‘देशमा मुख्य राजमार्ग नै छैन’

 सुयश प्याकुरेल

देश विकासको प्रमुख आधार भनेको सरकारले पूर्वाधारमा गर्ने लगानी नै हो । पूर्वाधारमा सडक सञ्जाल, रेल्वे, हवाइ यातायात, पुल, औद्योगिक पूर्वाधार, विद्युत् उत्पादन लगायत धेरै कुरा पर्दछन् । हाम्रो देशमा भने प्रमुख पूर्वाधार भनेको सडक नै हो । जहाँ व्यापारिक सडक पनि हुन्छ र सामान्य जनताले एक ठाउँबाट अर्को ठाउँमा पुग्न प्रयोग गर्ने सडक पनि पर्छ । विनियोजित बजेटमा पूँजीगत खर्च कम राखिन्छ । त्यसमा पनि खर्च पुरापुर हुँदैन । पूँजीगत खर्च २३ प्रतिशत, ३२ प्रतिशत, ४४ प्रतिशत भयो भने पनि एकदमै धेरै भन्ने चलन छ । विगत २० वर्षमा ५५ देखि ६० प्रतिशत विकास बजेट खर्च भएको इतिहास दोहोरिएको छैन । देशको आजको अधोगति हुनुको कारण पनि यही हो । पूर्वाधारमा लगानी गर्दा रोजगारी सिर्जना हुन्छ । तल्लो स्तरको श्रमिकदेखि बौद्धिक श्रमिकहरुले पनि रोजगार पाउँछन् । तर, हाम्रो देशमा प्रधानमन्त्री विकास कार्यक्रम भनेर सानोतिनो खुद्रे कार्यक्रममा सिमीत गरिन्छ । केही समयको लागि एउटा भीडलाई केही पैसा बाँड्नका लागि टालटुले योजना बनाउने गरिन्छ । पूर्वाधारमा साँच्चिकै योजनाबद्ध विकास भएको भए यो सबै गर्नुपर्ने आवश्यकता नै थिएन । यो स्टण्डबाजी गर्नुपर्ने जरुरी पनि थिएन । त्यसले आफैं आकार लिन्थ्यो । तर, दुर्भाग्य हामीकहाँ त्यो भएको छैन ।

मलाइ त नेपालमा मुख्य राजमार्ग नै छैन जस्तो लाग्छ । अहिलेको शताब्दीमा त्यस्तो राजमार्ग नै नभएको देश कल्पना गर्नुहुन्छ ? तपाई १० किलोमिटर हिंड्नुहुन्छ त्यसपछि कच्ची बाटो आउँछ । फेरि ५ किलोमिटर हिंड्नुहुन्छ फेरि पक्की बाटै हराउँछ । यस्तोमा जनताले कति सास्ती व्यहोरेका होलान् कसैले हिसाव गरेको छ ? आजभन्दा ७ वर्ष अगाडि एउटा मालबहाक ट्रक विराटनगरबाट विरगञ्ज ५–६ घण्टामा पुग्थ्यो । तर, अहिले १० घण्टा लाग्छ । किन ? ७ वर्ष अगाडि हरेक दिन एक ट्रिप मार्न सक्थ्यो । तर, अहिले त दुई दिनमा एक ट्रिप लागिरहेको छ । त्यस्तो हुँदा हाम्रो उद्योगको उत्पादन खर्च कति बढ्यो ? सवारी साधनको मर्मत सम्भार, इन्धन खर्च कहाँ पुग्छ ? अनि उद्योगले प्रतिस्पर्धी कसरी बन्न सक्छ । सामान्यतः हाम्रो उद्योगहरुमा ३० प्रतिशतभन्दा बढी लागत खर्च बढ्छ । त्यही भएर पनि हामीले अन्य देशको उत्पादनसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनौं । त्यसलाई कसरी प्रतिस्पर्धी गराउने त ? सडक राम्रो बनाएर समय छोट्याउन त सक्छौं होला नि ? लामो बाटोलाई छोट्याएर पनि लगानी कम गर्न सकिएला नि ? यो विषयमा अहिलेको प्रधानमन्त्रीलाई थाहा नभएको पनि होइन । तर, यो काम किन हुँदैन ?

राजमार्ग राम्रो हुनु, सडक राम्रो चाहियो भन्नु अहिलेको बेलामा हाम्रो ठूलो कुरा मागेको जस्तो लाग्दैन । जस्तैः एसियन हाइवे भनेर थाइल्याण्डदेखि म्यानमार हुँदै बंगलादेश, भारत हुँदै नेपालको पूर्वपश्चिम छुन्छ । तर, हाम्रो निर्माण जहिल्यै सकिए पनि हुने खालको भयो । तर, कहिले सक्ने भन्ने विषयमा कहिल्यै छलफल भएन । निर्माण कम्पनीलाई पनि काम गर्दै गर जहिले सकेपनि हुन्छ भनेजस्तो भएको छ । अब त्यसरी भएन । हाम्रो लागत बढेको छ । ऋण बढेको छ । त्यो भनेको जनतालाई नै ऋण थपिने कुरा होइन ? कुनै राजनीतिक दलले त्यो ऋण तिर्ने त होइन होला । जब, लागत बढ्छ भने समयमा काम गर्न हामीले किन ताकेता नगरेको ? हाम्रो काम निर्माणको काम चाँडै सक्ने र त्यसपछि अरू पूर्वाधार विकासको काम गर्ने हतारो हुनुपर्नेमा किन नभएको ?

निजगढबाट पथलैयाको सडकमा म आफैँ गएको थिएँ । त्यहाँ एउटा पुलमा एउटा पार्ट छैन । अर्को पार्टको पुलमाथि नै तरकारी रोपेको जस्तो देखिन्थ्यो । डाइभर्ट भएर जानुपर्ने अवस्था ५ वर्ष भयो । यसको जवाफदेहिता कसको हो ? जवाफ कसले दिने ? त्यहाँको जनप्रतिनिधि, सांसद तथा मन्त्रीले के हेरेर बस्नुहुन्छ ? यो बुझ्न नसकिने कुरा हो । पूर्वपश्चिम राजमार्ग समयमा निर्माण सक्नु पर्ने हो । निर्माणको काम चिनिया ठेकेदारलाई दिएको छ । हामी चाइना गयौं भने देश नै अर्को ग्रहमा रहेको जस्तो देखिन्छ । तर, त्यहाँको ठेकेदारलाई चाहिँ हामीले किन त्यस्तो बनायौं । त्यसमा हाम्रै कमजोरी छ ।

देशमा पूर्वपश्चिम रेल्वे चलाउन सकिन्छ । विद्युत् हामीसँग पर्याप्त छ । त्यो दिशामा किन नजाने ? भारतमा अंग्रेजको जमानादेखि चलिरहेको छ । हामीले चलाउन किन नसक्ने ? त्यसमा आधामा यात्रु चलाउने । आधामा सामान ढुवानी गर्दा सस्तो हुन्छ । त्यस्तो हुँदा उद्योगहरुले प्रतिस्पर्धा गर्न सक्छन् । रोजगार सिर्जना हुन्छ । लगानी बढ्छ । यि कुराहरु सामान्य हुन् । तर, त्यो काम गर्न सरकारले किन नसकेको ? बुझ्न किन नसकेको ? यो सबै हेर्दा राज्य नै कमजोर भएको जस्तो देखिन्छ । जसले बढी सपना देखायो, योजना बनायो त्यही पार्टी बढी जिम्मेवार हुनुपर्ने हो । आशा पनि उसैसँग गरिन्छ । तर, त्यो अनुसार काम भने भएको देखिँदैन ।

म फेरि पनि भन्छु हाम्रो देशमा सडक सञ्जाल आधारभूत कुरा हो । एलन मस्कले विकास गरेजस्तो स्टार लिङ्कको कुरा मैले गरेको होइन । त्यो अवस्थामा संसार पुगिसक्यो । तर, हामी लागत कम गर्नेगरी सडकलाई सुधार गर्न तिर लाग्न पनि सकेका छैनौं । अहिलेका उद्योगीले मागिरहेको कुरा भनेकै राम्रो सडक हो । फाष्ट ट्रयाकको काम बनेको बनेकै छ । कहिलेसम्म बन्ने हो ? किन नसकिएको ? भर्खरै बाढी गएको बेला विकल्पको बाटो नभएर कत्रो समस्या भयो ? यो विषयलाई सरकारले किन बुझ्दैन । फाष्ट ट्र्याक बन्ने हो भने औद्योगिक सामान बोकेका गाडीहरु विराटनगरबाट ५ घण्टा, ६ घण्टामा काठमाडौं पुग्न सक्छन् । यति गर्दा कति धेरै सुविस्ता हुन्छ । इन्धनको कस्ट पनि घट्छ । अनि प्रतिस्पर्धा गर्न पनि सकिन्छ । मोटरसाइकल २ गियरमा हाँक्ने र ४ गियरमा हाँक्ने उस्तै हुन्छ ? अहिलेको सडकमा २ गियर भन्दा बढी हाँक्नै सक्नु हुन्न । त्यसले कति नोक्सान भइरहेको छ । सुक्ष्म ढंगले हिसाव गरेर हामीले काम गर्नै सकेका छैनौं ।

विराटनगरबाट जोगवनी जाँदा र फर्किदा सडकको अवस्थाको कुनै अनुभव गर्नुभएको छ ? जाँदा सडकको अवस्था ठिक छ । आउँदा सडक उबडखाबड छ । किन ? यसले आयात र निर्यातको असन्तुलन पनि देखाउँछ भने पूर्वाधार निर्माणको हाम्रो तरिका पनि ठिक नभएको देखाउँछ । ठेकेदारले राम्रोसँग नबनाउँदाखेरि राज्यले अनुगमन किन गरेन । राज्यले अनुगमन गर्नु पर्यो नि । कानूनसम्मत जे जस्तो निर्माणको सम्झौता भएको छ त्यस अनुसारको दण्ड पुरस्कारको व्यवस्था हुनुपर्यो । तर, केही पनि भएको छैन । हाम्रो देशमा पूर्वाधार विकास गर्नका लागि सहज परिस्थित छ । राम्रोसँग गर्ने हो भने सहज व्यवस्थापन गर्न सक्छौं । जनता पनि सहनशील छन् । तर, काम भएको छैन । त्यसकारण अबको हाम्रो एजेण्डा सडक पूर्वाधारलाई जोड दिनुपर्ने देखिन्छ । त्यसले मात्रै आर्थिक समृद्धि हासिल हुन सक्छ ।

– उद्योग संगठन मोरङका पूर्वअध्यक्ष तथा एमएम प्लाष्टिक उद्योगका सञ्चालक प्याकुरेलसँग गरिएको कुराकानीमा आधारित ।

बुधबार, ०७ कार्तिक, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर