मेची राजमार्गको राजदुवाली खण्ड मर्मतको काम स्थगित : वैकल्पिक मार्गको खोजी हुँदै

इलाम । मेची राजमार्गको माइखोला नजिकको राजदुवाली खण्डमा क्षतिग्रस्त सडक मर्मतको काम रोकिएको छ ।

पहिरोले बगाएपछि मर्मत गरिँदै गरेको राजमार्गमा अझै माथिपट्टि धाँजा फाटेर जोखिम बढेपछि शनिबार साँझदेखि सडक मर्मतको काम रोकिएको हो ।

सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जोखिमको अवस्था हेरेर मात्र मर्मत थालिने जानकारी दिए । ‘तत्काल मर्मतलाई निरन्तरता दिनेभन्दा पनि अवस्था हेरेरमात्र अघि बढ्नेछौं,’ उनले भने, ‘जति काम गर्दैगयो, उति माथिपट्टि धाँजा फाटेर जोखिम बढेकाले काम गर्नै समस्या भएको छ ।’

तत्काललाई वैकल्पिक सडक नै खोज्नु उत्तम उपाय भएकाले सिमलगोलाई–जोगमाई–तिल्केनी सडक निरीक्षण भइरहेको भट्टराइले जानकारी दिएका छन् । तत्काललाई चाँडो गाडी चल्ने सडक बनाउनतिर लागेको उनले बताए ।

सडक डिभिजन सडक कार्यालयका इन्जिनियर विपिन ढुंगानाका अनुसार डिभिजनले सो क्षेत्रको मर्मत गर्ने प्रयास जारी राखेको भएपनि तत्काल काम सम्पन्न हुने अवस्था देखिएको छैन । मेची राजमार्गबाट भएपनि वैकल्पिकबाट भएपनि सकेसम्म चाँडै सवारी चलाउन प्रयत्न गरिरहेको उनले बताए ।

मेची राजमार्गको इलाम राजदुवालीमाथिको खण्ड पूर्ण रूपमा क्षति भएपछि सवारी साधन तीन दिनयता ठप्प छन् । आइतबार काम सक्ने लक्ष्सहित मर्मत सुरु गरिएकोमा मर्मत गरेभन्दा माथिल्लोपट्टिबाट झनै ठूलो पहिरो आउने सम्भावना बढेपछि काम स्थगित गरिएको हो ।

करिब ३० मिटर राजमार्गमा पहिरो गएपछि मेचीको ‘लाइफ लाइन’ टुटेको छ । योसँगै झापासँग इलाम, पाँचथर र ताप्लेजुङको यातायात सम्पर्क छिनेको छ । वैकल्पिक मार्गमा जसोतसो साना सवारी गुडेपछि मालबाहक सवारी साधन चल्ने अवस्था छैन ।

आइतबार, २० असोज, २०८१, बिहानको ११:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर