
सम्पादकीय
त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा देशका प्रमुख राजनीतिक दलका समर्थक विद्यार्थीहरूले नै अधिकांश स्थान जितेका छन् । केही क्याम्पसमा निर्वाचन हुन बाँकी भए पनि परिणामको मूल प्रवृत्तिमा खासै फरक पर्ने देखिँदैन । यो निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले उत्साजनक परिणाम ल्याएको देखिएको छ । निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सबैभन्दा धेरै स्थानको नेतृत्व जितेर पहिलो र नेकपा एमाले निकट अनेरास्ववियु दोस्रो भएको भएपनि तेस्रो भएको क्रान्तिकारीसँगको अन्तर धेरै छैन । खासगरि नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन सरकार बनेपछि प्रतिपक्षमा धकेलिएको माओवादी केन्द्रले गएको स्थानीय तह निर्वाचन र अहिलेको स्ववियु निर्वाचनमा उत्साहजनक परिणाम हात पारेको छ । मोरङमा मात्र ११ वटा क्याम्पसमा (निर्विरोधसहित) भएको स्ववियु निर्वाचनमा क्रान्तिकारीले ६ वटा क्याम्पसको नेतृत्व जितेको छ । यसले आफ्नो जनआधार बलियो बन्दै गएको र आगामी निर्वाचनमा एक्लै अन्य दललाई टक्कर दिने माओवादीको दावी करिब सत्य प्रमाणित गरिदिएको छ ।
स्थानीय तहको निर्वाचनदेखि पत्रकार महासंघको निर्वाचन, पर्यटन व्यवसायीको निर्वाचन र स्ववियु निर्वाचनमा पनि ठूला भनिएका दलहरु नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन भयो । तर, गठबन्धनले अपेक्षा गरे अनुसार नतिजा निकाल्न सकेन । भोजपुर बहुमुखी क्याम्पसहित स्ववियु निर्वाचनमा धेरै स्थानमा काँग्रेस र एमाले निकट विद्यार्थी संगठनको गठबन्धनलाई भत्काएर क्रान्तिकारीले जित निकालेको छ । यसले माओवादी गठबन्धनविना चुनाब लड्न सक्दैन भन्ने भाष्य मात्र खारेज गरेको छैन, चुनाबमा गठबन्धन नगर्ने भन्दै सरकार बनाएका ठूलो दलको लगातारको गठबन्धनलाई पनि मतदाताले अस्वीकार गरेको देखिएको छ । स्ववियु निर्वाचनमा भाग लिनेको संख्या सानो भएपनि यसलाई मिनि आम निर्वाचनको रुपमा पनि हेर्ने गरिन्छ । युवा र सचेत तप्का मतदाता हुने भएकोले यसले आगामी निर्वाचनको संकेत गर्ने अर्थमा पनि हेर्ने गरिन्छ । त्यसैले पनि यो निर्वाचनको परिचालनको लागि दलहरुले केन्द्रबाटै आफ्नो शक्ति परिचालन गरेका थिए । खासगरि सरकारमा रहेका दलहरुले त पार्टीका केन्द्रीय नेताको जिम्मेवारी नै तोकेर निर्वाचनमा खटाएका थिए । त्यसले पनि निर्वाचनको महत्वलाई उजागर गरेको छ ।
पुराना दलहरूप्रति जनसमर्थन खस्केको र व्यवस्थाकै विरुद्धमा समेत जनसमर्थन बढेको प्रचार पछिल्लो समयमा भइरहेको छ । सचेत र युवा पुस्ता राजतन्त्रको समर्थनमा उभिँदै गएको एकथरी विश्लेषण पनि भइहरेको थियो । तर, स्ववियु निर्वाचनमा अहिलेसम्म ३७ मतदाता भएको झापाको गरामनी क्याम्पसबाहेक अन्यत्र राजतन्त्र पक्षधर विद्यार्थी संगठनले चुनाब जितेको तथ्यांक सार्वजनिक भएको छैन । यसले पनि युवा विद्यार्थीको जमनत अहिले प्रचार गरिएजस्तो राजतन्त्रको पक्षमा नरहेको स्पष्ट सन्देश दिएको छ । लोकतान्त्रिक गणतन्त्रका पक्षमा विद्यार्थीहरुको जनमत प्रकट भएको छ । युवा विद्यार्थीहरू परेमा विद्रोह गर्न हिचकिचाउँदैनन् भन्ने सङ्केत पनि यस निर्वाचनले गरेको छ । नेकपा एमाले र नेपाली काँग्रेस निकट विद्यार्थी संगठनको बर्चश्व रहेका राजधानीका केहि दुई ठूला क्याम्पसको स्ववियु नेतृत्वमा स्वतन्त्र उम्मेदवारले चुनाब जितेर सत्तारुढ शक्तिप्रतिको असन्तुष्टि सतहमा ल्याइदिएका छन् ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वतन्त्र उमेदवार अध्यक्षमा विजयी हुँदा अखिल क्रान्तिकारीका उम्मेदवार प्रतिस्पर्धामा आए । नेविसंघ र अनेरास्ववियु त्यहाँ प्रतिस्पर्धामै आएनन् । सचिवमा अखिल क्रान्तिकारी बिजयी भयो । पद्मकन्या क्याम्पसमा नेविसंघबाट विद्रोह गरेर उठेको स्वतन्त्र समूह विजयी भएको छ ।
नवनिर्वाचित स्ववियु नेतृत्वले यसपटक दोहोरो चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । पहिलो, स्ववियुलाई आफूसम्बद्ध संगठनको स्वार्थ पूरा गर्ने माध्यम होइन क्याम्पसका सबै विद्यार्थीको साझा संस्था बनाउन अर्थात् दलगत राजनीतिभन्दा माथि उठाउन सक्नुपर्छ । अर्कोतिर लोकतान्त्रिक गणतन्त्रमा कतैबाट प्रहार भए त्यसको वैचारिक प्रतिवाद गर्न नैतिक र सैद्धान्तिक रूपमा सक्षम हुनुपर्छ । नेपालको स्ववियुको इतिहास पनि जनपक्षीय व्यवस्थाको लागि विद्यार्थी जनमत तयार गर्ने जिम्मेवारी पुरा गर्दै अगाडि बढेको हो । मुलुकलाई पछाडि फर्काउने र अध्यारोतिर धकेल्ने प्रयासलाई युवा विद्यार्थीले खारेज गरेका छन्, राजनीतिक नेतृत्वले आफ्नो गलत संस्कार, चिन्तन र प्रबृत्ति खारेज गर्नुपर्छ । स्ववियु निर्वाचनले दिएको सन्देश त्यहि हो ।