विराटनगर । मानव तस्करीमा जोडिएपछि पदबाट राजीनमा दिएका कोशीका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले आफ्नै निर्वाचन क्षेत्रका एक एमाले कार्यकर्तामार्फत जापान जान खोजेको बताएका थिए । आफूले चिनजानकै व्यक्तिले जापान घुमाउने बताएपछि पासपोर्ट दिएकोमा मानव तस्करीको गिरोहसँग जोडेर फसाउन खोजेको बताएका छन् ।
अधिकारीलाई टोकियो महानगरपालिकाको सांस्कृतिक कार्यक्रममा सहभागी हुन भन्दै जापान पठाइदिने सुत्रधार मोरङको रतुवामाइ नगरपालिका ९ घर भएका योगराज भनिने गोपाल गौतम भएको खुलेको छ । काठमाडौंमा बसेर ठेक्कापट्टा र सिंहदरबारभित्र दलालीको काम गर्दै आएका गौतमको नेकपा एमालेका नेताहरुसँग बाक्लो उठबस र पहुँच रहेको बताइएको छ ।
गौतमले नै टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी हुन अधिकारीलाई जापान पठाउने प्रस्ताव गरेको पाइएको छ । चिनेजानेकै मान्छेले भनेपछि सबै कुरा ठीक होला भनेर जापान जान पासपोर्ट बुझाएको अधिकारीले पनि स्वीकार गरेका छन् । भिसा र टिकटको काम गौतमले नै गरिदिएको अधिकारीले बताएका छन् ।
गौतमले नक्कली सरकारी कर्मचारीको परिचयपत्र बनाएर जापान पठाउने गिरोहका योजनाकार मानिएका धादिङका महेश पाण्डेसँग पनि जापान उड्नु अगाडि अधिकारीको भेट गराएको खुलेको छ । जापान उड्ने अघिल्लो दिन कात्तिक १२ गते काठमाडौंमा गौतम र अधिकारीको भेट भएको थियो । गौतमसँगको फोटो अधिकारीले फेसबुकमा पनि शेयर गरेका छन् ।
जापान उड्ने दिन १३ गते अधिकारीसँग त्रिभुवन विमानस्थलमा गौतमले पाण्डेसँग पनि भेट गराएका थिए । टोकियोमा हुने कार्यक्रमको नेपालर्फको अर्गनाइजर आफू भएको जानकारी पाण्डेले गराएको अधिकारीले बताएका छन् ।
काठमाडौंको कोटेश्वरमा डेरा बसेर गौतम मन्त्रालय, जिल्ला प्रशासन, कर लगायतका सरकारी कार्यालयमा दलालीको काम गरेर जीवीकोपार्जन गर्दै आएको बताइन्छ । उनी फोहोर संकलक मजदुरको सप्लाईको काम पनि गर्ने बताइएको छ ।
प्रदेश सरकारलाई औपचारिक जानकारी पनि नदिई गौतम र पाण्डेको योजनामा सुटुक्क जापान उडेका मन्त्री अधिकारीले हङकङको ट्राञ्जिटमा पुगेपछि मात्र आफूसँगै अन्य तीन जना सरकारी कागजात किर्ते बनाएर सोही कार्यक्रममा जान खोजेको थाहा पाएको बताउँदै आएका छन् । हङकङबाट नेपाल फर्कन नमिलेपछि जापान पुगेर उनीहरुलाई पनि लिएर काठमाडौंमा आएपछि प्रहरीको जिम्मा लगाएको उनको दावी छ । तर, अधिकारीसहित उनीसँग रहेका अन्य चार जनालाई जापनको अध्यागमनले शंकास्पद कागजातको आधारमा जापान प्रवेश गर्न खोजेपछि डिपोर्ट गरेको पुष्टि भइसकेको छ ।
अधिकारीसँगै जापानले डिपोर्ट गरेका खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा अहिले प्रहरी हिरासतमा छन् । अधिकारी र उनीसँगै डिपोर्ट भएकी नवलपरासीकी अनिता निम्सिनालाई भने अध्यागमनले सहजै छाडिदिएको थियो । प्रहरी हिरासतमा रहेका शेर्पा, राई र देवकोटाले पाण्डेसहितको विचौलिया समूहलाई जनही १०–१० लाख रुपैयाँ तिरेर जापान उडेको बयान दिएका छन् ।
यो प्रकरणमा नक्कली कागजात बनाएर शेर्पा, राई र देवकोटालाई जापान पठाउन सहयोग गर्ने दोलखाका वीरबहादुर सुनुवार, नुवाकोटका जुगल रिजाल र धादिङका महेश पाण्डेलाई पनि पक्राउ परिसकेका छन् । घटनामा संलग्न अन्य दुई जना फरार भएकोले खोजी भइहरेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार फरार रहनेमा एक जना गौतम पनि हुन् । बुधबार भने हाम्रोमतसँगको सम्पर्कमा आएका गौतमले अधिकारीसँग चिनजान भएपनि जापान पठाउनेबारे आफ्नो संलग्नता नभएको बताएका थिए । बिहीबार विहानदेखि भने उनको मोबाइल अफ रहेको छ ।
जापान यात्रा विवादमा परेपछि अधिकारीले बुधबार पदबाट राजीनामा दिएका छन् । उनले आफनो गल्ती भएको स्वीकार्दै नैतिकताका आधारमा आफूले राजीनामा दिएर छानबिन र अनुसन्धानका लागि खुला गरेको बताउँदै आएका छन् ।