विराटनगर । तिहारमा नजिकिँदै जाँदा पनि विराटनगर बजारमा चहलपहलमा बृद्धि भएको छैन । तिहार र छठ पर्वको तयारीमा स्थानीय लागे पनि विराटनगरको बजार शान्त रहँदा सिमावर्ती भारतीय बजार जोगवनीमा भने भिड छ ।
भारतीय बजारमा सस्तो पाउने प्रचारबाजीले गर्दाले पुजाको सामग्री किन्न पनि नेपाली उपभोक्ताहरु जोगवनी नै जाने अवस्था रहेको विराटनगरका व्यापारीहरुले बताएका छन् ।
दशै सकिएसँगै बजारमा तिहार र छठ पर्वको सामग्री किन्नेको भिड हुने गरेकोमा अहिलेसम्म कुनै चहलपहल नभएको विराटनगर गुद्रिका अशोक साहले सुनाए । पुजामा प्रयोग हुने बासँका सामग्री पनि भारतीय बजारमा किन्न जाने गरेको देखिएको उनले बताए ।
‘छठमा प्रयोग हुने ढकिया, कोनिया, सुप भारतभन्दा सस्तो विराटनगरमा छ’ उनले भने, ‘समय, भाडा र मेहनत जोड्नु त कति सस्तो विराटनगरमा पर्ने छ । तर, यहाँ बासिन्दाहरु गलत प्रचार प्रचारबाजीको कारण भारत नै पुग्छन् ।’ बिनारोकटोक उभोक्तालाई भारतबाट सामान ल्याउन प्रहरीले दिने गरेको र व्यवसायीक कारोबार गर्नेसँग कमिसन लिने गरेकोले समस्या भएको उनले बताए ।
यो वर्ष विराटनगरमा माटोका सामग्री पनि भारतीय बजारबाट आएको बताइएको छ । पहिले माटोको सामग्री सुनसरीको चिमडी तथा ईनरुवाबाट आयने गरेकोमा अहिले भारतबाट आएकोले बजार ओगटेको व्यवसायीहरुले बताएका छन् ।
विराटनगर बजार सुनसान हुँदा तिहारका लागि आवश्यक सामाग्री किन्नको लागि उपभोक्ताहरुको भीड जोगवनीमा देख्न सकिन्छ । यो वर्षको तिहारमा विगतको तुलनामा काजु, बदाम, पेस्ता, नरिवल लगायतका मसला किन्न जोगवनी जानेको संख्यामा बृद्धि भएको सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीले पनि बताएका छन् ।