विराटनगर । अङ्ग्रेजी नयाँ वर्ष मनाउनकै लागि बुधबार एकै दिनमा कोशी प्रदेशमा भारतबाट झण्डै ६ सय भारतीय सवारी साधन नेपाल प्रवेश गरेका छन् ।अंग्रेजी नयाँ वर्ष मनाउन यतिठूलो संख्यामा भारतको बिहारका पर्यटकहरुको नेपाल ओइरिएका हुन् । बिहारमा मदिरा बिक्री वितरणमा रोक लागेको छ । उनीहरु मदिरा सेवनसँगै नयाँ वर्ष मनाउन नेपाल प्रवेश गरेका हुन् ।
नयाँ वर्ष मनाउन विराटनगरको सिमावर्ती बजार रानी, झापाको काँकडभिट्टा, इलामको पशुपतिनगर, सुनसरीको भाण्डाबारी हुँदै इलामको फिक्कल, कन्याम, धनकुटाको भेडेटार, हिलेसम्म पनि पर्यटक पुगेको प्रहरीको दाबी छ । यस्तै विराटनगर, इटहरी तथा काँकडभिट्टा, दमक, विर्तामोडका बजारहरुमा पनि भारतीयको चहलपहल बढेको छ ।
ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार सुनसरीबाट सबैभन्दा धेरै ४ सयवटा भारतीय सवारी साधन नेपाल भित्रिएका छन् । यस्तै मोरङबाट १३९, झापाबाट २२ र इलामबाट २१ वटा सवारी साधन नेपाल भित्रिएको हो ।
कोशी ब्यारेजमा पूर्णिमाको दिन ठूलो मेला लाग्ने भएकाले भारदह, मधवापुरलगायतका रहेका आफ्ना आफन्तको घरमा सोमबारदेखि नै भारतबाट पाहुना आएर बसेका छन् । कतिपयले विहारमा मदिरा पिएको अवस्थामा प्रहरीको फन्दा परे कारवाही हुने डरले पश्चिम बंगाललको सिलिगुडीको पानीट्याङी हुँदै विर्तामोड, मुलघाटसहित इलामको होटलहरुमा बास बसेर नयाँ वर्ष मनाइरहेका छन् ।
प्रहरीका अनुसार मङ्गलबार बिहानैदेखि भारतीय गाडीहरू बेलुनसहित माला लगाएर नेपाल प्रवेश गरेको छन् । अन्य दिनको तुलनामा सिमावर्ती क्षेत्रमा बढी भीडभाड रहेकाले व्यापक प्रहरी परिचालन गरिएको छ । २०२४ को अन्तिम दिन ३१ डिसेम्बर (मङ्गलबार) मात्रै विराटनगरको रानी नाका हुँदै एक सय २६ वटा भारतीय पर्यटक चढेको गाडी रानी नाका हुदै नेपाल भित्रिएको छ । भारतीय नम्बर प्लेटका स्कारपिओ, भ्यानसहित ससाना गाडी भन्सार कटाएर नेपालको सिमावर्ती बजार प्रवेश गरेका छन् ।
त्यस्तै नयाँ वर्षको दिन बुधबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्ममा ५८२ वटा सवारी साधन नेपाल प्रवेश गरेको र प्रत्येक गाडीमा ५ जना देखि ६ जनासम्म सवार रहेको प्रहरी बताउँछ । त्यसआधारमा भन्ने हो भने अनुमानिन ३ हजार भारतीय नेपाल प्रवेश गरेका हुन् ।
नयाँ वर्षलाई लक्षित गर्दै मोरङ प्रशासनले गीत गजलसहित होटलहरुलाई राती १२ बजेसम्म संचालन गर्न छुट दिइएको छ । अन्य दिन राति १० बजेसम्म मात्र संचालन गर्न अनुमति प्रदान गरेको थियो ।
विराटनगरमा संचालनमा रहेको होटल, क्याबिनसहितको रेष्टुरेण्ट, लजहरू खचाखच रहेको बताइएको छ । कतिपय भारतीय नागरिकहरुले दुई दिनदेखि डेरा नै जमाएर बसेका छन् भने कपितपयले दुईदिन अगावै आफन्त र साथीको घरमा बसेर नयाँ वर्षलाई मनाइरहेका छन् । नेपालमा समेत अंग्रेजी महिनाको बितेको वर्षलाई विदाई गर्न र नयाँ वर्षको स्वागत गर्न युवायुवतीहरुसमेत विभिन्न होटलहरुमा साथीहरुसँग मिलेर सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउँदै आएका छन् । विगतको भन्दा यस वर्ष सिमावर्ती बजारमा बढी मात्रामा भारतीय नागरिकहरु आएको सिमावर्तीका बासिन्दाहरुले बताएका छन् ।
भारतीय मोटरसाईकलहरु गाडीको तुलनामा तेब्बर नेपाल प्रवेश गरेका छन् । मङ्गलबार र बुधवार गरी मोटरकाइकल मात्रै हजारौं प्रवेश गरेको प्रहरीको अनुमान छ । यसअघि पनि बिहार राज्यमा मदिरा बिक्री वितरणमा पूर्ण रोक लगाएसंगै सिमावर्ती नेपाली बजारमा मदिरा खाने बिहारीको भीड बढ्न थालेको थियो । बिहारमा मदिरा सेवन गरेको भेटिए कडा कारवाही गर्न विशेष प्रहरी नै परिचालन गरेको बताइएको छ ।