‘काँग्रेस लार्जेस्ट पार्टी भएपनि कामले दोस्रो स्थानमा छ’

 डा. शेखर कोइराला

हामीले हतारमा संविधान बनाएजस्तो लाग्छ । छलफल हामीले गरेनौं । सबै धारा पढेर सुनाइदियो । पास भन्यो पास भन्यौं । कुनै छलफल भएको छैन । म दुई तीनवटा घटना पनि सम्झन्छु । म ड्राफ्टिङ कमिटीमा थिएँ । त्यहाँ साँझ ६÷७ बजेतिर ६ वटा प्रदेश बनाउने भनेर निर्णय भयो । भोलीपल्ट बिहान फेरि ड्राफ्टिङ कमिटीको बैठक थियो । बिहान जाँदा ७ वटा प्रदेश बनिसकेछ । कसले बनायो, किन बनायो ? के भयो भन्दा सुर्खेतमा तीन जना व्यक्ति मर्नुभयो भन्ने आयो । यही हो । ड्राफ्टिङ कमिटीमा हामीलाई रिपोर्ट गरेको कुरा यही हो । सुदूरपश्चिम र कर्णाली प्रदेशलाई एउटै प्रदेश बनाउने थियो । तर, त्यहाँ मिलेन । मैले त्यहाँ चाहिँ हस्ताक्षर गर्दिन भनेर हस्ताक्षर गरिन ।

अर्को कुरा पनि छ । हामी संविधानसभाबाट संविधान बनाउँदै थियौं । त्यो संविधान बनाउँदाखेरि सबै सांसदलाई सकेसम्म आफ्नै क्षेत्रमा सुझाव लिने पठाइयो । म आफ्नै क्षेत्रमा आएँ । त्यहाँ संविधानका कुराहरु के के राख्नुपर्छ भनेर तीन दिनको कार्यक्रम चलाएका थियौं । धेरै नागरिकले आ–आफ्ना विचार पनि राख्नु भयो । त्यो पोका अहिलेसम्म खुलेको छैन । त्यो पोका खुलाउनलाई कुनै पनि अधिवक्ताहरु तयार छैनन् । रमाइलो छ । किन खुलेको छैन ? किन खोल्न चाहँदैनन् ? मैले बुझ्न सकेको छैन । आजसम्म म पटक पटक अधिवक्ताहरुलाई भनिरहेको छु । तपाईहरुले रिट हाल्नुहोस् न हेरौं के हुँदोरहेछ । अदालतले खोल्नु पर्दैन भन्ने हो कि के हो ? त्यसमा यस्ता यस्ता कुरा छन् । त्यहाँ तपाईहरुले कल्पना गरेको भन्दा फरक छ । यहीँ पनि वादविवाद भयो प्रदेशको कुरा, धर्मको कुरा, राजाको कुरा । धेरै कुरा यस्ता थिए जो कि हामीले सोचेको भन्दा हामीले संविधान भिन्न बनायौं कि भन्ने लाग्छ । मैले आफ्नो क्षेत्रको मात्रै कुरा गर्दैछौं । हामीले भन्दाभन्दा थाकिसक्यौं । कानून व्यवसायी साथीहरु हुनुहुन्छ उहाँहरूले अब गर्नुहोला कि म आशावादी छु ।

तेस्रो कुरा म संविधानसभाको सदस्य पनि थिएँ । आदिवासी जनजाति, मधेशीका सांसदहरु मसँग आए । उनीहरुले भने हाम्रा तीनजना नेताहरुसँगै राखेर कुरा गर्छौं भन्नुभयो । ती तीन जना भनेको सुशील कोइराला प्रधानमन्त्री र सभापति पनि हुनुहुन्थ्यो । अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलजी र अहिलेका सभापति शेरबहादुर देउवाजी हुनुहुन्थ्यो । उहाँहरुलाई एकै ठाउँमा राखेर कुरा गर्ने भन्नुभयो । मैले तीनै जनासँग एक्लाएक्लै कुरा गरेर सांसदहरुले कुरा गर्न खोज्नु भएको छ भने । तर, उहाँहरुले मान्नु भएन । उहाँहरुले बुझिसक्नु भएको थियो होला सायद । मैले भने, तपाईहरु मान्नुहुन्छ भने मसित बस्नुहोस् म तपाईहरुको कुरा उहाँहरुकोमा पुर्याइदिन्छु वा चित्त बुझेन भने तपाईले भनेका कुराहरु संसदमा दर्ज गर्छु भने । संविधानसभाको कुरा थियो ।

उहाँहरुसँग म १२ घण्टा बसेँ । बिहान ८ बजेदेखि राती ८ बजेसम्म । सांसदहरु नै हुनुहुन्थ्यो उहाँहरु । उहाँहरुले धेरै कुराहरु दिनुभयो । अहिलेको संविधान दोस्रो संशोधनको कुरा भइरहेको छ नि त्यसैको उपज हो । त्यो १२ घण्टाको उपज हो भन्ने मलाई लाग्छ । त्यसपछि के भयो भने मैले तीन नेता राखेर कुरा गर्न खोज्दा स्वीकार गर्नुभएन । ह्वीप लाग्ने कुरा पनि थियो । मैले संविधानविद् र बरिष्ठ दाईहरुसँग सोधे ह्वीप लाग्छ कि लाग्दैन भनेर । संविधान सभामा ह्वीप लाग्दैन भनेपछि मैले संशोधन हालें । संशोधन हालेपछि नेपाली काँग्रेसमा हंगामा भयो । त्यसपछि बालुवाटारमा तीन जनै नेताले मलाई बोलाउनु भयो । दुई जना नेता त अहिले पनि हुनुहुन्छ बाँचेकै । अरुले त त्यति बेसरी भन्नु भएन अलिक कडै तरिकाले सुशील दाले मलाई त्यो फिर्ता लेउ भनेर कराउनु भयो । मैले पनि यो के गर्न खोजेको मलाई निकाल्न खोजेको ? म तिजेर आएको सांसद हुँ कसरी निकाल्न सक्नुहुन्छ भनेर मैले भने । निकाल्नु भयो भने पनि स्वतन्त्र ढंगले सांसदको रुपमा बस्छु, आफ्नो कुरा राख्छु भने । अनि मैले रोष्टममा उभिएर बोलें पनि आफ्ना मतहरु दर्ज पनि गरें । तर, मैले यो भन्नैपर्ने भयो । नेपाली काँग्रेसका सांसदहरु कस्ता रहेछन् भनेर । साथीहरुलाई मैले यो पास हुँदैन भन्ने तपाईहरुलाई पनि थाहा छ । मलाई पनि थाहा छ । तर, हामी लडाई लड्ने हो संविधानको लागि भनेको थिएँ । उहाँहरुले के गर्ने त ? भन्नुभयो । मैले म बोलेपछि थप्पडी बजाउनु भनेको थिएँ । तर, बोलेको बेलामा एक जना प्रदिप गिरीले मात्रै थप्पडी बजाउनु भयो । त्यसपछि मलाई रिस उठ्यो । भएछ के भने तीनै जना नेताले आफ्ना आफ्ना सांसदलाई बोलाएर शेखरले बोलेको कुरामा तिमिहरुले सपोर्ट नगर्नु है भन्नुभएको रहेछ । अहिले मलाई थाहा भयो । संसद त्यसरी चल्दोरहेछ भन्ने अनुभव मलाई भयो । त्यसपछि प्रदिप दाई र मेरो आफ्नै सम्पर्क, सम्बन्ध थियो । यही कुरालाई प्रदिप दाईले बोल्न खोज्दाखेरि मार्सल लगाएर सुवास नेम्वाङ जीले हाउसबाट बाहिर निकाल्नु भएको छ । उहाँसँग निस्कने म मात्रै थिएँ । त्यसरी संविधान बनेको थियो । कति गाह्रो थियो, कति अप्ठ्रो थियो । कति चित्त नबुझेको थियो हामीलाई । तर, हामीले दबाब दिँदा दिँदै पनि पार्टीबाट पनि विरोधका कुराहरु आउन थाले । अरु पार्टीबाट त आउने नै थियो त्यो स्वभाविक थियो । अहिले यो संविधान किन संशोधनको कुरा आयो ? किन पुनरावलोकनको कुरा आइरहेको छ ? १० वर्षमा गर्नुपर्छ भनेर संविधानमा नै लेखिएको छ । के कारण हो ? यसका चुनौतिहरु के छन् भन्ने कुरा धेरै आइसकेको छ । भाषादेखि धेरै कुराहरु सुधार गर्नुपर्ने छ ।

अर्को प्रसंग नेपाली काँग्रेस र माओवादी मिलेर ७९ सालमा चुनाव लड्यौं । सरकार एमाले र माओवादीको बन्यो । त्यसको दुई महिनापछि काँग्रेस र माओवादीको सरकार बन्यो । त्यसपछि फेरि एमाले र माओवादीको बन्यो । अहिले काँग्रेस र एमालेको बनेको छ । दुर्भाग्य के भएको छ भने नेपाली काँग्रेस लार्जेस्ट पार्टी छ । तर, अहिले हामीहरु सेकेण्ड पार्टीको रुपमा हामी काम गरिरहेका छौं । यो सत्य हो । यो कुरालाई हामीले भन्न सक्नुपर्छ । कुनै ठाउँमा पनि हामी पहिलो छैनौं । प्रधानमन्त्री, अर्थमन्त्री, राष्ट्र बैंकको गर्भनर, योजना आयोगको उपाध्यक्ष, लगानी बोर्डको अध्यक्ष, सम्पत्ती शुद्धीकरण सबै कम्युनिष्टहरुको हातमा छ । काँग्रेस बोल्न सकिरहेको छैन । किन बोल्न सकिरहेको छैन ? हामीले बोल्नु पर्ने हो कि होइन ? काँग्रेस किन चुप छ ? नेपाली काँग्रेस खराब होला तर, देशलाई बिग्रन चाहिँ दिँदैन भन्ने बुझ्न जरुरी छ । नसकौंला, तर देशलाई ऋण लिइ देश चलाउन हामी दिँदैनौं । गर्दैनौं ।

दुई–दुई महिना, चार चार महिना, छ छ महिनामा सरकार परिवर्तन भयो । अहिले पनि चर्चा छ । तर, मलाई अहिले परिवर्तन हुन्छ भन्ने लाग्दैन । काँग्रेस लार्जेष्ट पार्टी हो किन चिन्ता गर्ने १७ महिना १८ महिना पछि आफ्नो हातमा सरकार आइहाल्छ भन्ने लागेको होला त्यो आफ्नो ठाउँमा छ । तर, किन यो हुुनपर्यो भन्दाखेरि काँग्रेस र एमालेले खासगरी तीनवटा बुँदामा निर्णय गरेको छ । एउटा संविधानमा पुनरावलोकन, संशोधन भने पनि भयो । अर्को आर्थिक सुधार, आर्थिक विकास र अर्को सुशासन र भ्रष्टाचारमुक्त समाजको लागि हामीहरु सहमति गरेको हो । ७ वटा सहमति भएपनि मेन कुरा यही हो । एकातिर संसदको रोष्ट्रममा बसेर प्रधानमन्त्रीले यो कुरा भन्नु भयो । अर्कोतिर प्रधानमन्त्रीले नै भन्दै हुनुहुन्छ ८७ सालमा संशोधन गर्ने । संविधान भन्ने कुरा एमालेको वा काँग्रेसको मात्रै होइन । अरु पार्टी र जनता छैनन् ? संविधान उनीहरुको होइन ? नेपाली काँग्रेस र एमालेको तीन चौथाई भोट भए पनि पुग्यो ? जस्तो संविधान बनाए पनि हुन्छ ? हुँदैन । त्यो गलत कुरा हो । २०८७ साल किन कुर्नुपर्यो । उहाँको दिमागमा के होला भने राष्ट्रियसभामा हामीहरुको बहुमत छैन भन्ने न होला । किन पुग्नु पर्यो बहुमत ? कन्भेन्स गरौं न माओवादीलाई पनि, रास्वपा, राप्रपालाई पनि कन्भेन्स गरौं । उनीहरुको पनि केही कुरा होलान् समेटौं । अगाडि बढौं । त्यसरी पो संविधान बन्छ । जसरी हामीले २०७२ सालमा संविधान बनायौं । त्यसैगरी संविधान संशोधन गर्न खोजिरहेका छौं त्यो गलत छ । त्यसले ठिक ठाउँमा लग्दैन ।

यस विषयमा ओलीजीसँग कुरा भएको छ । अरुको पनि कुरा भएकोे छ । कुरा गर्दा मैले के पाएँ भने निर्वाचन प्रणालीलाई उहाँले अलिकति बेसी चासो राखेको पाएँ । मलाई पनि निर्वाचन प्रणाली हामीहरुको भएन भन्ने लागेको छ । अहिले प्रतिनिधिसभामा २७५ सांसद छन् । राष्ट्रियसभामा ५६ छ । त्यो संख्या राख्ने भएपनि राखौं । घटाउने भएपनि घटाऔं । तर, महिलालाई ३३ प्रतिशत सिट चुनाव लड्ने हिसावले देशैभरी रोटेसनमा राखौं । दलित १४ प्रतिशत भनिएको छ । त्यही हिसावले रोटेशनबाट दलितहरुकै बीचमा चुनाव लड्ने व्यवस्था गरौं । महिला महिला लड्ने व्यवस्था गरौं । यो दुईवटा कुरालाई गरिसकेपछि जनजाति आउँछन्, मधेशका होलान् । मधेशमा मधेशीलाई टिकट नदिएर हामीले टिकट लियौं भने के हाल हुन्छ भन्ने त देखिरहेकै छौं । मधेशका ३२ वटामा पहाडेले जितेको केही ठाउँमा मात्रै होला । यो के गर्दा हुन्छ भनेर एक्स्पोर्टहरुले गर्नुपर्छ । हामीले आइडिया मात्रै दिने हो । यसरी गर्यौं भने निर्वाचनबारे धेरै समस्याहरु समाधान हुनसक्छ भन्ने लाग्छ ।

यस्तै न्यायपरिषदको कुरा, न्यायलयको कुरा पनि बिग्रदै गएको छ । अत्यन्त बिडम्बना छ । खासगरी ०६२/६३ को आन्दोलनपछि न्यायपालिकामा या कहिँ पनि यो भागबण्डाले गर्दा न्यायाधीश पनि कसको भागमा पर्यो भनेपछि तपाईले थाहा पाउनु हुन्छ कस्तो रिजल्ट आउँछ भन्ने । पहिले पहिले हामीले बुझेनौं । अहिले बुझ्ने भएका छौं । त्यो अवस्थाबाट देश गइरहेको छ र न्यायपालिका जबसम्म स्वतन्त्र हुनुपर्छ । बरु राजाको कार्यकालमा शाही आयोग खारेज गरेको होइन अदालतले ? त्यत्रो राजा ज्ञानेन्द्रको जगजगी भएको बेलामा ? शाही आयोग खारेज गर्ने त न्यायाधीश नै हुनुहुन्थ्यो नि त । अहिले त्यो आँट उहाँहरुको छैन । त्यो आँट किन भएन ? मैले दुई तीनवटा कुरामा विरोध गरिरहेको छु । एउटा कुरा खिलराज रेग्मीलाई मन्त्रीपरिषदको अध्यक्ष बनाउनु हुँदैन भनेर भनेको थिएँ । तर, सुनिएन । अर्को कुरा प्रधानन्यायाधीश सुशीला कार्कीलाई के इस्यो आयो ? कसलाई अलिकति इन्डिकेट गर्ने भन्ने कुरा आयो । अनि प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने भन्ने भयो । उहाँहरुले हस्ताक्षर पनि गर्नुभयो । तर, मैले म गर्दिन भने । मैले गरिन । यो किन भनिरहेको छु भने हामीहरु सांसदहरुले ह्वीप मान्नुपर्छ, ह्वीप मान्ने भनेको एकदम गलत कुरामा पनि तिमी गरिराख भनेर भन्न खोजियो भने त्यो एसेप्ट हुँदैन । त्यो कदापि हुँदैन । इन्दिरा राना मगर अहिले उपसभामुख हुनुहुन्छ । उहाँलाई हटाएर नेपाली काँग्रेसको उपसभामुख बनाउने भन्ने कुरा आयो । मैले मानिन । मैले आफ्ना साथीहरुलाई पनि हस्ताक्षर नगर भने । पहिले नै हामीले सोच्नु पथ्र्यो नि त । संवैधानिक परिषदमा हाम्रो मानिसहरु हुन्छन् कि हुँदैन भन्ने त सुरुमै सोच्नु पथ्र्यो नि त । अनि बिचमा आएर काँग्रेसले भन्ने ? यस्ता कुराले भोली देशलाई दुरगामी असर गर्छ । क्षणिकलाई ठिक होला ? काँग्रेसको कोही छैन त्यहाँ काँग्रेसको प्रतिनिधि होला । त्यो क्षणिकको लागि आफ्नो इमान नै बेचिदिने ? काँग्रेसको इमान के हो ? काँग्रेसको कोर भ्याल्यु के हो ? जुन बिपी कोइरालाले बनाएको कोर भ्यालु हो त्यो अहिले ह्रास आइरहेको छ भन्ने मलाई चिन्ता छ । त्यो हुन दिनुहुँदैन ।

अहिले अध्यादेश आयो । अध्यादेशमा हाम्रा साथीहरुले भन्नुहुन्छ त्यो संविधानमा लेखेको छ ल्याउन पाइन्छ । ए बाबा त्यो भनेको देशै नचल्ने अवस्था भयो भने पो अध्यादेश ल्याउने हो त । जे मा पनि अध्यादेश ल्याइदिने ? त्यसको औचित्य पुष्टि गर्नुपर्छ कि पर्दैन ? नेपाली काँग्रेस र एमालेको सरकार छ । काँग्रेसभित्र विवादहरु छ । त्यो विवादमा छलफल गर्नुपर्छ कि पर्दैन ? नेपाली काँग्रेसको कार्यसमिति छ । छलफल गर्नुपर्छ कि पर्दैन ? दुई जना चार जना बस्ने अनि ओलीजीले प्रधानमन्त्रीले भन्नुभयो अध्यादेश ल्याउन अनि ल्याइदिने ? देश त्यसरी चल्दैन । पहिले पुष्टि गर्नुपर्यो नि । त्यो नभइ नहुने के छ अहिले ? राम्रै कुरा होला कन्टेन्टमा म जान्न । तर, गलत बाटोमा जानु भएन नि । अब अध्यादेशको विरोध होइन त्यो प्रक्रिया र तरिकाको विरोध हो । नेपाली काँग्रेसलाई थाहा नै छैन । चार जना बस्नु भयो अध्यादेश ल्याइदिनु भयो । ओलीजीले भन्नुभयो सभापतिले मान्दिनु भयो । त्यो तरिकाले पार्टी पनि चल्दैन । संसदमा विरोध हुन्छ । यो कुरालाई हामीले बुझ्न सक्नुपर्छ । यो कुरालाई हामीले मनन् गर्न सकेनौं भने हामी बिग्रिन्छौं । काँग्रेसले कोर भ्यालुलाई छोडिरहेको छ । यो कुरा अत्यन्त गम्भीर भएर बुझ्नु पर्छ । सामाजिक संजाल विधेयकको बारेमा पनि अहिले कुरा आइरहेको छ । अभिव्यक्ति स्वतन्त्रताको बारेमा हामीले अगाडि बढ्नु पर्छ । सरकारले के सोचेर ल्याएको हो मलाई थाहा छैन । तर, त्यसलाई नियन्त्रण गर्ने हो कि नियमन गर्ने हो । नियमन गर्ने हो भने ठिक छ । नियन्त्रण गर्न चाहिँ पाइँदैन । जुन सरकारको सोच चाहिँ नियन्त्रण गर्ने खालको छ । त्यता जान हुँदैन । हामीले त्यसको विरोध गर्नुपर्छ ।

यसै शिलशिलामा संविधानको पुनरावलोकन भनौं । के भनौं तपाईहरुलाई धेरै कुरा लागेको होला । धेरै कुरामा छलफल थाल्यौं भने संशोधन हुन गाह्रो हुन्छ । न्यूनतम के के कुरा गर्नै पर्ने छ त्यो मात्रै कुरा गरौं । एउटा भाषाको कुरा मिलाउनु पर्न । पढ्दा मलाई पनि के लेखेको होला जस्तो लाग्छ । समानुपातिक समावेशी चरित्रको संविधानलाई बचाइकन हामीले बहुमत कसरी आउनसक्छ त्यतातिर ध्यान दिनुपर्ने हुन्छ । त्यस्तै अर्को कुरा जिल्ला समन्वय समिति किन चाहियो । हटाए हुन्छ । उपराष्ट्रपति त अमेरिकामा पनि छ । तर, उसलाई अपर हाउसमा हेड हुन्छ । भारतमा पनि त्यस्तै छ । हाम्रोमा पनि त्यस्तै राख्दा हुन्छ । एक जनाको खर्च त कम हुन्छ । राष्ट्रियसभाको अध्यक्ष उपराष्ट्रपति बनाउँदा हुन्छ ।

प्रदेश चाहिन्छ भन्ने मान्छे हुँ म । तर, प्रदेशलाई अधिकार दिएर त्यो अधिकार पनि प्रयोग गर्न सकेन भने पो हामीले प्रदेशबारे असहमति राख्नु पर्यो । अहिले त अधिकार नै दिएको छैन । प्रहरी दिएको छैन । कर्मचारी सरुवा गर्ने अधिकार पनि छैन । खटन–पटन माथिबाटै भइरहेको छ । प्रदेशलाई अधिकार नै दिएको छैन । अधिकार दिएर पनि काम दिएन भने कन्ट्रोल गर्नुपर्छ । प्रदेशको मन्त्रीमण्डल धेरै भए भन्ने छ त्यसमा कम सकिन्छ । त्यसकारण प्रदेश चाहिँ चाहिन्छ ।

स्थानीय निकाय कसरी बन्यो भन्ने विषयमा म त्यो पनि बनाउँछु । कपि पेष्ट जस्तो लाग्छ मलाई । युरोपियन युनियनको कपिपेष्ट गरेर स्थानीय निकाय राखेको छ । ठिकै छ । तर, युरोपियनका देशहरुमा संघीयता छैन । जुन ठाउँमा संघीयता छैन त्यही ठाउँको स्थानीय निकाय लिएको छ । अनि यहाँ संघीयता राखेपछि अवस्था के हुन्छ ? त्यो हामीहरुले मिसम्याच भयो । कपि पेष्ट गरेको छ । ठ्याक्कै कपिपेष्ट गरेको छ । यो कुरालाई तपाईहरुले अब छलफल गर्दा ध्यान दिनुपर्छ ।

शिक्षाको विषयमा पनि धेरै कुरा आएका छन् । पाठ्यक्रम कुनै पनि हालतमा नेपाल जस्तो देशमा तल दिनु हुँदैन भन्ने मेरो मान्यता हो । त्यसमा कुनै कन्फ्युजन राख्नै हुँदैन । कसलाई दिने हो प्रदेशलाई दिने कि केन्द्रलाई भन्ने कुरा छलफलको विषय हो । मलाई चाहिँ केन्द्रले नै लिनुपर्छ भन्ने लाग्छ । शिक्षा नै यस्तो कुरा हो जसले भोली देशलाई सभ्य बनाउँछ । शिक्षित बनाउँछ । धेरै कुराहरु संविधानमा संशोधन गर्नुपर्ने छ । हतारमा बनायौं । सरी फर द््याट । म तपाईहरुसँग क्षमा माग्छु । म पनि ड्राफ्टिङ कमिटीको मान्छे भएकोले क्षमा माग्न त पाइन्छ । कहिल्ःयै यस खालको छलफल भएको थिएन । भएको भए पहिले नै क्षमा माग्थें होला । आज छलफल भयो । अब कसरी सपार्ने भन्ने तिर जाऔं । यसलाई रिफर्म गर्ने कि हटाउने भन्ने विषय पनि बहसमा छ । हटाउने तिर होइन रिफर्म गरेर अगाडि जाऔं । रिफर्म गर्ने प्रसस्त ठाउँ छ । त्यसरी अगाडि बढ्यौं भने तपाई हामीले सोचेको जस्तो देश हामी बनाउन सक्छौं भन्ने मलाई लाग्छ ।

०००
– विराटनगरमा बिहीबार नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन र नेपाली काँग्रेसको पेशागत तथा बुद्धिजीवि विभागले आयोजना गरेको संविधान संशोधन, आवश्यकता र चुनौति विषयक अन्तरक्रियामा कोइरालाले व्यक्त गरेको विचार ।

शुक्रबार, १८ माघ, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर