ओलीले दिएको निर्देशन लागू नभएपछि एमाले मोरङको अधिवेशन प्रभावित,चुनाव भोली मात्रै

विराटनगर । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशन लागू नभएपछि एमाले मोरङको जिल्ला अधिवेशन प्रभावित बनेको छ । अध्यक्ष ओलीले जिल्लास्तरमा बनाएको समूहलाई परिवर्तन गरिदिएका थिए । उपाध्यक्षमा जिल्लाबाट शान्ति लिम्बुको नाम अगाडि बढाइएको भए पनि ओलीले विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निरला कार्कीलाई उपाध्यक्ष बनाउन निर्देशन दिएका थिए ।

जिल्लामा खटिएका केन्द्रका नेताले शान्तिको नाम अगाडि बढेको भन्दै कार्कीलाई सर्वसम्मत उपमहासचिव बनाउने भन्दै ओलीलाई ‘कन्भिन्स’ गराएका थिए । सर्वसम्मत बनाउने सर्तमा शिल्पाले उम्मेदवारी दिएकी थिइन । तर, मंगलबार अन्तिम समयसम्म पनि सर्वसम्मत हुने छाँट नदेखिएपछि निर्वाचन सारिएको स्रोतले बतायो । यस अगाडिसम्म पूर्वकेन्द्रीय सदस्य विनोद ढकालले नेतृत्व गरेको समूहमा थिइन् । त्यो समूह फुटाएर गलाउने रणनीतिमा अर्काे पक्ष लागे पनि सफल नहुने देखिएपछि निर्वाचन धकेलिएको बताइन्छ ।

ओली पक्षबाट राजकुमार ओझा र इतर समूहको विनोद ढकालले नेतृत्व गरेको समूहबाट अजम्बर राई आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।नेता ढकालसँग उपाध्यक्ष गुरु बराल र स्थायी कमिटी सदस्य शेरधन राईले शिल्पाका लागि सर्वसम्मत गराउन पहल गरेका थिए । ढकालले भने धेरै प्रक्रिया अगाडि बढिसकेको जवाफ दिएको स्रोतले बतायो ।सर्वसम्मतको पहल गरेको स्थायी कमिटी सदस्य राईले बताए । ‘हामीले सबै पदमा सर्वसम्मत गरौं भनेका हौं’, उनले भने ‘शिल्पाजीको नाममा अलिक बढी सम्भावना पनि थियो । तर, त्यो सम्भावना अब टरिसक्यो ।’

नेता राईले भोलि बिहान मात्रै चुनाव हुने जानकारी दिए । आफ्नै समूहबाट अलग भएपछि विनोदले शिल्पाको विषयमा सहमति नगरेको एक नेताले बताए ।सर्वसम्मत नभएपछि शिल्पाका श्रीमान् गिरेन्द्र कार्कीले उम्मेदवारी फिर्ता लिने धम्की दिएका थिए । त्यसपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की उनलाई सम्झाउन मतदानस्थलमै पुगेका थिए । कार्कीले त्यहाँ प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल समेत गरेका थिए । शिल्पाले भने सर्वसम्मत गराउने प्रयास असफल भए पनि चुनावी मैदान नछाड्ने बताएकी छन् ।

ढकाल समूहले भने प्रतिनिधिहरूलाई प्रभावित गर्न मुख्यमन्त्री आफैं फिल्डमा खटेको भन्दै असन्तुष्टि जनाएका छन् ।
२०८० असोजमा सोही स्थानमा भएको प्रदेश कमिटीको निर्वाचनमा पनि उनले राज्य सत्ताको दुरुपयोग गरेको आरोप लागेको थियो । मुख्यमन्त्री कार्कीले भने आफ्ना कोही पनि उम्मेदवार नभएको बताएका छन् । साथीभाइ भेटघाट र निरीक्षणका लागि मात्रै आफू आएको उनले बताए ।

‘चुनावको मुखैमा अधिवेशनस्थलमा आएर मुख्यमन्त्रीले कार्यकर्ताहरूसँग छुट्टाछुट्टै भेट्दा हामीलाई नै असर पुग्छ’, ओली पक्षकै एक नेताले भने, ‘प्रदेश सरकारले काम नगरेको भनेर आलोचना भइरहेका बेला उहाँ आएर आश्वासन दिँदा झन् ठूलो असर पर्छ । हाम्रा नेताहरू पदमा पुगेपछि हामीले भनेको भइहाल्छ नि भन्ने प्रवृत्तिले मोरङमा अध्यक्ष ओलीमाथि प्रहार भएको हो ।’
उपाध्यक्ष गुरु बराल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायतका नेता ओली पक्षको लबिङमा छन् भने पूर्वकेन्द्रीय सदस्य विनोद ढकाल, केन्द्रीय सदस्यहरू रामलाल साह, यज्ञराज बाँस्कोटा र नैनकला ओझालगायतका नेता भण्डारी पक्षको नेतृत्व गरिरहेका छन् ।

संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बु, सचिवमा रविन थापा, उपसचिवमा इर्जालाल राजवंशी र शिल्पा निरला कार्की चुनावी मैदानमा छन् ।ढकाल समूहबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, उपसचिव सन्तोष वान्तवा र उषा झा मैदानमा छन् ।

मङ्गलबार, २० फागुन, २०८१, दिउँसोको ०४:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर