दुर्गा प्रसाईकोे रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज

विराटनगर । मेडिकल व्यावसायी दुर्गा प्रसाईले बैंककाविरुद्ध अदालतमा दायर गरेको उच्च अदालत विराटनगर इलाम इजलाशले खारेज गरेको छ ।

बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईले निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । उक्त रिटको अन्तिम सुनुवाई गर्दै इलाम इजलासका मुख्यन्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले मंगलबार रिट खारेज गरेको हो । कुमारी बैंकको शाखा कार्यालय विर्तामोडसहित चार वटा बैंकलाई प्रतिवादी बनाएर २०८० असार ८ गते निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । यो रिटमा इलाम इजलासले २०८० असार १० गते कारण देखाउ आदेश जारी गरेको थियो । १८ पटक पेशी चढेको यो रिटको सुनुवाई ९ पटक स्थगीत भएको थियो । कुमारी बैंकको विर्तामोड शाखासहित चार वटा बैंकविरुद्ध प्रसाईको पक्षबाट टीकाराम अधिकारीले दायर गरेको रिट खारेज भएपछि अब बैंकलाई ऋण असुल गर्ने बाटो खुलेको छ ।

प्रसाईको अभियानका कारण ग्रामीण क्षेत्रमा काम गरिरहेका लघुवित्त वित्तीय ंसंस्थाको लगानी र ऋण असुली प्रभावित हुँदै आएको थियो । वित्तिय संस्थाविरुद्ध गतिविधि गर्नका लागि प्रसाईले समूह नै तयार गरेका थिए । आफ्नै अस्पतालका लागि लिएको ऋणको असुली रोक्नका लागि भने उनी अदालत पुगेका थिए ।

‘रिट निवेदकले विपक्षी बैंक उपर यसै निवेदनलाई उल्लेखित ऋण कर्जाको विषयलाई लिएर करारको यथावत परिपालन गराइ पाउ भनि मुद्दा दायर गरी साधारण क्षेत्राधिकार अन्तरगत कानुनी उपचारको प्रक्रिया अवलम्बन गरिसेकको देखिएको,’ रिट खारेज गर्दै अदालतको राय किताबमा भनिएको छ,‘….मिति २०८०–१– १० को पत्रको प्रयोजन नै समाप्त भइसकेको देखिएकोसमेतबाट प्रस्तुत निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने विद्यमान अवस्था देखिएन ।’ पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि दुर्गा प्रसाईले चार वटा बैंकबाट २ अर्ब भन्दा बढी ऋण लिएका छन् । प्रसाईंलाई बिएन्डसी मेडिकल कलेज सञ्चालनका लागि गत चैतमा सर्वाेच्च अदालतले बाटो खोलिदिएको थियो ।

बुधबार, ०३ पुष, २०८१, साँझको ०७:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर