लोड हुँदैछ...

मेनु

कानूनको शासनमाथि हमला

कानूनको शासनमाथि हमला

कोशी प्रदेश खेलकुद विकास बोर्डले उच्च अदालत विराटनगरको आदेश उल्लंघन गर्दै मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नयाँ नियुक्ति गरेपछि उठेको विवाद गम्भीर छ । यो घटनाले न्यायपालिकाको आदेशको अवज्ञा मात्र होइन, कानूनको शासनमाथि नै प्रश्न खडा गरेको छ । राज्यका निकायहरू आफैंले अदालतको आदेशको पालना नगर्ने हो भने साधारण नागरिकले न्यायप्रति विश्वास कसरी गर्ने भन्ने प्रश्न खडा भएको छ । इन्द्रकुमार योञ्जन तामाङलाई २०८० साल चैत २३ गते चार वर्षका लागि मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गरिएको थियो । तर, २०८१ भदौ ४ गते सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले उनलाई निलम्बन गरे । त्यसविरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर भएपछि अदालतले भदौ १२ गते अन्तरिम आदेश दिँदै उनलाई काम गर्न दिन भनेको थियो ।

अदालतको आदेश कार्यान्वयन नगरी अहिले उल्टै खेलकुद क्षेत्रसँग कुनै सम्बन्ध नभएका नेकपा (एमाले) का जिल्ला सदस्य सुरजबहादुर श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरियो । यस कदमले केवल अदालतको आदेशको अवहेलना मात्र गरेको छैन, खेलकुद संस्थाहरूमा राजनीतिक हस्तक्षेपको झलकसमेत देखाएको छ । खेलकुद विकास समिति जस्तो संस्थामा समेत राजनीतिक हस्तक्षेप हुनु दुःखद वास्तविकता हो । प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष एवं सामाजिक विकास मन्त्री पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको थियो । यसले देखाउँछ कि खेलकुद क्षेत्रलाई पनि राजनीतिक प्रभावमा पार्न खोजिएको छ । यो कुनै नौलो कुरा होइन । सरकारी नियुक्तिहरूलाई आफ्नो दलगत स्वार्थअनुसार भर्ना गर्ने प्रवृत्ति लामो समयदेखि चल्दै आएको छ । तर, जब यस्ता नियुक्ति न्यायालयको आदेशविपरीत गरिन्छन् । तब त्यो कानूनको शासनको उपहास हुन्छ ।

न्यायालयको आदेशको उल्लंघन गर्नेहरूमाथि कारबाही हुन आवश्यक छ । अदालतले कोशी प्रदेश खेलकुद विकास बोर्डलाई अवहेलनामा ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । यस घटनालाई सामान्य रूपमा लिएर छोड्ने हो भने भविष्यमा राज्य संयन्त्रहरू अदालतको आदेशको पालना गर्न अझ लापरबाही गर्नेछन् । न्यायपालिकाले कठोर कदम नचालेमा यो प्रवृत्ति अझ बढ्नेछ । सार्वजनिक संस्थाहरूको मर्यादा जोगाउन तथा कानूनी शासनको रक्षा गर्न अदालतले आफ्नो आदेश कार्यान्वयन गराउने दिशामा अघि बढ्नुपर्छ । यो घटनाले प्रशासनिक निर्णयहरूमा भइरहेको राजनीतिक हस्तक्षेपलाई उदांगो बनाएको छ । साथै, यसले न्यायपालिकाको आदेशलाई सरकारले नै बेवास्ता गर्न थालेको गम्भीर प्रश्न खडा गरेको छ । यदि न्यायालयको आदेश कार्यान्वयन हुन सकेन भने कानूनी शासनको औचित्य नै समाप्त हुनेछ । त्यसैले, अदालतले मामिलाको निरुपण गर्दै दोषीहरूलाई कारबाही गर्ने विश्वास गर्न सकिन्छ । लोकतान्त्रिक शासन प्रणाली बलियो बनाउन न्यायालयको आदेशको पालना अनिवार्य हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।