विराटनगर । प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई कोशी प्रदेशसभाले दफावार छलफलका लागि न्याय प्रशासन तथा विधायन समितिमा पठाएको छ ।
विधेयकमाथि १२ वटा संशोधन प्रस्ताव दर्ता भएपछि सरकारले उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको हो । शुक्रबार बसेको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले विधेयकलाई दफावार छलफलका लागि न्याय प्रशासन तथा विधायन समितिमा पठाउने प्रस्ताव गरेका थिए । मन्त्री भण्डारीको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएपछि उक्त विधेयकमाथि अब समितिमै छलफल हुने छ ।
समितिमा विधेयक पठाउने प्रस्ताव गर्नुअघि मन्त्री भण्डारीले संशोधन प्रस्ताव दर्ता भएको अवस्थामा समितिमा दफावार छलफलका लागि पठाउन सरकारलाई आपत्ति नभएको यस अघि नै आफूले बताएको स्मरण गरेका थिए । उनले विधेयकलाई अझ समृद्ध र राम्रो बनाउन समितिमा सरोकारवालाहरुसँग पनि छलफल हुने र सरकारमा पनि समितिमै रहने बताए ।
विधेयकमाथि एउटा संयुक्त र ११ वटा एकल गरी जम्मा १२ वटा संशोधन प्रस्ताव दर्ता भएको थियो । ती संशोधन प्रस्तावमाछि संसदमा छलफल गरेपछि मात्र समितिमा पठाउने परम्परा भएपनि यस विधेयकलाई भने संशोधनमाथि कुन छलफल नगरी सोझै समितिमा पठाइएको हो ।