माछापुच्छ्रे सहकारी घोटला प्रकरण : सहकारीका अध्यक्ष अमलेश कर्ण जेल चलान

विराटनगर । विराटनगरस्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमलेश कर्णलाई पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले कर्णलाई आज थुनामा राख्ने आदेश दिएका हुन् । अदालतको आदेशपछि कर्ण पुर्पक्षको लागि मोरङ कारागार चलान भएको अदादालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

सहकारी ठगीमा पक्राउ परेका कर्णको शुक्रबार नै अदालतमा बयान भएको थियो । बयान भएर थुनछेक बहस सकिएपछि उनलाई कारागार चलान गर्न अदालतले आदेश दिएको हो ।

सहकारीको रकम हिनामिना र अपचलन गरेको आरोपमा माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था सञ्चालक तथा ऋणीविरुद्ध जिल्ला अदालत मोरङमा बिहीबार मुद्दा दायर गरिएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीका अध्यक्ष कर्णसहित उपाध्यक्ष सनातम मण्डल, सचिव उत्तम ढुंगेल, सञ्चालक प्रभाकर थापासहित १०९ जनालाई प्रतिवादी बनाएर ‘सहकारीको रकम हिनामिना शीर्षक’मा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएका मध्ये २१ जना सहकारीका सञ्चालक र पूर्वसञ्चालकहरु हुन् । अन्य खराब ऋणीहरु हुन् । सहकारीको रकम नतिर्ने ऋणिलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

मुद्दा दायर गरिएकामध्ये अध्यक्ष कर्ण मात्रै पक्राउ परेका थिए । अन्य सञ्चालक र ऋणीलाई फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरिएको थियो । फरारका हकमा अदालतबाट पक्राउ पुर्जी जारी हुने अदालतका सूचना अधिकारी बुढाथोकीले बताए ।

प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले छानबिन गर्दा उक्त सहकारीको ९ करोड २५ लाख रुपैयाँ हिनामिना गरेको देखिएको थियो । तर, प्रहरीको अनुसन्धानबाट भने ७ करोड ८४ लाख २६ हजार ३ सय ३५ रुपैयाँ मात्रै हिनामिना भएको अभियोग पत्रमा उल्लेखछ ।

सहकारीले बचत फिर्ता नगरेपछि १ सय ३ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए । ती बचतकर्ताले २ करोड ४२ लाख ६ हजार ७ सय ५१ रुपैयाँ बचत फिर्ताको माग गरेका छन् ।

सहकारी संस्थाबाट १ सय ८३ जनाले ६ करोड ३४ लाख ७६ हजार २ सय २६ रुपैयाँ ऋण लिएको देखिन्छ । धितो नराखी प्रवाह भएको अधिकांश ऋण जोखिममा परेको छ ।

सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्दा खराब ऋणीलाई प्रतिवादी बनाएको सम्भवत पहिलो घटना हो । सहकारीका सञ्चालकसहित ऋणीलाई पनि मुद्दामा प्रतिवादी बनाइएको वकिल कार्यालयले जानकारी दिएको छ । आर्थिक संकटमा परेपछि २ वर्षयता सहकारीको कार्यालय बन्द छ । सहकारी बन्द भएपछि बचतकर्ता आफ्नो पैसा फिर्ताका लागि भौतारिरहेका छन् । सहकारीले मनोमानी रुपमा लगानी गरेको, धितो बिना गरेको लगानी जोखिममा रहेको, सञ्चालक र पदाधिकारीले मनखुसी पैसा चलाएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।

 

शुक्रबार, ०२ कार्तिक, २०८१, साँझको ०५:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर