एमाले मोरङ अधिवेशनको सन्देश

 सम्पादकीय

नेपाल कम्युनिस्ट पार्टी (एमाले) मोरङको दशौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । यो अधिवेशनबाट निस्किएको परिणामले पार्टीको आन्तरिक राजनीति र शक्ति सन्तुलनमा गम्भीर संकेत दिएको छ । अध्यक्ष केपी शर्मा ओली को सशक्त पकड रहेको भनिएको एमालेभित्र संस्थापन पक्ष अर्थात ओलीकै समर्थन पाएका उम्मेदवारहरू पराजित हुनुले पार्टीभित्र असन्तुष्टि गहिरिएको देखिन्छ । मोरङमा विनोद ढकाल नेतृत्वको समूहले ओली पक्षलाई पराजित गर्नु केवल एक जिल्लाको घटना मात्र नभएर एमालेभित्र ओलीको एकलौटी कार्यशैलीविरुद्ध कार्यकर्ता तहबाट विद्रोहको सुरु भएको सङ्केतको रूपमा हेरिएको छ ।

खासगरि माधब नेपालहरु अलग भएपछि एमाले ओलीकेन्द्रित पार्टी बन्दै गएको छ । पार्टीमा सामूहिक छलफल र सामूहिक विचार करिब प्रतिबन्धित छ । ओलीकै निर्णय पार्टीको अन्तिम मानिने अवस्था छ । ओलीको आलोचना गर्ने भीम रावल, बिन्दा पाण्डे, उषाकिरण तिम्सिना, विमल कार्की जस्ता नेताहरूलाई कारबाही गरेपछि पार्टीभित्र आलोचना भएपनि प्रत्यक्ष चुनौती दिने कोही थिएनन् । तर, मोरङ अधिवेशनमा ढकाल पक्षको विजयले ओलीको एकलौटी शैलीप्रति असन्तुष्टि व्यापक रहेको देखाएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार, यो नतिजाले ओलीको पार्टीभित्रको लोकप्रियता घट्दै गएको देखाएको छ ।

यो निर्वाचन परिणाममा पूर्वराष्ट्रपति विद्या भण्डारी को भूमिकाबारे पनि चर्चा भइरहेको छ । हाल पार्टीभित्र सक्रिय हुन खोजिरहेकी भण्डारीले मोरङको अधिवेशन अगाडि विराटनगरमा एक सातासम्म राजनीतिक भेटघाट गरेकी थिइन् । भेटघाटको संयोजन र व्यवस्थापन अहिले निर्वाचित भएको टिमकै नेताहरुले गरेका थिए । सोही कारणले संस्थापन पक्षका उम्मेदवारहरूको पराजयमा उनको अप्रत्यक्ष प्रभाव रहेको ठानिएको छ । एमाले अधिवेशनमा अधिवेशनमा संस्थापन पक्षले उम्मेदवारहरू जिताउन सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप पनि लाग्यो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारी संयन्त्र प्रयोग गरी प्रतिनिधिहरूलाई प्रभावित पार्न खोजेको चर्चा चलेको थियो । यद्यपि, अन्ततः परिणाम त्यस अनुसार आएन ।

ओलीको पार्टी सञ्चालनको शैलीप्रतिको असहमति, र आन्तरिक विद्रोहका कारण ओलीलाई पार्टीभित्र चुनौतीहरू बढ्दै गएका छन् । मोरङको अधिवेशनको सन्देश स्पष्ट छ— कार्यकर्ताहरू नेतृत्व छनोटमा स्वतन्त्र हुन चाहन्छन्, पार्टीभित्र लादिएको नियन्त्रणको अन्त्य हुनुपर्छ र ओलीका निर्णयहरू सबैले स्वीकृत गर्ने अवस्थाको अन्त्य सुरु भइसकेको छ । यसले मोरङ पार्टीभित्र विनोद ढकालको प्रभाब मात्र उजागर गरेको छैन, एमालेको स्थायी समितका सदस्यहरु, अध्यक्ष ओली र उपाध्यक्ष गुरु बरालसहितका नेताहरुसँग भिडेर उनले नयाँ मानक स्थापित गरिदिएका छन् । राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई कसरी अगाडि बढाउने भन्ने सवक पनि यो निर्वाचनले एमाले मात्र नभएर सबै दललाई दिएको हुनुपर्छ । अर्कोतिर यो अधिवेशनबाट हिजो एमालेको संस्थापन पक्षले विनाकारण कार्वाही गरेका सागर थापासहितलाई निर्वाचित गरिदिएको छ भने कार्वाही गर्नेहरुलाई पराजित गरिदिएको छ । यसले पार्टीका कार्यकर्ता पंक्ति इमान्दार र विवेकशील छन् भन्ने उजागर गरेको छ । एमाले मोरङको अधिवेशनले एमाले नेतृत्वलाई पुनः आत्मसमीक्षा गर्न बाध्य पार्नेछ । यदि नेतृत्वले कार्यकर्ताहरूको सन्देशलाई गम्भीर रूपमा नलिए सम्बन्धित दलमाथि नै चुनाति बढ्नेछ ।

आइतबार, २५ फागुन, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर