विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्ने भनिएको कोशी प्रदेश लगानी सम्मेलनको तयारीको विषयलाई लिएर विवाद देखिएको छ । प्रदेशको विकास र लगानी भित्र्याउने विषयमा अहिले भइरहेको तयारीलाई लिएर उद्योगी व्यवसायीहरुकै संस्था उद्योग परिसंघ कोशी प्रदेशले असन्तुष्टि व्यक्त गरेको छ । परिसंघले मुख्यमन्त्रीलाई पठाएको पत्रमा लगानी सम्मेलनका लागि भइरहेको तयारीप्रति केही आशंका सहित प्रश्न उठाएको हो ।
परिसंघका अध्यक्ष पवनकुमार सारडाले मंगलबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पठाएको पत्रमा लगानी सम्मेलनको आयोजना र सम्मेलन स्थलबारे प्रश्न उठाएको हो ।उद्योग परिसंघले सम्मेलनको तयारी समितिमा आफ्ना अध्यक्षलाई सह–संयोजकको रूपमा मनोनयन गरिएकोमा सकारात्मक प्रतिक्रिया दिएको छ । तर, त्यस विषयमा प्रसारित समाचारहरूले सम्मेलनलाई कुनै संस्थाको वार्षिक मेलासँग मिसाउने योजनाप्रति गम्भीर आपत्ति रहेको जनाएको छ ।
सारडाले भनेका छन्, “महोत्सव, मेला र प्रदर्शनी हुने स्थलको बनावट र सजावटले पक्कै पनि यस्तो महत्वपूर्ण अन्तर्राष्ट्रिय लगानी सम्मेलनका लागि उपयुक्त हुन सक्दैन ।” उनले एक निजी संस्थाको मेलासँग लगानी सम्मेलनलाई मिसाउने प्रस्तावमा गम्भीर असहमति व्यक्त गरे । मुख्यमन्त्रीलाई लेखिएको पत्रमा विराटनगरकै बिरेन्द्र सभागृह, जैन भवन, सोल्टी होटल, सिटी प्यालेस आदि सार्वजनिक स्थलमा सम्मेलन आयोजना गर्न सकिने विकल्प दिएको छ ।
उद्योग संगठन मोरङले आयोजना गर्ने व्यापार मेलास्थलमा नै लगानी सम्मेलन गर्ने र उक्त संस्थालाई नै अप्रत्यक्ष आयोजकको हैसियत दिन खोजेको सूचना बाहिरिएपछि परिसंघले त्यसप्रति आपत्ति जनाएको देखिन्छ ।
परिसंघले मुख्यमन्त्रीसँग सबै निजी क्षेत्रका प्रतिनिधि, सरोकारवाला निकाय, विज्ञ र राजनीतिक दलहरूसँग छलफल गरी सबैलाई मान्य हुने वातावरण बनाउन पनि आग्रह गरेको छ । एउटा निजी संस्थालाई प्राथमिकता दिने र अन्यलाई पछाडि पार्ने कार्यबाट सम्मेलनको गरिमा र प्रभावकारिता कमजोर हुन सक्ने सम्भावना रहेको भन्दै परिसंघले चिन्ता र आपत्ति जनाएको हो ।
परिसंघले सरकारसँग सार्वजनिक स्थलमा सबैको अपनत्व र सहभागिता सुनिश्चित गर्ने, अन्तर्राष्ट्रिय स्तरको होटल वा सभागृहमा कार्यक्रम आयोजना गर्न र सबै पक्षलाई समान अवसर प्रदान गर्न पनि आग्रह गरेको छ ।
कोशी प्रदेश सरकारले आसन्न लगानी सम्मेलनलाई यहाँको औद्योगिक समृद्धि र आर्थिक विकासका लागि महत्वका साथ अगाडि सारेको जनाएको छ । परिसंघले सम्मेलनलाई सफल बनाउन सबै पक्षको सकारात्मक सहभागिता र समन्वयको आवश्यकतामा जोड दिएको छ ।