पाँचौं मिल्स गोल्डकप : लेटाङ फुटबल क्लब सेमिफाइनलमा

विराटनगर । मोरङको लेटाङ फुटबल क्लब पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा बुधबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा आयोजक लालि गुँरास स्पोर्टिङ क्लब रानी मिल्स एरियालाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै लेटाङ सेमिफाइनलमा पुगेको हो।

निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो। टाइब्रेकरमा लेटाङका पुजन चौधरी, तेजन गुरुङ, सौगात राई र सुजन तिलवाले गोल गरे। आयोजकका विवेक राई र कैलाश बस्नेतले गरेको प्रहार लेटाङका गोलरक्षक पूर्ण चेम्जुङले उत्कृष्ट बचाइ गरिदिए। टाइब्रेकरमा दुई गोल सेभ गर्ने पूर्ण खेलको म्यान अफ द म्याच घोषित भए। लेटाङको तर्फबाट टाइब्रेकरमा आशिष लावती र रमेश चौधरीले मात्रै गोल गरे।

जितसँगै लेटाङले शुक्रबार दोस्रो सेमिफाइनलमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लबसँग फाइनल यात्राको लागि प्रतिस्पर्धा गर्नेछ। लेटाङको जितसँगै मिल्स गोल्डकपको सेमिफाइनलको समीकरण पनि पूरा भएको छ। यसअघि मंगलबार पाहुना टोली भारत बिहारको वाइएससी खोखाझील कटिहारलाई ४–० गोलले पराजित गर्दै सुनसरी इटहरीको टीएफसी तालतलैया सेमिफाइनलमा पुगिसकेको छ। फ्युजन फुटबल क्लब उदयपुरले सप्तरीको प्रोग्रेसिभ युवा क्लबलाई १–० गोलले हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ। पेमा स्पोर्टिङ क्लबले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको छ।

अन्तिम क्वार्टरफाइनल खेल प्रतिस्पर्धात्मक भएको थियो। खेल सुरु भएको ४ औं मिनेटमा आयोजक लालि गुँरासले अग्रता लिएको थियो। भुवन बस्नेतले चलाखीपूर्ण तरिकाले जाली चुमाउँदै टिमलाई अग्रता दिलाए। आशिष लावतीले निकालेको क्रस पासलाई भुवनले पोस्टको दिशा दिएका थिए। आयोजकले अग्रता लिएको १३ मिनेट बित्न नपाउँदै लेटाङले गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको १६ औं मिनेटमा लेटाङका अनोप मगरले निकालेको पासलाई सागर तिवारीले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्। बराबरीमा आएपछि खेल रोमाञ्चक बन्यो। दुवै टिमका खेलाडीहरूले निर्धारित समयमा गोल गर्ने थुप्रै अवसर खेर फाल्दा खेल टाइब्रेकरतर्फ धकेलियो। त्यसपछि टाइब्रेकरमा लेटाङले जित निकाल्न सफल भयो। बिहीबारको पहिलो सेमिफाइनल खेल गाइघाटको फ्युजन फुटबल क्लब र इटहरीको टीएफसी तालतलैयाबीच हुनेछ।

बुधबार, ०५ चैत, २०८१, रातीको ०८:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर