उमागौरी सहकारी ठगी प्रकरण : कहाँ छिन् सांसदपत्नी अञ्जला ?

विराटनगर । मोरङको धनपालथान गाउँपालिस्थित उमागौरी कृषि सहकारी संस्थाको करडौं रुपैयाँ ठगी मुद्दामा अदालतबाट ३५ दिने पक्राउ पूर्जी जारी भएपछि शिक्षक अन्जला कोइरला फरार भएकी छिन् ।

विराटनगरस्थित महेन्द्र रात्री माविमा अध्यापन गराउँदै आएकी कोइरालाले ठगी मुद्दामा मोरङ अदालतबाट पक्राउ पूर्जी जारी पाँच दिनको विदा लेखेर सम्र्पकबिहीन भएकी हुन् ।

नेकपा एमालेका नेता रहेका संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला सञ्चार रहेको सहकारीमा २२ करोड भन्दा बढि रकम अनियमितता भएको भन्दै मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । सो मुद्दामा २६ जनालाई अभियुक्त बनाइएकोमा कोइरालासहित २५ जना फरार छन् । जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजालसले सोमबार उनीहरुको विरुद्ध ३५ दिने अदालती पूर्जी जारी गरेको छ ।

अदालतमा मुद्दा दायर हुँदासम्म विराटनगरस्थित निवासबाट विद्यालय गई दैनिक हाजिर गरिरहेकी कोइराला मुद्दा दर्ता भएपछि भने विद्यालयलाई विदा लेखेकी हुन्् । जिल्ला सरकारी वकिलको कार्यालयले २७ मंसिरमा उनलाई ‘फरार सूचीमा राखेर’ सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरेपछि ३० गतेबाट विदा लेखेर उनी सम्पर्कहिन भएकी हुन् ।

शुक्रबार विराटनगरमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत सहिद रंगशालामा आयोजित कार्यक्रममा सहभागी भएकी कोइरालाले सोमबार बिरामी भएको जनाउ दिएर ५ दिनको बिदा मागेको विद्यालयले जनाएको छ । विद्यालय नगए पनि उनी विराटनगरमै भएको बताइएको छ । तर, प्रहरीले पक्राउ गर्न चासो दिएको छैन ।

सहकारी ठगी प्रकरणमा हिरासतमा लिएर अनुसन्धान गर्नुपर्नेमा सत्तारुढ दलको सांसद पोखरेलकी श्रीमती भएकोले प्रहरीले अञ्जलालाई पक्राउ त के सोधपुछसमेत गरेन । तर, उनी सहकारीको सञ्चालक भएको समयमा ठगी भएको कागजातबाट पुष्टि हुने भएकोले मुद्दा भने दर्ता भएको छ ।

उमागौरीमा वि.सं २०७२ देखि २०७८ सम्म कोइराला सञ्चालक थिइन् । सोही समयमा लिएर ऋण चुक्ता नगरेको भन्दै आरएसडीसी लघुवित्तले उनीसहितका सञ्चालकलाई कालोसूचीमा राखेको छ ।

उमागौरी सहकारीमा २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ अपचलन भएको दाबीसहित अभियोग पत्र दायर भएको छ । प्रतिवादीहरुलाई बिगो कायम गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदाबी अभियोग पत्रमा छ । सो प्रकरणमा मंसिर २८ गते जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक समिति सदस्य रोशन राजवंशीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ । उनी धनपालथान गाउँपालिका–४ का पूर्व वडाध्यक्ष हुन् ।

यो प्रकरणमा सहकारी रजिष्ट्रार कार्यालयले प्रतिवेदन दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । त्यसपछि केही सञ्चालकविरुद्ध पक्राउ पूर्जी जारी भयो । तर, लेखा समिति सभापतिकी पत्नी अञ्जलाविरुद्ध भने अनुसन्धान भएको थिएन ।

प्रहरीले भने अदालतको आदेशपछि फरार अभियुक्त खोजी र पक्राउ गर्न प्रहरी सक्रियता बढाएको दावी गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले सहकारी ठगी प्रकरणमा अदालतले पक्राउ पूर्जी जारी गरेको प्रतिवादीको खोजी कार्यमा प्रहरी लागिपरेको दावी गरे । तर, विराटनगरस्थित पोखरेलको घरमा अहिलेसम्म कोइरालाको खोजीमा प्रहरी नपुगेको छिमेकीहरुले बताएका छन् ।

सरकारी वकिलको कार्यालय मोरङले दायर गरेको अभियोगपत्रमा ८ हजार ८४२ जना शेयर सदस्यहरुको ३ करोड ८ लाख ८० हजार ३ सय रुपैयाँ शेयर रकम रहेको र ७०७ जना ऋणीहरुले २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ संस्थाबाट ऋण लिएको उल्लेख छ । जसमध्ये ८ करोड १३ लाख ६४ हजार ७ सय रुपैयाँ उठेको र बाँकी १६ करोड १६ लाख ५७ हजार ८३२ उठ्न बाँकी देखिएको उल्लेख छ ।

बिहिबार, ०४ पुष, २०८१, बिहानको ०८:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर