विराटनगर । पाँच कारोबार दिनपछि मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । गत मंगलबारदेखि घट्न थालेको बजारले हिजो (सोमबार) सम्म निरन्तरता पाएको थियो ।
मंगलबार भने नेप्से ६.५४ अंकले बढेर २६८३.८६ विन्दुमा बन्द भएको छ । यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ । गत कारोबार दिन अर्थात् सोमबार ६ अर्ब ९६ करोडको कारोबार भएकोमा मंगलबार सात अर्ब २० करोडको सेयर कारोबार भएको छ ।
मंगलबार २९९ वटा धितोपत्रको एक करोड ३९ लाख आठ हजार ७८४ कित्ता सेयर किनबेच भएको हो । मंगलबार १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९८ वटाको घटेको छ । यस्तै ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।यसदिन सिक्लेस हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ । कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः एक हजार ३५८ रूपैयाँ ५० पैसा र एक हजार १८७ रूपैयाँ पुगेको छ । यस्तै, गार्डियन माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४०० रूपैयाँ ६० पैसा कायम भएको छ ।
मंगलबार भूगोल इनर्जीको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । कम्पनीको प्रतिकित्ता मूल्य ८४९ रूपैयाँमा झरेको छ । उपकार लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.२९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य पाँच हजार २०० रूपैयाँ कायम भएको छ ।
मंगलबार सिइडिबी होल्डिङ्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार १०० रूपैयाँमा ३५ करोड ४७ लाख रूपैयाँको सेयर कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा न्यादी हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ८०५ रूपैयाँमा ३३ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ । यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशतले बढेको छ । यस्तै, व्यापार समूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशतले घटेको छ ।