विराटनगर । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संगठन मोरङको विवाद उत्कर्षमा पुगेको छ । देउवा पक्षका १२ जना केन्द्रीय सदस्यहरुले संयुक्त रुपमा नेविसंघ मोरङको अध्यक्षमा मोहमद तनवीरलाई चयन गरेको चिठी दिएको छ ।
‘नेपाल विद्यार्थी संघको विधान २०२७ बमोजिम अध्यक्ष चयन गरेको सो पक्षको दाबी छ । सो पक्षका केन्द्रीय सदस्यहरु अङ्कित भट्टराई, सुविन पराजुली, अभिषेक भट्टराई, विकास भण्डारी, दिपेन रौनियार, रोशन पराजुली, लक्ष्मीनारायण अधिकारी (सरोज), प्रमिला ढकाल (एरिका), सुमन ढकाल, दिवाकर यादव, विवेक लिम्बू र प्रज्वल पौडेलले तनवीरलाई अध्यक्ष चयन गरेका हुन् ।
‘हामीले दुई अढाइ वर्ष पर्खिएका हौं । नेविसंघमा कोइराला पक्षको भन्दा अरुलाई ठाउँ दिएनन् । हामीले नेताहरुलाई सबै कुरा भनेका थियौं । तर, आज आएर महेन्द्र मोरङ क्याम्पसमा लफडा सिर्जना भयो । महेन्द्र मोरङमा प्रहार भएपछि हामीले पनि जिल्ला समिति अर्को बनाएका हौं,’ केन्द्रीय सदस्य सुविन पराजुलीले भने ।
नेविसंघको आधिकारिक अध्यक्ष भने सरोज पोखरेल हुन् । बिहीबार महेन्द्र मोरङ क्याम्पसमा इकाइ कमिटी गठन गर्न जाँदा पोखरेलको समूहलाई देउवा पक्षले आक्रमण गरेको थियो । आक्रमणबाट सभापति पोखरेलसहित तीन जना घाइते भएका थिए ।

