पर्धालाई स्वीकार गरेको भएपनि पार्टीको नेतृत्वले सहमतिको नाममा जबरजस्ती गर्न खोजेको उनीहरुको गुनासो छ ।
केन्द्रको निर्देशन चौतारीमा लाद्न खोजेको भन्दै प्रतिनिधिहरुले हस्ताक्षर अभियान संकलन गरेका हुन् । प्रतिनिधिहरुले निर्वाचन मार्फत नेतृत्व छान्न पाउनु पर्ने माग राखेका छन् ।
चौतारीका अध्यक्ष गणेश बस्नेतले भने निर्वाचन माग्नेलाई प्रतिनिधि रद्द गर्ने धम्की दिएका छन् । हस्ताक्षर गरीरहेका बेला अध्यक्ष बस्नेतले उक्त धम्की दिएको प्रतिनिधिहरुले बताएका छन् ।