महशुल उठाउन कर्मचारीको माग

विराटनगर । नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी कल्याण परिषद्ले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत् महसुल उठाउन लाइन काट्ने प्राधिकरणको कदमको समर्थन गरेका छन् ।

आइतबार प्राधिकरणलाई पत्र लेख्दै दुई संगठनले ६० दिनभन्दा बढी समयसम्म महसुल नतिरे सर्वसाधारणको लाइन काट्ने गरिएको उल्लेख गर्दै ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले ६० दिनभन्दा बढी समय विद्युत् महसुल नतिर्ने आम विद्युत् उपभोक्ताको लाइन काटी महसुल असुलउपर गरिँदै आएकोमा उद्योगीलाई छुट दिन नमिल्ने बताएका छन् । ‘अझै पनि त्यस्ता ग्राहकले महसुल नतिरेको र नतिर्नका लागि ऐन, नियम र कानुनबाहेकका अनेक बहानाबाजी र प्राधिकरणको मानमर्दन गरी थप विवाद सिर्जना गरिरहेको कुराप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ,’ पत्रमा भनिएको छ ।

अदालत, मन्त्रिपरिषद्, संसदीय समिति, महालेखापरीक्षक, विद्युत् नियमन आयोगसहित विभिन्न समितिहरूबाट समेत यसअघि नै डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल असुलउपर गर्ने निर्णय भइसकेकाले महसुल नतिर्ने ग्राहकको लाइन काटी महसुल असुल गर्न प्राधिकरणले देखाएको तदारुकताको कर्मचारी संगठनहरुले स्वागत गरेका छन् । ‘आमजनतालाई अन्धकारमा राखी प्रयोग गरिएको विद्युतको महसुल उठाउने कुरामा प्रचलित ऐन, नियम र विद्युत् वितरण विनियमावलीमा रहेका व्यवस्थाहरूको अक्षरशः पालना गर्न–गराउनसमेत जोडदार माग गर्दछौँ’ पत्रमा भनिएको छ ।

सोमबार, १२ कार्तिक, २०८१, बिहानको ११:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर