विराटनगर । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार करिब ११५ अंक बढेर बन्द भएको नेप्से बुधबार भने घटेर बन्द भएको हो ।
यस दिन नेप्से परिसूचक २६.०७ अंक घटेर २५९७.४९ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ४.१० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३९ अंक घटेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ६१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यसदिन ३१० स्टकको ८३ हजार ८१ पटकको कारोबारमा ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।नेप्से घटेपनि यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ८० रुपैयाँ ३० पैसा बढेर ८८३ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने इष्टर्न हाइड्रोपावरको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ ।
यस दिन विन नेपाल लघुवित्तको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो लघुवित्तको शेयरमूल्य यस दिन ३५० रुपैयाँ घटेर ३ हजार १५० रुपैयाँमा अन्तिम कारोबार भएको हो ।
कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको यस दिन २० करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको १७ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने गुडविल फाइनान्सको करिब १६ करोडको शेयर किनबेच भएको छ ।
बजारका १३ उपसमूहमध्ये यस दिन वित्त उपसमूहबाहेक सबै उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूहको परिसूचक १.७५ प्रतिशत बढेको छ । यस्तै विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरै घटेको छ ।