विराटनगर । कोशी प्रदेश सरकारले आउँदो माघ ११, १२ र १३ गतेका तय गरेको लगानी सम्मेलनको तयारी अगाडि बढेको छ । लगानी सम्मेलनमा एक खर्ब बराबरको योजनाको सम्झौता गर्ने सरकारको लक्ष्य छ ।
लगानी सम्मेलनबाट झण्डै एक खर्ब बराबरका परियोजनामा लगानी सम्झौता (एमओयु) गर्ने लक्ष्य रहेको कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर सरोज कोइरालाले जानकारी दिएका छन् ।
अधिकतम् लगानी ३२ करोड रुपैयाँदेखि न्यूनतम १० करोड रुपैयाँसम्मका ६५ देखि ७० वटासम्म परियोजना सम्मेलनमा प्रस्तुते गर्ने तयारी रहेको कोइरालाले बताएका छन् । ‘ति परियोजनाहरु साढे २ खर्ब बराबरका छन्, जसमा १ खर्बको हाराहारीमा एमओयु गर्ने लक्ष्य छ’ उनले भने, ‘कृषि, पर्यटन, उद्योग, उर्जा, आइटी र पूर्वाधार क्षेत्रका परियोजनाहरू तय गरिएको छ ।’
छनौट हुने परियोजनाको बारेमा लगानीकर्तासँग छलफल भइरहेको कोइरालाले जानकारी दिएको छन् । संघ सरकार र कतिपय प्रदेश सरकारले यसअघि गरेको लगानी सम्मेलनमा भएको सम्झौता अनुसार काम नभएको सन्दर्भमा त्यस्तो नहोस् भनेर सचेत भएको उनले बताए । ‘हामीले यथेष्ट होमवर्क गरेका छौं । केन्द्रका पुराना लगानी बोर्डका सिइओहरुसँग पनि सम्वाद गरेका छौं’ उनले भने, ‘हामीले परियोजनालाई परियोजनास्थलमै लगेर सोकेसिङ गर्नेभन्दा पनि अहिलेदेखि नै सम्भावित लगानीकर्तासँग सम्पर्क गरिरहेकोले कार्यान्वयन हुने सम्झौता गरिनेछ ।’
केन्द्रको लगानी सम्मेलनमा समझदारी पत्रमा हस्ताक्षर हुने र प्रतिबद्धता व्यक्त हुने गरेको जानकारी दिँदै कोइरालाले कोशी सरकारले भने १ खर्ब लगानी गर्ने समझदारी पत्र (एमओयु)मा नै हस्ताक्षर गर्ने तयारी गरेको बताए । ‘एमओयु भनेको लगानी सुनिश्चितताको महत्वपूर्ण खुड्किलो हो’ उनले भने, ‘एमओयु गरेपछि सिधै डिपिआरको चरणमा प्रवेश गर्छौं ।’
लगानीका लागि सम्बन्धित क्षेत्रका उद्योगी, व्यवसायी तथा एनआरएनएहरुसँग समन्वय भइरहेको कोइरालाले जानकारी दिएका छन् । परियोजनाको सोकेसको लागि विभिन्न स्रोत परिचालन गरिएको उनले बताए । जसमा लगानी प्राधिकरणसँग रहेका ४२ वटा परियोजना, संघीय सरकारको लगानी बोर्डसँग रहेका कोशी प्रदेशसँग सम्बन्धित परियोजना, प्रदेशका मन्त्रालयसँग रहेका र सार्वजनिक निजी साझेदारीमा गर्न सकिने परियोजनासहित निजी क्षेत्रका छाता संगठनहरुका र पालिका तहका परियोजना छन् ।
प्रदेश सरकारले परियोजना छनौटका लागि सोकेस समिति नै बनाएको छ । जसको नेतृत्व लगानी प्राधिकरणको सिइओ डा.कोइरालाले गरिरहेका छन् । समितिमा अर्थ, कानून, पर्यटन, भौतिक पूर्वाधार, मुख्यमन्त्री कार्यालय, योजना आयोगका महाशाखा प्रमुखहरु र निजी क्षेत्रबाट तीन जना सदस्य मनोनित छन् । उद्योग मन्त्रालयका महाशाखा प्रमुख सदस्य सचिव पनि छन् । समितिले प्रदेशभरका परियोजनालाई पहिचान गर्ने र त्यसलाई निर्देशक समितिमा सिफारिस गर्ने काम गर्छ ।
परियोजना सोकेस समितिले १३७ वटै पालिकालाई पत्राचार गरेर १० करोडभन्दा बढीका निजी लगानीमा सम्पन्न गर्न सकिने वा सार्वजनिक निजी साझेदारीको मोडलमा गर्न सकिने कुनै परियोजनाको आधारसहित पठाउन पत्राचार गरेको छ । त्यहाँबाट ६५ वटा परियोजना आइरहेको जानकारी दिँदै कोइरालाले त्यसमध्ये २५ वटा राम्रा परियोजना छनौट गर्ने लक्ष्य रहेको बताए ।
सोकेस समितिले छनौट गरेर निर्देशक समितिमा परियोजना पठाउनेछ भने त्यसले मूल आयोजक समितिलाई परियोजना पठाएपछि सम्झौताको प्रक्रियामा जानेछ । लगानी सम्मेलनका लागि ५ वटा समिति निर्माण भएको छ । मूल आयोजक समितिको नेतृत्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका छन् ।
मुल आयोजक समितिमा समितिमा उद्योग, वाणिज्य क्षेत्रका १० वटा निजी संघसंस्थाहरु सह–संयोजक छन् । विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति, विश्वविद्यालय, प्रमुख सचिवसहित सो समितिमा छन् ।मुल आयोजक समिति अन्तर्गत आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरको नेतृत्वमा निर्देशन समिति छ । सो समितिमा प्रमुख सचिव, मन्त्रालयका सचिवहरु तथा उद्योग, व्यापार र वाणिज्य क्षेत्रका व्यक्तिहरु सदस्य रहेका छन् ।
त्यस्तै नीतिगत सुधार समिति पनि गठन भएको छ । विद्यमान कानूनमा के के संशोधन गर्नुपर्ने वा अन्य नीतिगत व्यवस्था गर्नुपर्ने अवस्था भए त्यसलाई सिफारिस गर्नका लागि आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीको संयोजकत्वमा आन्तरिक मामिलाको सचिव, लगानी प्राधिकरणको सिइओलगायतको समिति गठन गरिएको छ ।
कोशी प्रदेशमा यसअघि पनि लगानी सम्मेलन गर्ने तयारी भएको थियो । तर, कोरोना महामारीका कारण त्यो सम्भव भएको थिएन । यसपटक प्रदेश स्तरमा गर्न लागिएको लगानी सम्मेलनलाई सफल बनाउनुपर्ने कोशी प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष राजेन्द्र राउत बताउँछन् । ‘प्रदेश सरकारको आयोजनामा तथा नीजि क्षेत्रको सहकार्यमा हुन लागेको प्रदेश लगानीलाई भव्य रुपमा सफल बनाउन आवश्यक छ,’ राउतले भने ।
लगानी सम्मेलनको मिति र स्थानबारे भने निजी क्षेत्र विभाजित देखिएको छ । जसको कारण सम्मेलनको मिति सर्नसक्ने संभावना रहेको स्रोतले जनाएको छ । उद्योग संगठन मोरङले गर्न लागेको ब्यापार मेलामा लगानी सम्मेलन उद्घाटन गर्न लागेको र उद्योग संगठनलाई नै मुख्यमन्त्रीले लगानी सम्मेलन व्यवस्थापनको जिम्मा दिएको भन्दै नेपाल उद्योग परिसंघ कोशीले आपत्ती जनाएको छ ।