विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थाविरुद्ध पनि आवाज उठ्न थालेको भन्दै उनले योभन्दा राम्रो प्रणाली के हो भन्ने प्रश्न गरेका छन् ।
मंगलबार कोशी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राम्रो प्रणालीका लागि सरकार तयार रहेको बताउँदै लोकतान्त्रिक प्रणालीको बाटोबाट नै अघि बढ्ने बताए ।
अहिले शान्ति र एकता चाहिएको बताउदै ओलीले विविधतायुक्त देश भएकोले यसमा एकता हुनुपर्ने र यही नै सम्पन्नता भएको उल्लेख गरे । “यति सानो देश यति विविधतायुक्त छ । यसमा एकता पनि छ । पहिले विभेद थिए । राजनीतिक प्रणालीले नै विभेद हुर्काएको थियो । अहिले हामी त्यो प्रणालीमा छैनौँ । जनतन्त्रमा छौँ” उनले दाबी गरे ।
प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानता कायम गर्दै सामाजिक सद्भावमार्फत राष्ट्रिय एकता कायम गर्ने ढंगले अघि बढ्नुपर्ने आवश्यता रहेको बताए । “देश विकासको लागि शान्ति चाहिएको छ । अब पछाडि फर्कन सक्दैनौँ । आफ्नो क्षमताको हिसाबले जो पनि अघि बढ्न सक्छ,” प्रधानमन्त्री ओलीले भने ।
ओलीले नागरिक सर्वोच्चता भएको प्रणालीबारे स्पष्ट रहेको र समाजवादतर्फ उन्मुख रहेको बताउँदै भने, “सामन्तवादतर्फ उन्मुख छैनौँ । दुईपटकको संविधानसभाले जनतामा शक्ति रहेको संविधान बनाएको हो । यसलाई दुईतिहाइले संशोधन गर्नसक्छ ।”