मोरङको ग्रामथानमा अध्यक्ष पदका लागि मनोनयन दर्ता (फोटोहरु)

विराटनगर । मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि विभिन्न राजनीतिक दलले मनोनयन दर्ता गराएका छन् ।

प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरूले अध्यक्षका लागि मनोनयन दर्ता गराएका हुन् ।

पालिकामा सबैभन्दा पहिले राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट दिनेशकुमार थानदारले अध्यक्षका लागि मनोनयन दर्ता गराएका थिए । राप्रपा केन्द्रीय नेताहरू प्रह्लाद साह, दिनेश साहलगायतका नेता कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराए ।

रास्वपाले भने नवीन कुमार चौधरीलाई उम्मेदवार बनाएको छ । चौधरीले आसन्न उपनिर्वाचनमा अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन् । उनी सयअघि मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाको उम्मेदवार थिए ।

पालिका अध्यक्षको लागि नेकपा एमालेका तुलसीराम विश्वास, नेपाली काङ्ग्रेसका बलराम सरदार र माओवादीका नमोनारायण माझीले जुलुसहित मनोनयन दर्ता गरेका छन् । तीन दलका उम्मेदवारहरु बाजागाजा र जुलुससहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

एमाले उम्मेदवार विश्वासको मनोनयन दर्ता गराउन एमालेका उपाध्यक्ष गुरु बराल, एमालेका स्थायी कमिटी सदस्य तथा कोशीका इन्चार्ज शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडासहितका नेताहरु पुगेका थिए । उम्मेदवार विश्वासले ग्रामथानको विकासका लागि जनताले मत दिने दावी गरे ।

यसैगरी नेपाली काँग्रेसका तर्फबाट भने बलराम सरदारले ग्रामथानको अध्यक्षमा मनोनयन दर्ता गराएका छन् । उनी मुख्य निर्वाचन अधिकृतको कार्यालय तेतरीया पुग्दा काँग्रेस नेताहरु मिनेन्द्र रिजाल, डिला संग्रौला, भीम पराजुलीसहित पुगेका थिए ।

उपनिर्वाचनको लागि माओवादीका नमोनारायण माझीले पार्टीका प्रदेश इञ्चार्ज हरिबोल गजुरेल, केन्द्रीय नेताहरु सावित्रीकुमार काफ्ले, अजम्बर काम्बाङ, अमलान मोदी, जीवन आचार्य, विजय विश्वाससहितका नेताहरुसँग पुगेर मनोनयन दर्ता गराएका छन् । माझीले ग्रामथान गाउँपालिकाको भ्रष्टाचार नियन्त्रण तथा विकास र नागरिकलाई सहज रुपमा स्वास्थ्य एवं शिक्षाको पहुँच पुर्याउन उम्मेदवार बनेको बताए ।

अध्यक्ष पदको मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलहरूलाई अलगअलग समय दिएको छ । अहिलेसम्म १५ राजनीतिक दल र १ स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दर्ता गरिसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आइतबार, ०२ मंसिर, २०८१, दिउँसोको ०४:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर