विराटनगर । बेलबारी २ कि शारदा पोख्रेल सामाजिक सुरक्षा (वृद्ध) भत्ताको फारम भर्नका लागि केहि दिनअघि वडा कार्यालयमा पुगिन् । त्यहाँका कर्मचारीले राष्ट्रिय परिचयपत्र ल्याएपछि मात्रै फारम भर्न सकिने बताए र फर्काइदिए ।
उनले २०७९ माघ ६ गते राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएकी थिइन् । वडाले राष्ट्रिय परिचयपत्रको नम्बर ल्याउन भनेपछि उनी अलमलमा परिन् । त्यहिँका कर्मचारीहरूले विभागको नम्बर दिएपछि उनले फोन गरिन् तर फोन कहिल्यै नउठेको उनले बताइन् । गाउँका जान्नेबुझ्नेसँग सोधखोज गरिन् । त्यसपछि जिल्ला प्रशासन कार्यालय (सिडिओ) मा राष्ट्रिय परिचयपत्र नम्बर पाइन्छ भन्ने सुनेर विराटनगर आइन् तर नम्बर पाउन सकिनन् । ‘छोरासँगै म सिडिओ कार्यालय गएकी थिएँ,’ उनले भनिन् ‘त्यहाँ पनि विभागमा सम्पर्क गर्नुहोस् भनेर फर्काइदिए ।’ उनी निराश भएर घर फर्किइन् ।
गाउँका अगुवाहरुले उनको समस्यका बारेमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहसँग सम्पर्क गरेर बुझिदिए । सहायक प्रजिअ साहले परिचयपत्र आइसकेको जानकारी दिएपछि बल्ल उनी दंग परिन् । ‘पहिला उनीहरुले मेरो परिचय पत्र आए नआएको खोजी गरिदिएनन् उल्टो विभागको नम्बर दिएर पठाए । फोन गर्दागर्दा म हैरान भइसकेको थिएँ पछि परिचय पत्र नै आइसक्यो भनेपछि ढुक्क भएँ तर कर्मचारीले दिनसम्म दुःख दिए,’ उनले भनिन् ।
शारदा मात्रै होइनन् राष्ट्रिय परिचयपत्रका नाममा दुःख पाउने धेरै छन् । विभागले फोन नै गरेर नयाँ फारम भर्नेको अनिवार्य परिचयपत्र हालेर सिस्टममा अपडेट गर्न भनेपछि स्थानीय तहका कर्मचारीले पनि त्यहि जवाफ दिने गरेका छन् । नम्बर नभएसम्म फारम नै नभर्नु भनेर विभागले निर्देशन गरेको बेलबारी २ का वडा सचिव प्रदीप आचार्यले बताए ।
‘वृद्धभत्ता खाइरहेकाहरूको पनि बायोमेट्रिक गर्नु भनेको छ,’ उनले भने पुरानालाई नै पनि कडा गरेको छ । नयाँको हकमा चाहिँ नम्बर नभएसम्म फारम नभर्नु भन्ने निर्देशन छ ।’
गत आवको सुरुदेखि नै अनिवार्य गर्ने गरी विभागले दुःख दिएको कर्मचारीहरू बताउँछन् । ‘अहिलेदेखि नै सिस्टम अपडेट गर भनेर भनिरहेको छ । ‘बोलाएर पुरानाहरूको अपडेट गर्ने काम भइरहेको छ । समस्या आउँदा विभागका कर्मचारीले पनि समन्वय गर्ने गरेका छैनन्’ आचार्यले भने ।
गत मंसिर ८ गते नै बेलबारी नगरपालिकाले वडा कार्यालयमा परिपत्र गर्दै सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको नयाँ दर्ता तथा नवीकरण गर्दा अनिवार्यरुपमा राष्ट्रिय परिचयपत्र नम्बर र बायोमेट्रिक भेरिफिकेसन गर्न भनेको थियो । नगरपालिकाको पत्रअनुसार गरिएको वडा सचिव आचार्यले बताए ।
जिल्ला प्रशासन कार्यालयले भने राष्ट्रिय परिचयपत्रको कुनै समस्या नभएको दाबी गरेको छ । सिस्टम सर्भरमा जिल्ला प्रशासन कार्यालयसँग पहुँच भएकाले यहाँबाट मात्रै दिन मिल्ने उनले बताए ।