उमागौरी सहकारी ठगी : अनुसन्धानमा नविल बैंकको असहयोग

चारपटक पत्र पठाउँदा पनि विवरण दिन नमानेको कारण शङ्काको सुई बैंकतिरै सोझिँदै

विराटनगर । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जना कोइराला सञ्चालक रहेको मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाको अनियमितता छानविनमा नविल बैंकले असहयोग गरेको छ ।

सहकारीमा कोइराला सञ्चालनक भएको समयमा भएको अनियमिताको विषयलाई लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । कोशी प्रदेश सहकारी रजिष्टार कार्यालयले ऋषिकेशपत्नी अञ्जला कोइरालाको नाम हटाएर अनुसन्धानको लागि प्रहरीमा पठाएको थियो । त्यहि अनुसार सहकारीका अध्यक्ष शम्भु रौनियारसहित १० जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

पक्राउ पुर्जी जारी भएको एक महिना पुग्न लागेको छ । तर, कोही पक्राउ परेका छैनन् । सहकारीको ठगीमा अनुसन्धान प्रक्रियामा पनि ठोस प्रगति नभएको प्रहरीले स्रोतले जनाएको छ । सहकारीको ठगीमा नविल बैंक पनि जोडिएको छ ।

सहकारीका सदस्यहरुको धितो राखेर सञ्चालकले नविल बैंकबाट ऋण लिएका छन् । तर, १० लाख रुपैयाँ बैंकबाट ऋण निकालेर सदस्यलाई भने २ लाख रुपैयाँ मात्र दिएर ठगी भएको छ । अहिले सदस्यहरुलाई ऋण तिर्न ताकेता गरिरहेको नविल बैंकले अनुसन्धान प्रक्रियामा सहयोग नगरेको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धानको प्रक्रियामा सहयोग पुर्याउन गरेको पटक–पटकको पत्राचारको नबिल बैंकले कुनै रेस्पोन्स नगरेको जनाएको छ । ‘हामीले विभिन्न डकुमेन्ट झिकाएर अनुसन्धान नगरिरहेका छौं,’ कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहाल भन्छन्, ‘नापी, मालपोत र बैंकसँगको कारोबारको डकुमेन्ट मागेका छौं । त्यो डकुमेन्ट बैंकबाट अहिलेसम्म आइपुगेको छैन ।’

प्रहरीले नबिल बैंकलाई कारोबारको विवरण पठाएर सहयोग गर्न चार पटक पत्राचार गरेको छ । ‘तीन÷चार पटक उक्त बैंकलाई पत्राचार भएको छ । तर, त्यहाँबाट जवाफ आएको छैन । हामीले फलोअप गरिरहेका छौं,’ दाहालले भने ।

कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाका निमित्त प्रमुख हरिबहादुर खत्रीले पनि बैंकले नै बद्मासी गरेको हुनसक्ने बताए । ‘बैंकलाई कारोबारको विवरण दिन गरेको पत्राचारमा किन अटेरी गरेको हो बुझ्न सकिएको छैन,’ उनले भने ।

सहकारीले नविल बैंकसँगको सहकार्यमा महिला उद्यमी कर्जाको नाममा ऋण प्रवाह गरेको थियो । २०७८ सालमा सहकारीका अध्यक्ष रौनियारले नै शेयर सदस्य बनेको खण्डमा विनाधितो ऋण दिने प्रलोभन दिँदै सदस्यता बढाएका थिए । त्यसबेला रौनियारले एमाले सांसद पोखरेलकै पहलमा नविल बैंकसँग ५ सय जना महिला उद्यमीलाई ऋण दिलाउने सम्झौता गरेका थिए । तर, ८५ जनालाई मात्रै उक्त ऋण उपलब्ध भयो ।

बैंकले सहकारीका सदस्यहरुकै नाममा ऋण प्रवाह गरेको छ । ऋण कर्जाको कागजमा अधिकांश सदस्यलेस हकारीकै कार्यालयमा सहिछाप गरेका थिए । कतिपय ऋणिले नबिल बैंक विराटनगर शाखामा आएर सहीछाप गरेका थिए । बैंकले प्रवाह गरेको रकम भने रौनियारका प्रतिनिधिले बुझेर सदस्यलाई थोरै मात्र दिएको खुलेको छ ।

बैंकबाट सहकारीका सदस्यको नाममा १० लाख रुपैयाँ ऋण प्रवाह भएकोमा केहिलाई २ लाख, केहीलाई ४ लाख र केहीलाई ५ लाख रुपैयाँ मात्र दिएको पाइएको छ । बैंकबाट ऋण लिएका सदस्यहरुले किस्ता भने सहकारीमै बुझाएका थिए । तर, सहकारीका सञ्चालकले बैंकमा उक्त किस्ता दाखिला गरेनन् । जसले गर्दा धितो राखेर २ लाख ऋण पाएकाहरुको बैंकमा भने १० लाख ऋण र त्यसको ब्याजसमेत चुक्ता गर्न बाँकी छ ।

सहकारीका सञ्चालकको बद्मासीको कारण कतिपय ऋणिहरु कालोसूचीमा परेका छन् भने कतिपयले नखाएको ऋणको किस्ता अहिले नबिल बैंकलाई तिरिरहेका छन् । अनुसन्धानको क्रममा प्रहरीले यसअघि नै उक्त सहकारीको कार्यालयमा यसअघि प्रहरीले छापा मारेर कागजात जफत गरेको छ । २०६८ सालमा स्थापना सहकारीमा १२ करोड रुपैयाँ हिनामिना भएको जनाइएको छ ।

सहकारीको नाममा विभिन्न बैंकबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण देखिएको छ । सो सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १५६ रुपैयाँ छ । बचतकर्ताले बचत फिर्ता मागेपछि अहिले सहकारीको कार्यालय नै बन्द छ । १८ करोड ४९ लाख कूल पुँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।

सो सहकारीका सञ्चालक समिति अध्यक्षसहित सदस्यहरुलाई पनि रुपन्देहीको बुटवलस्थित आरएसडिसी लघुवित्तले पनि कालोसूचिमा राखेको छ । आरएसडिसीले उमागौरी कृषि सहकारीले २०८१ असोज १० गतेसम्ममा साँवा तथा ब्याज र हर्जाना बापत ३ करोड ४३ लाख ७२ हजार ८८३ रुपैयाँ ५४ पैसा भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।

सहकारीको छानविनको लागि अध्यक्ष रौनियारसहित उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ, कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंह र सदस्यहरू जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुरको विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । त्यस्तै, सहकारीको लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव, सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरीले जनाएको छ ।

शुक्रबार, ०७ मंसिर, २०८१, बिहानको १०:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर