विराटनगर । तामझामको साथ विराटनगरमा सुरू भएको प्रथम कोशी खेलकुद महोत्सव विवादमा तानिएको छ । प्रतियोगिताको आयोजना हुनासाथ विवाद उत्पन्न भएको हो ।
कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित प्रथम कोशी खेलकुद महोत्सव विवादमा तानिएपछि नेपाल कराते महासंघ मोरङ जिल्ला कमिटिले प्रतियोगिता बहिष्कार गरेको छ । महासंघले खेल आयोजकहरूले विवादित व्यक्तिलाई कराते प्रतियोगिताको संयोजक नियुक्त गरेको भन्दै कडा आपत्ति जनाएको छ ।
फागुन १३ गतेदेखि सुरु भएको र १८ गतेसम्म चल्ने यस महोत्सवमा ११ विभिन्न खेलहरू समावेश छन् । महासंघका संयोजक राम लिम्बुले बुधबार जारी गरेको विज्ञप्तिमा अन्य खेलहरूका संयोजकका रूपमा सम्बन्धित खेल संस्थाहरूलाई नियुक्त गरिएको भए पनि कराते खेलमा मात्र यो नियम तोडिएको उल्लेख गरिएको छ ।
‘अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सबैभन्दा बढी पदक ल्याउने कराते खेलको विकासमा लागि परेको संस्था नेपाल कराते महासंघलाई बेवास्था गरेर प्रदेश सरकारको प्रत्यक्ष संलग्नतामा भएको यो खेलकुद महोत्सव प्रति हाम्रो गम्भीर असहमति छ,’ विज्ञप्तिमा उल्लेख छ ।
सबैभन्दा आपत्तिजनक विषय त के छ भने बिसन मोते नामक व्यक्तिलाई प्रमुख संयोजक र प्रविण राणालाई सहसंयोजक तोकिएको छ । महासंघका अनुसार, मोतेको रेफ्री लाइसेन्स नेपाल कराते महासंघ अन्तर्गत रेफ्री कमिसनबाट नवीकरण नै गरिएको छैन । ‘राजनीतिक पहुँचको आधारमा रेफ्रीको लाइसेन्स नवीकरण नगरेको र कराते खेलमा सक्रिय सहभागिता नभएका व्यक्तिलाई कराते प्रतियोगिताको संयोजक बनाउनु खेलकुद क्षेत्रमाथिको ठूलो प्रहार हो,’ लिम्बुले भने ।

यसै कारण महासंघले आफ्नो संस्थासँग आबद्ध सम्पूर्ण कराते खेलाडी, प्रशिक्षक, रेफ्री तथा अफिसियलहरूलाई उक्त प्रतियोगितामा सहभागी नहुन कडा निर्देशन जारी गरेको छ ।
‘यदि प्रदेश सरकारले आधिकारिक नेपाल कराते महासंघसँग समन्वय गरेर प्रतियोगिता सञ्चालन गर्न चाहेमा मात्र हामी सहकार्य गर्न तयार छौं । अन्यथा यस अपमानजनक कार्यको विरुद्धमा हामी थप कडा कदम चाल्न बाध्य हुनेछौं,’ लिम्बुले चेतावनी दिए ।
महोत्सवको औपचारिक उद्घाटन कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले गरेका थिए । यस महोत्सवमा प्रदेशस्तरीय महिला फुटबल, महिला तथा पुरुष दौड, कब्बड्डी, भेट्रान बाघचाल, टेबलटेनिस, बुद्धिचाल, तेक्वान्दो, सफ्टटेनिस र डोरीतान लगायतका खेलकुद प्रतियोगिताहरू समावेश छन् ।
प्रदेश खेलकुद विकास बोर्डले यस विवादबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । तर यो घटनाले प्रदेशको पहिलो आधिकारिक खेलकुद महोत्सवमा नकारात्मक प्रभाव पार्ने निश्चित छ । ‘खेलकुद प्रतियोगिताहरूमा पारदर्शिता र नियमको पालना हुनु अत्यन्त आवश्यक छ, र यस्ता विवादले नयाँ प्रतिभाहरूको विकासमा असर पार्न सक्छ । यो विवादले प्रदेश स्तरमा खेलकुदको व्यवस्थापन र समन्वयमा देखिएको कमजोरीलाई उजागर गरेको छ । आउँदा दिनहरूमा यस्ता समस्याहरू समाधान गर्न सम्बन्धित निकायहरूबीच बढी समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता छ,’ उनले भने ।
