काठमाडौ । नेकपा एमालेको केन्द्रीय समिति बैठक आजदेखि बस्दै छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।
बैठकमा पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिकसहित कांग्रेससँगको सहकार्यका विषयमा पनि फलफल गरिने जनाइएको छ ।
साथै, सरकार गठनयता ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबीच पार्टीलाई कसरी अघि बढाउने विषयमा केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्नेछन् ।
यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकामा यस पटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय उपलब्ध गराउने तयारी गरिएको छ ।
अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका ‘एजेण्डा’मा ठोस धारणा तय गर्ने बताइएको छ ।