अदालतको आदेशसँगै ऋषिकेशका स्वकीयमाथि प्रहरीले थाल्यो अनुसन्धान

विराटनगर । ठगी गरी अपराधिक लाभ लिएको आरोप लागेको नेकपा एमाले मोरङका सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध मोरङ प्रहरीले अनुसन्धान थालेको छ ।

उच्च अदालत विराटनगरले पोखरेलविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन फैसाला गरेको पत्र आइतबार मोरङ प्रहरीले बुझेसँगै अनुसन्धान अगाडि बढेको हो ।

उच्च अदालतले गरेको फैसला लिएर अदालतका कर्मचारी आइतबार दिउँसो मोरङ प्रहरीमा पुगेका थिए । प्रहरीमा जाहेरीकर्ता पीडित बौआलाल चौधरी पनि गएका थिए । प्रहरीले अदालतको फैसला बुझेसँगै अनुसन्धानको प्रक्रिया अगाडि बढेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

‘हामीसँग उच्च अदालतले गरेको फैसला आइपुगेको छ ,’ डिएसपी जोशीले भने, ‘घटना विषयमा अनुसन्धान सुरु भएको छ । पीडितसँग पनि कुरा भएको छ ।’ चलानी नम्बर ६४०७ को पत्रमार्फत अदालतले फैसलाको जानकारी प्रहरीलाई गराएको हो । ‘उपरोक्त विषयमा निवेदक बौआलाल चौधरी विपक्षी तहाँ कार्यालय समेत परमादेश रिट निवेदनमा मिति २०८१÷०५÷३१ मा भएको फैसलाको प्रमाणित प्रतिलिपि यसै पत्र साथ पठाइएको छ । अत्तः आदेशानुसार गर्नुहुन अनुरोध छ’, अदालतले पठाएको पत्रमा उल्लेख छ ।

नेकपा एमालेका सांसद रहेका लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । त्यसविषयको समाचार हाम्रोमतले प्रकाशन गरेपछि ऋषिकेशले उनलाई पदबाट हटाएका छन् ।

वरिष्ठ कृषि प्रसार अधिकृतबाट अवकासप्राप्त सप्तरी घर भएका बैआलाल चौधरीको छोरीलाई एमबीबीएसमा नाम निकालिदिने भनेर विश्वासमा पारी २०७१ देखि २०७३ सम्म अनिलले ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए । सो रकम लिएपछि चेकको अर्धकट्टीमा हस्ताक्षर गरेर बैआलालको छोरीलाई नाम निकाल्न रकम लिएको उनलै प्रमाणित गरेको पाइएको छ ।

छोरीको नाम एमबीबीएसमा नस्किेपछि पैसा फिर्ता माग्दा उल्टै अनिलले उल्टै बोलाएर २०७४ असार २५ गते आइतबारको मिति राखेर कपाली तमसुक बनाई आफूलाई ५० लाखको ऋणी बनाएको पीीडतको भनाइ छ । बौआलाल ५० लाख ऋणको लिखत बदर गरी आफ्नो ३८ लाख ८० हजार रकम फिर्ता गराइदिन र अनिलमाथि कानुनी कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय रंगेली, जिल्ला प्रहरी कार्यालय मोरङ र सरकारी वकिलको कार्यालय पुगेका थिए । तर, जाहेरी दर्ता नभएपछि उनी अदालतमा रिट लिएर गएका थिए ।

उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी वज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले भदौ ३१ गते अनिलविरुद्ध जाहेरी दर्ता गरी कानुन अनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको थियो । आदेशको पुस ११ गते प्रमाणिकरण भएपछि अदालतले प्रहरीमा पत्र पठाएको हो ।

आइतबार, २१ पुष, २०८१, साँझको ०६:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर