विराटनगर । पूर्वाधार अभावमा सेवा उपलब्ध गराउन समस्या भोगिरहेको कोशी प्रदेश सरकारअन्र्तगतको विराटनगरस्थित शैलजा आचार्य हृदय रोग उपचार केन्द्रलाई स्तरोन्नति गर्न सघाउने प्रतिबद्धता स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनाएका छन् ।
कोशी प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईसहितको टोलीसँगको भेटपछि मन्त्री पौडेलले हृदय रोग केन्द्रको स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
हृदय रोग केन्द्र सञ्चालनको लागि प्रदेश सरकारले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई केन्द्र नै हस्तान्तरण गर्ने भएको छ । कोशी प्रदेश सरकारबाट हस्तान्तरण भएपश्चात केन्द्रलाई मुटुसम्बन्धी उपचारका लागि आवश्यक उपकरण र थप पूर्वाधारको विकास गरेर सञ्चालनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक समन्वय गरेर काम थाल्ने मन्त्री पौडेलले बताएका छन् ।
सातै प्रदेशमा मुटु रोगको उपचारका लागि कार्यक्रम थालिसकेको बताउँदै पौडेलले कोशी प्रदेशमा स्थापित केन्द्रलाई सबल बनाएपछि प्रदेशलाई हस्तान्तरण गरिने जानकारी दिए । गत महिना विराटनगरमा केन्द्रको निरिक्षण गरेका मन्त्री पौडेलले प्रदेश मातहत विकासमा मन्त्रालयलाई जटिलता रहेको भन्दै संघ मातहत जिम्मेवारी प्राप्त भएमा स्तरोन्नतिका लागि उपकरणसहितका पूर्वाधार तयार पार्ने बताएका थिए ।
कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राईले संघ सरकारलाई स्तरोन्नतिका लागि आग्रहसहित निश्चित अवधि हस्तान्तरणका लागि आवश्यक प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेशबाट निर्णय भएर आएलगत्तै मन्त्रालयले स्तरोन्नतिको काम थाल्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।
शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले सातै प्रदेशमा मुटुसम्बन्धी उपचार सेवा विस्तार गर्ने निर्णय गरिसकेको छ । सोहि अनुसार गंगालाले विराटनगरको ह्दयरोग केन्द्र सञ्चालन गर्नेछ ।